Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसम्भावित झडप रोक्न नेपालमा उच्च सुरक्षा सतर्कता

सम्भावित झडप रोक्न नेपालमा उच्च सुरक्षा सतर्कता


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने आदेश दिएसँगै देशभर सुरक्षा सतर्कता बढाइएको छ । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा देशभरको सुरक्षा तैनाथी बढाइएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले सर्वोच्चको फैसला आउने संकेतका आधारमा ११ देखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । सोही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालले समेत उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाएर सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए । ‘भिड जम्मा हुनसक्ने र कुनै अप्रिय घटना नहोस् भनेर हाई अलर्टमा बसेका हौं’, प्रहरी अतिरिक्त महानिरीक्षक पालले भने ।

सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने रणनीति पहिले नै तयार पारेको थियो । संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने सुरक्षा अधिकारीहरूको विश्लेषणका आधारमा सोही अनुसार सुरक्षा सतर्कता अपनाइएको छ । सर्वोच्च अदालतले मंगलबार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको छ । सँगै अदालतले १३ दिनभित्र संसद अधिवेशन बोलाउन प्रधानमन्त्री, राष्ट्रपति र सभामुखका नाममा परमादेश समेत जारी गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ