Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआफ्नालाई रिझाउन नसक्ने प्रधानमन्त्री ओलीको पूर्वमाओवादी मोह !

आफ्नालाई रिझाउन नसक्ने प्रधानमन्त्री ओलीको पूर्वमाओवादी मोह !


काठमाडौं । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर आम चुनावमा जाने घोषणा गरेसँगै सत्तारुढ दल नेकपा दुई चिरा भएको छ । एउटा धारको नेतृत्व प्रधानमन्त्री ओली स्वयमले गरेर पार्टी गतिबिधि जारी राख्दा अर्को धारको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरेका छन् । यतिबेला दुबै गुटले आफू आधिकारिक नेकपा भएको भन्दै समानान्तर बैठक तथा भेलालाई तिब्रता दिइरहेका छन् ।

प्रचण्ड नेपाल समूहले आफूहरुसँग संसदिय दल र केन्द्रिय कमिटिमा समेत बहुमत रहेको दाबी प्रस्तुत गर्दैगर्दा प्रधानमन्त्री ओलीले भने अचम्म अचम्मका गतिबिधि गरिरहेका छन् । नेकपा विभाजनपछि प्रधानमन्त्री ओलीले सुरुमा प्रचण्ड र माधव नेपाल दुवैको नजिकका नेताहरूलाई आफूतिर तान्ने रणनीति बनाए । नेपाल समूहका नेतालाई तान्न नसकेपछि ओलीले प्रचण्ड समूहका नेतालाई फकाउन ‘मन्त्री’ पदको अस्त्र फ्याके । अवसर नपाएका र आर्थिकरूरुपमा समस्यामा परेका नेता ओलीको नजरमा परे । प्रचण्डका विश्वासिला पात्र प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत नेतालाई एक–एक गरेर बालुवाटार बोलाउँदै ‘मन्त्री’ अफर मात्रै गरेनन , प्रचण्ड–माधव समूहका नेतालाई तरंगित पार्नकै लागि ओलीले पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु साह, दावा लामालाई आफ्नो क्याबिनेटमा समेटे । सांसद नै नभए पनि मणि थापा र दावा लामाले पनि मन्त्री बन्ने अवसर पाए ।

तर पुस २५ मा आफ्नो पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘महान जनयुद्ध फर्सी झैं कुहिएको’ टिप्पणी गरे । ‘महान जनयुद्ध के भो? फर्सीजस्तै कुहियो,’ ओलीले यति भन्नासाथ तालीको गडगडाहटले हल गुञ्जायमान बन्दा माओवादी जनयुद्धका कमान्डरहरू मञ्चमै आसिन थिए । उनीहरू घोसेमुन्टो लगाएर ओलीको कुरा सुनिरहे । तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे ‘जनयुद्ध’ लाई ‘कुहिएको फर्सी’ को संज्ञा दिएपछि पूर्वमाओवादीहरूको बेचैनी बढ्यो । ओलीको अभिव्यक्तिबाट उनीसँगै रहेका पूर्वमाओवादी नेताहरू चिढिए । आफूहरूले रगत र पसिना बगाएको ‘जनयुद्ध’ लाई ओलीले उपहास गर्न थालेपछि नेताहरूले उकुसमुकुस पोख्न थालेका छन् । प्रचण्डले जनयुद्धलाई कुहिएको फर्सी भन्दै अभिव्यक्ति दिने ओलीसँग सामेल भएका नेताहरू देख्दा आफूलाई लाज लागेको बताउन थालेका छन् ।

अर्कोतर्फ पार्टी एकताका क्रममा तात्कालिन माओवादी जनयुद्धलाई स्विकार गरेर दस्तावेजमा राख्न तयार नदेखिएका उनै ओलीले केही दिन अघि प्रचण्डलाई कमजोर पार्ने उद्देश्यसहित माओवादी पूर्वलडाकुहरूलाई बालुवाटार बोलाए । पूर्वलडाकुहरूको नेतृत्व गरेर लीलबहादुर थापा र लेनिन विष्ट वालुवाटार पुगेर ओली समूहमा प्रवेश गरे । थापा माओवादी शान्ति प्रक्रियामा आएपछि ‘मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालमा बाट २०६५ पछि मात्रै माओवादीमा प्रवेश गरेको प्रधानमन्त्रीका सल्लाहकार तथा उनको पछि लागेका पूर्वमाओवादी नेता कसैले सम्झाएनन । पूर्वएमालेसँग एकता गरेपछि भूमिकाविहीन भएका थापा राजनीतिक नियुक्तिको दौडमा नेताहरूको घरदैलो धाउँदा समेत कसैले वास्ता गरेन । नेकपा विभाजन भएपछि प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकमा सहभागी थापालाई बालुवाटारले आफ्नो पक्षमा ल्याउदा ठूलै क्रान्ति गरेजस्तो प्रचार भयो ।

पूर्वजनमुक्ति सेनाको नेतृत्व गरेर माघ १० मध्याह्नतिर बालुवाटार छिरेका थापा र विष्टबाहेक अन्य लडाकु भने जनयुद्धका बेला प्रचण्डसँग आन्दोलनमा सँगै होमिएकाहरु नै बढी थए । यसअघि ‘जनयुद्ध’ नाम सुन्नै नचाहने ओलीले पूर्वलडाकुसँग भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ, नेतृत्वले तपाईंहरूका भावना दुरुपयोग गर्यो ।’ काठमाडौंमा आयोजित सभामा प्रचण्डले ओलीमाथि आलोचना गर्दै जनयुद्धका घाइते र अपाङ्गहरूप्रति ओली सरकारले बेवास्ता गरेको आरोप लगाएपछि काउन्टरमा ओलीले शनिबार बालुवाटारमा पूर्वलडाकूहरूसँग भेट गरेका थिए ।

‘सबैभन्दा नजिक भएर प्रचण्डलाई ज्यान दिन हिँड्नुभएको तपाईंहरू हैन? तपाईंहरूले नै प्रचण्डलाई पत्याउनुभएन भने अरू कसले पत्याउँछ? तपाईंहरू त ज्यान दिन हिँड्नुभएको हो नि त,’ ओलीले पूर्वलडाकुहरूलाई फकाउन अनेक गफ चुटे । नेकपा विभाजनपछि सरकारले घाइते, अपांगता भएका, पूर्वलडाकु, सहिद र बेपत्ताका परिवारलाई प्याकेजमै राहत दिने गरी कार्ययोजना बनाउन थालेको भन्दै प्रधानमन्त्रीले थप ढाडस दिए । प्रचण्डमाथी बदला लिनक लागि पूर्वलडाकु कमान्डर कालिबहादुर खामलाई समेत ओलीले सम्झिए ।

अचम्मको कुरा त २०६६ माघ २५ मा अयोग्य घोषित अनि २०६९ असोज ७ मा सेना समायोजनपछि पूर्वलडाकुहरू कहाँ थिए भन्ने कसैलाई चसो थिएन । सेना समायोजन हुँदा पूर्वमाओवादीका १५ हजार ६ सय ३० लडाकुले वहिर्गमन रोजेका थिए भने सशस्त्र द्वन्द्वमा झन्डै ६ हजार घाइते भएका थिए । सशस्त्र द्वन्द्वका बेला घाइते भएर पनि राज्यको उचित हेरचाह नपाएको भन्दै उनीहरू बेलाबेला आन्दोलित हुँदा समेत कसैले सुनेन ।

अर्कोतर्फ अर्धभूमिगत राजनीतिक गतिबिधि गर्दै आएको नेकपा अर्थात नेत्रविक्रम चन्द विप्लबलाई प्रतिबन्ध लगाउने र खोजीको सूचिमा राखेर विप्लब समूहका नेताहरुमाथी धरपकड गराउने प्रधानमन्त्री ओली नै हुन भन्ने तथ्य आफै उदांगिएको छ । यतिबेला, उनै प्रधानमन्त्री ओली वार्ता गरेर बिप्लब समूहलाई आफ्नो साथमा ल्याए लागि परेका छन् । पानी तथा सरसफाइको समस्याबारे गुनासो आएको भन्दै खानेपानी मन्त्री मणिचन्द्र थापा मंगलबार बिहानै ललितपुरको नख्खु कारागार पुगे । जेलर मोहन अधिकारी लगायतलाई भेटेर ब्रिफिङ लिएका उनी कारागार व्यवस्थापन कस्तो छ भन्दै सोध्न भन्दै कैदीबन्दीहरु भएको ठाउँमा पुगेका थिए । सोही क्रममा जेलमा रहेका विप्लव समूहका नेता हेमन्त प्रकाश वली ‘सुदर्शन’सँग मन्त्री थापाले लामै कुराकानी गरे । सुदर्शन, विप्लव समूहका तिनै नेता हुन्, जो काभ्रेबाट पक्राउ पर्नुअघि समूहको मध्यकमाण्ड इञ्चार्ज थिए । वार्ता पक्षधर नेताका रुपमा परिचित छन् । प्रधानमन्त्रीकै योजनामा खानेपानीमन्त्री थापा नख्खु कारगार पुगेको प्रष्ट छ । मन्त्री थापाले नै कारागारमा भएको भेटका क्रममा वार्ताबारे कुराकानी भएको पुष्टि गरेका छन् । जवाफमा विप्लव समूहका नेता सुदर्शनले आफ्नो पार्टी वार्ता विरोधी नभएको भन्दै वार्ताका लागि वातावरण चाहिँ सरकारले बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीका भाषणवाजी र आफ्नै स्विकारोक्तिले पनि पार्टीका हरेक कमिटि र संसदिय दलमा अल्पमतमा परेको प्रष्ट छ । थप पछिल्ला गतिबिधिले त झनै प्रधानमन्त्री ओलीले एक्लै गरेका निर्णय र फैशला पार्टीमा स्विकार्य नहुँदा यसको प्रतिसोध संसदमाथी लादिएको स्पष्ट भएको छ । खल्तीबाट साविक केन्द्रिय सदस्यभन्दा बढीलाई केन्द्रिय सदस्यको नियुक्ति, आफ्नो पक्षमा पार्न सरसल्लाह बिनै मन्त्री नियुक्ति, जनयुद्धको नामै सुन्न नचाहाने र विप्लबको नामै सुन्दा अराजनीतिक भन्नेले उनीहरुप्रति देखाउन थालेको स्वार्थगत सदासयताले प्रधानमन्त्री ओलीलाई नै कमजोर बनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ