Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रजातन्त्र दिवस : तीन दिनसम्म दिपावली मनाउन सरकारको आग्रह

प्रजातन्त्र दिवस : तीन दिनसम्म दिपावली मनाउन सरकारको आग्रह


काठमाडौं । यो वर्षको प्रजातन्त्र दिवस बुधबारबाटै विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको हो ।

दिवसका अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ कार्यक्रम गरिने जनाइएको छ । गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । सो समिति बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो । समितिले अनुमोदन गरेअनुसार आजैदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुन थालेका छन् । फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना, यसैको जगमा विसं २०६३ वैशाख ११ गते लोकतन्त्रको प्राप्ती र यसको पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो ।

दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी अहिले कार्यान्वयनको चरणमा छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउदै आइएको छ । दिवसका अवसरमा सरकारी एवं गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन् । प्रजातन्त्र दिवसलाई भब्य बनाउन भन्दै आजदेखी तीन दिनसम्म दीपावली गर्न सबै नागरिकलाई आह्वान गरेको छ । प्रजातन्त्र दिवसका अवसरमा गरिने कार्यक्रमको प्रचारप्रसार गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा गठित उपसमितिले समेत प्रजातन्त्र दिवसलाई भब्य बनाउनेगरि विभिन्न काम गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ