Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बर्डफ्लूः कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध, उच्च सतर्कता अपनाउन अपिल

नेपालमा बर्डफ्लूः कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध, उच्च सतर्कता अपनाउन अपिल


काठमाडौं । बर्डफ्लूको संक्रमण पुष्टि भएसँगै सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाएर आयातमा प्रतिबन्ध लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको हो ।

रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिएको छ । मन्त्रालयका अनुसार १८६५ वटा हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको गरिएको छ । रोग देखापरेको क्षेत्रलाई निसंक्रमण तुल्याइएको मन्त्रालयले जनाएको छ । रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरेको छ ।

यस्तो छ, चिकित्सकको सुझाव
चिकित्सकहरूले बर्डफ्लूबाट विगतमा मानिसको मृत्युसमेत भएको स्मरण गराउँदै भरसक मासु तथा मासुजन्य खाने कुरा नखान, खाए पनि राम्ररी पकाएर खान सुझाव दिएका छन् । सन् २०१९ मा बर्ड फ्लु भाइरसकै कारण नेपालमा २१ वर्षीय युवकको मृत्यु भएको थियो । सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्ड फ्लुको जोखिमबाट जोगिन उच्च साबधानी अपनाउन आग्रह गर्नुभएको छ ।

भारतमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतको एचफाइबएनएइट स्ट्रेन बर्ड फ्लू पत्ता लागेसँगै नेपालमा पनि बर्डफ्लू देखापरेको हो । चिकित्सकहरूका अनुसार नेपालमा यही स्ट्रेनको भाइरस पहिलो पटक सन् २०१७ मार्च महिनामा देखिएको थियो । विश्व स्वास्थ संगठनका अनुसार मानिसलाई संक्रमण सर्दा बर्ड फ्लुबाट हुने मृत्युदर ६० प्रतिशतसम्म रहेको छ ।

संक्रमणको लक्षण
बर्ड फ्लु भाइरसले संक्रमण मानिसमा सरेमा उच्च ज्वरो, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने जस्ता मुख्य लक्षणहरु देखिने सरुवा रोक्ष् विशेषज्ञ डा.पुनले बताउनुभयो । पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्ने जस्ता थप अरू लक्षणहरु पनि देखिन सक्ने र अन्त्यमा श्वासप्रश्वासमा अवरोध तथा निमोनिया समेत हुनसक्ने भएकाले शंका लाग्नासाथ परीक्षण गर्न चिकित्सकको सुझाव छ । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण हुने बर्ड फ्लुको परीक्षण पनि पीसीआर प्रयोगशालाबाटै गरिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ