Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्वस्थानी व्रत सुरु, कोरोनाका कारण शालीनदी मेलामा बिशेष कडाई

स्वस्थानी व्रत सुरु, कोरोनाका कारण शालीनदी मेलामा बिशेष कडाई


काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको विशेष पूजा श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा प्रारम्भ भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर श्रीस्वस्थानप् व्रत शुरुआत हुन्छ ।

बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्पराले यो व्रतमा निरन्तरता पाउँदै आएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन हिन्दुहरुले घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गर्दछन् । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मात्रै पनि मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

बिहिबारबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको आधारमा साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्नेगरेको छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वासले प्रत्येक वर्ष लाखौँ भक्तजन शालीनदीमा पुग्नेगरेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि कठोर नियम बनाइएको छ । व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले अघिल्ला वर्षमा चार सयभन्दा बढी व्रतालु सहभागी हुने सो मेलामा यस वर्ष बढीमा १५ जना पुरुष र ३५ जना महिलालाई मात्रै शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको जानकारी दिनुभयो ।

व्रतालुहरु २० देखि ५० वर्षसम्म उमेर समूहको हुनुपर्ने उमेरहद नै तोकिएको छ । साथमा पीसीआर वा एन्टिजिन टेस्ट गर्नुपर्ने, निमोनिया छ कि छैन भनेर एक्सरे गरेको रिपोर्ट देखाउनुपर्ने, क्रोनिक फ्लुहरू, मुटुरोग, फोक्सोमा समस्या भएका जस्ता व्यक्तिलाई व्रत बस्न नदिइने लगायत मापदण्ड लागू गरिएका छन् । यसअघि नियमित शालीनदीमा नुहाउन आउने व्रतालुहरू साँखु क्षेत्रका जुनसुकै घरमा बस्न पाउने गरेकोमा अहिले समितिले नै सबै व्रतालुलाई बस्ने व्यवस्था मिलाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ