Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविप्लव समूहमाथीको प्रतिबन्ध फुकुवा, नेता कार्यकर्ता छाड्न गृहको सर्कुलर

विप्लव समूहमाथीको प्रतिबन्ध फुकुवा, नेता कार्यकर्ता छाड्न गृहको सर्कुलर


काठमाडौं । नेकपा विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिलाई अनुमोदन गर्दै प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेअनुसार प्रतिबन्ध फुकुवा गरेर नेता कार्यकर्ता रिहाईको काम अघि बढेको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता छाड्न गृहको सर्कुलर
सरकार र विप्लव समूहबीचको ३ बुँदे सहमति अनुमोदन गरेर प्रतिबन्ध फुकुवा गरिएसँगै गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर आजैबाट छाड्न निर्देशन भएको र अन्यको हकमा सहजीकरण सुरु भएको बताउनुभयो । सहमति जुटेसँगै काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोला शुक्रबार रिहा हुने भएका छन् । चितवनका एसपी ओम अधिकारीले विप्लवका दाइ चन्द्रबहादुर चन्द वीरजंगलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन नवलपरासीबाट मुद्दाको विवरण मगाएको जानकारी दिए ।

प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ गरिएका छन् । यीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै रहेका छन् । गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण यथासक्य छिटो उपलब्ध गराउन ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ