Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनायिका श्वेता खड्का विवादमा, चर्चा कमाउन खोज्दा चौतर्फी आलोचना

नायिका श्वेता खड्का विवादमा, चर्चा कमाउन खोज्दा चौतर्फी आलोचना


काठमाडौं । नायिका श्वेता खड्का विवादमा तानिएकी छन् । दर्शक र नागरिकको सद्भाव र सहानुभूति पाएकी नायिका श्वेता खड्काले हालै सिन्धुपाल्चोकको माझी बस्ती निर्माणलाई धुर्मुस सुन्तलीको अभियानसँग जोडेको र एक क्लवमा भएको झगडामा उनको उपस्थिति देखिएपछि विवादमा तानिएकी हुन् ।

लामो समयदेखि निर्माण सुरु गरिएको माझी बस्ती अझै पुर्ण रुपमा सम्पन्न भएको छैन् । २०७३ सालमा माझी बस्ती निर्माण गर्ने घोषणा गर्दै नायिका श्वेताले ‘शुभकार्य श्रीगणेशको नामबाट गरिन्छ, श्रीकृष्ण श्रेष्ठको नाममा समर्पित गर्ने घोषणा गरेकी थिइन । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारका ५३ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा उनको थियो । तर, घोषणा भएको पाँच वर्ष पुग्न लाग्दा पनि सम्पन्न गर्न नसकेपछि उनी विवादमा परेकी छन् । भूकम्प पीडितले पाउने राहत रकमसमेत लिएर सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ स्थित इन्द्रावती नदी किनाराका ५३ माझी परिवारका लागि एकीकृत माझी बस्ती बनाउन पुगेकी थिइन । घोषणा गरेको केही महिनापछि अर्थात् २०७४ जेठ १५ गते शिलान्यास गरेको माझी बस्ती अझै निर्माण सकिएको छैन् । विभिन्न संघ संस्था, व्यक्तिहरुले सहयोग गरेको सो बस्ती निर्माण सम्पन्न नहुँदा माझीहरुको चिटिक्क परेको घर पाउने आश निराशमा बदलिँदै जान थालेको छ ।

श्वेताश्री फाउण्डेसनको अगुवाइमा माझी बस्ती बनाइएको भनिदै गर्दा स्थानीय भने ऋणको भार थेक्न नसकेको बताइरहेका छन् । बस्ती निर्माणमा धौ धौ भएपछि नायिका खड्काले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोष्ट गरिन । धुर्मुस सुन्तली फाउन्डेशन अर्थात कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले काभ्रे, सिन्धुपाल्चोक, महोत्तरी र रौतहटमा एकीकृत बस्ती निर्माण सम्पन्न गरेर हस्तान्तरणपछि अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणमा खटिएका छन् । उनीहरुले हालै रंगशाला निर्माणमा सहयोग गर्न अपील गरेका थिए । सोही अपीलसम्बन्धी समाचारको स्क्रिनसटसहित नायिका श्वेताले पनि माझी बस्ती निर्माणमा सहयोग गर्न सबैमा अनुरोध गरेकी थिइन् । उनले आफै बताएकी थिइन निर्माणाधीन माझी बस्ती ऋणमा छ । धुर्मुस सुन्तलीले निर्माण गरिरहेको रंगशालाको जस्तै अवस्था माझी बस्तीको भएको भन्दै खड्काले ‘धुर्मुस सुन्तली फाउण्डेशन’को झैँ हाम्रो पिडा पनि उही हो । भन्ने स्टाटस पोष्ट गरेपछि उनका बिरुद्धमा सामाजिक सञ्जालमै आक्रोश पोखेको देखिन्छ । श्वेताको स्टाटसमा प्रतिक्रिया जनाउँदै फेसबुक प्रयोगकर्ताले करोडौँ खर्च गरेर बिहे गर्नुभन्दा सामान्य तरिकाबाट बिहे गरेर माझी बस्तीको ऋण तिरेको भए राम्रो हुने सुझाव दिएका छन् ।

त्यसो त एक साताअघि माझी बस्ती निर्माणका लागि अपिल गरेकी खड्काले दरबारमार्गस्थित एक क्लवमा पुग्दा उनकी बहिनी आरती खड्का, उत्सव रसाइली र सुस्मा कार्कीबीच झगडा भएको भन्दै प्रहरीमा उजुरी परेपछि झन् उनी विवादमा तानिइन । सोमबार राति दरबारमार्गको लण्डनपप क्याफेमा श्वेताकै अगाडि आरती, उत्सव र सुष्माबीच भनाभन र हात हालाहाल भएको हो । नायिका सुस्माले आरती र उत्सवविरुद्ध गाली गलौज र कुटपिट गरेको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी थिइन । २०७२ साल वैशाखको भूकम्पले सबैभन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोकमा दाताहरूको लर्को नै लाग्यो । दाताहरूको लर्को मात्रै लागेन, सहयोग जुटाएर बस्ती नै निर्माण गरिदिने अभियानमा होमिएकी खड्का अहिले भने निरासा देखाइरहेकी छन् ।

अर्कोतर्फ अहिलेसम्म उनले खोलेको संस्थामा दाताहरूबाट कति सहयोग आयो भन्ने सार्वजनिक भएको छैन । काम पनि सम्पन्न भएको छैन । काम सम्पन्न नहुँदै श्वेतामाथि रकम हिनामिना गरेको आरोप समेत लागेको छ । साँगाचोकगढी नगरपालिकाले नै बस्ती निर्माणमा भएको खर्च पारदर्शी नभएको बताएको छ । अहिले बस्ती निर्माण नहुँदै माझी बस्तीका स्थानीयले पनि श्वेताले आफूहरूलाई चार लाख रुपैयाँ ऋण बोकाएको गुनासो गर्न थालेका छन् । जसले माझी बस्ती निर्माण नै संकटमा पर्ने त होइन भन्ने प्रश्न उब्जिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ