Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब यी विदेशी पर्यटकले सहज रुपमा नेपाल घुम्न पाउने

अब यी विदेशी पर्यटकले सहज रुपमा नेपाल घुम्न पाउने


काठमाडौं । कोभिड–१९ महामारीबाट सबै भन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले रणनीतिक महत्वका अल्पकालीन र दीर्घकालीन योजनासहितका कार्यक्रम अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुनरुत्थानसाथै उत्साहवद्र्धक गतिविधि सञ्चालनका लागि सरोकारवालासँगको समन्वयमा प्रवावकारी योजना कार्यक्रम ल्याइने बताउनुभएको हो ।

महामारीबाट थलिएको पर्यटन प्रवद्र्धनका कार्यक्रम कसरी अघि बढाउने विषयमा मन्त्री ढकालले सरोकारवाला व्यवसायी र पर्यटन विटका पत्रकारसँगको छलफल र सुझाव लिँने क्रमलाई तिब्रता दिनुभएको छ । शुक्रबार मात्रैपनि पर्यटन मन्त्रालयमा पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा अन्तरक्रिया भयो । अन्तरक्रियाका क्रममा पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विभिन्न स्थानलाई तत्कालीन र नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने कार्यलाई यथाशीघ्र अघि बढाइने बताउनुभएको छ ।

पर्यटन क्षेत्रको प्रभावकारी प्रवद्र्धन तथा यसका गतिविधिलाई अघि बढाउन मन्त्रालयले पञ्जवर्षीय योजना तथा आवधिक रुपमा सरकारको नीति तथा कार्यक्रममा परेका विषयलाई सम्बोधन गरिनुका साथै १० वर्षे योजनामासमेत पर्यटनका विषयलाई समेटिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । गुणात्मक पर्यटक भित्र्याउन, दिगो वन रणनीतिका कार्यक्रम अघि बढाउन मन्त्रालय लागि परेको जानकारी दिदै मन्त्री ढकालले भन्नुभयो, “म ठूलो महत्वकांक्षी आयोजना ल्याउने पक्षमा छैन, जति गर्न सकिन्छ राम्रो गरेर जाने हो, मन्त्री बद्लिए पनि नीतिमा निरन्तरता छ, यसअघिका मन्त्री पनि मेरा सहकर्मी भएकाले कतिपय रणनीतिक महत्वका काम समन्वयकासाथ निरन्तरता दिने पक्षमा छु ।”

अनअराइभल भिसाको व्यवस्था
पर्यटनमन्त्री ढकालले विदेशी पर्यटकको नेपाल आवागमनलाई सहज तुल्याउन मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी अनअराइभल भिसाको व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभएको छ । कोभिड विरुद्धको खोप लगाएर आएको विदेशी नागरिक निर्वाध रुपले नेपाल घुम्न पाउनुपर्छ भन्ने मन्त्रालयको धारणा रहेको र सोही अनुरुप माथिल्ला निकायमा पत्राचार गरिएको उहाँको दाबी थियो । पर्यटक आवागमनलाई सहज तुल्याउन मन्त्रालयका गम्भिर बनेको मन्त्री ढकालले बताउनुभयो । मन्त्री ढकालले हिजो आफू स्वास्थ्य तथा जनस्ख्यामन्त्री हुँदा २५ जनाभन्दा बढी जम्मा नहुनेगरि स्वास्थ्य प्रोटोकल बनाएको भएपनि आज सत्तारुढ तथा सत्ता बाहिरका राजनीतिक दलले ५०औँ हजार मानिस जम्मा गरेर दैनिकजसो सभा सम्मेलन गरिरहेकाले हिजोको मापदण्ड परिवर्तन गरेर जानुपर्ने बताउनुभयो ।

पिसीआर जाँचको रिपोर्ट नेगेटिभ भएकाले क्वारेन्टिन बस्नु नपर्ने
७२ घण्टे पिसीआर रिपोर्टकासाथ होटल क्वारेन्टिन बस्नुपर्ने झण्झटले विदेशी पर्यटक आवागमनमा असहज भएको भन्दै व्यवसायीले व्यापक गुनासो गरेसँगै पर्यटन मन्त्रालयले उक्त मापदण्ड खुकुलो बनाउने तयारी थालेको छ । पर्यटनमन्त्री ढकालले पिसीआर नेगेटिभ रिपोर्टले निर्वाध रुपमा घुम्न पाउने र खोपलगाएर आएको विदेशीले सहज रुपमा नेपाल भ्रमण गर्नसक्ने व्यवस्थासहित मन्त्रालयले निर्णय गरी कोभिड– १९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई पत्राचार गरिसकेको र र छिट्टै मन्त्रिपरिषदबाट निर्णय लिएर सहजिकरण गरिने जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ