Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा विदेशी वस्तुको आयात बढ्दै, माघ महिनामै भित्रियो एक खर्ब ४२ अर्ब बढीको सरसामान

नेपालमा विदेशी वस्तुको आयात बढ्दै, माघ महिनामै भित्रियो एक खर्ब ४२ अर्ब बढीको सरसामान


काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि हुन थालेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको हो । विभागका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो सात महिनामा आठ खर्ब बढीको आयात भएको छ ।

साउनदेखि माघ मसान्तसम्मको भन्सारको ) तथ्याङ्कअनुसार आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको पाइएको छ । गत वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव शून्य एक प्रतिशतले आयातमा बृद्धी भएको छ । गत आवको सोही अवधिमा आठ खर्ब तीन अर्ब बढीको आयात भएको थियो । सात महिनाको अवधिमा ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा ७.६१ प्रतिशतले निर्यात वृद्धि भएको पाइएको छ । गत आवको साउनदेखि माघ मसान्तसम्म ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।

तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार देखिएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको देखिन्त । विभागको तथ्याङ्कअनुसार सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले सात खर्ब ३३ अर्ब ७२ करोड घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले गिरावट भएको हो । गत माघमा मात्रै गत आव भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा मात्रै एक खर्ब आठ अर्ब ९० करोडको आयात भएकोमा यो माघमा मात्रै एक खर्ब ४२ अर्ब ३९ करोडको आयात भएको छ ।

कुन महिना कति आयात ?
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब चार करोड र असोजमा एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तु आयात भएको छ । यस्तै, कात्तिकमा एक खर्ब १० अर्ब २२ करोड, मङ्सिरमा एक खर्ब २३ अर्ब एक करोड, पुसमा एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । हालसम्मकै धेरै माघ महिनामा एक खर्ब ४२ अर्ब ३९ करोड बराबरको विदेशी वस्तु आयात भएको थियो । सात महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । सात महिनामा ३९ अर्ब ७० करोड बढीको डिजेल आयात भएको छ । पुसमा ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको छ ।

आन्तरिक राजश्व विभागका प्रमुख फेरिए
माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा सरुवा भएपछि रिक्त रहेको आन्तरिक राजश्व विभागका महानिर्देशकका रुपमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहनुभएका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ