Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री ओलीका महत्वपूर्ण दुई उपलब्धि, कसरी सम्भव भयो विप्लव र सरकारबीच सहमति ?

प्रधानमन्त्री ओलीका महत्वपूर्ण दुई उपलब्धि, कसरी सम्भव भयो विप्लव र सरकारबीच सहमति ?


काठमाडौं । चौतर्फी आलोचना सहनुपरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यक्रममा दुई वटा महत्वपूर्ण काम गरेका छन् । एउटा, तराईमा हिंसात्मक र विखण्डनकारी गतिबिधिमा संलग्न सिके राउत समूहलाई वार्ता मार्फत शान्तिपूर्ण रुपान्तर र अर्धभुमिगत गतिबिधि मार्फत हिंसा भड्काईरहेको नेत्र विप्लव चन्द ‘विप्लव’ समूहलाई वार्ता मार्फत शान्तिपूर्ण राजनीतिमा अवतरण ।

२०७५ फागुन २४ गते राउतसँग ११ बुँदे सहमति गरेको वर्तमान सरकारले बिहिबार मात्रै विप्लव नेतृत्वको नेकपासँग तीनबुँदे सहमति गरेको छ । भ्रष्टाचार बढेको, जनअपेक्षा अनुसारको काम गर्न नसकेको, बिचौलियाहरुको बिगबिगि यहि सरकारका पालामा बढेको र सरकारी जग्गा यती ग्रुप लगायतका ठूला व्यवसायिक घरानालाई कौडीको भाउमा भाडामा लगाएको आरोप प्रधानमन्त्री र उनको मन्त्रिमण्डलकै कारण सहनुपरेको कतिपयले बताइरहँदा यी दुई समूहको शान्तिपूर्ण अवतरणलाई भने राजनीतिक रुपमा ठूलै उपलब्धी मान्न सकिन्छ ।

कसरी सम्भव भयो वार्ता र सहमति ?
सरकार र ‘विप्लव’ समूहबीच विगत लामो समयदेखी अनौपचारिक संवाद भएको पाइन्छ । तर यी प्रयासहरु सफल हुन सकेका थिएनन् । २०७५ फागुन २८ मा चन्द नेतृत्वको नेकपामाथी सरकारले प्रतिबन्ध लगाउँदा समेत सुरक्षा निकायसँग छलफल र समन्वय नभएको पाइएको थियो । सत्तारुढ नेकपाभित्रै असहमति भएपनि पछि सब चुप बसे । यसपछि ‘विप्लव’ समूहका नेता कार्यकर्तामाथी सरकारले धरपटकलाई तिब्रता दियो । पछिल्लो समय धरपकटले तिब्रता पाउँदैगर्दा, प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा परे । पार्टीकै अन्तरकलह मिलाउन नसकेर प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीमाथी अदालतले संसद पुनस्थापना गरेपछि नैतिक दबाब परेपनि उनले सहजै पचाए ।

बरु गणतन्त्र बिरोधी, शान्ति प्रक्रिया पुरा गराउन नचाहाने, परिवर्तन बिरोधीको आरोप लागेको ओलीले तात्कालिन माओवादीका नेताहरुलाई आफ्नो पक्षमा पारेर सरकारमा सहभागि गराएपछि भने ‘विप्लव’ समूहसँगको वार्ताले तिब्रता पायो । आलोचना कम गर्न मात्रै नभएर प्रधानमन्त्री ओलीले पूर्व जनमुक्ति सेना र विप्लव समूहलाई आफ्नो पक्षमा पारेर अध्यक्ष प्रचण्डमाथी रणनीतिक दबाब दिन खोजेको विश्लेषकहरु बताउँछन् । यता, ‘विप्लव’ माथी समेत बढ्दो धरपकड र विभिन्न अभियोगमा नेता कार्यकर्ता पक्राउ पर्ने क्रमले तिबता पाउँदा शक्ति कमजोर बन्दै गरेको आँकलन हुनु स्वभाविक थियो । कुनै राजनीतिक मोडलाई शान्तिपूर्ण रुपान्तरका रुपमा सदुपयोग गर्ने सोचमा पुगेका नेत्र विक्रम चन्द अन्तत: परिस्कृत हुन तयार भए र सरकारसँगको वार्ताले सार्थक निकास पाएको छ ।

तीन बुँदे सहमतिसँगै यसरी सार्वजनिक भए विप्लब
बुधबार दुई चरणको वार्ता र बिहिबारको एक चरणको वार्ताबाट नै नेत्रविक्रम चन्द ‘विप्लव’ र सरकारबीच तीन बुँदे सहमति जुट्यो । पहिला हतियार विसाउन भनिएपनि सरकार बिनासर्त सहमतिका लागि तयार भएको थियो । चन्द नेतृत्वको नेकपा शान्तिपुर्ण बाटोबाट आफ्ना राजनीतिक गतिबिधि गर्न र हिंसाको बाटो त्याग्न सहमति भएसँगै सरकार नेकपा माथिको प्रतिबन्ध हटाउन र कार्यकर्ता नेतामाथी लगाईको मुद्धा फिर्ता लिएर पक्राउ परेकालाई रिहाई गर्न सहमत बनेर छाड्न थालिएपछि भुमिगत भएका विप्लब नवलपरासीमा सार्वजनिक भएका थिए । नवलपरासीबाट सिधै काठमाडौं आएका उनले बालुवाटार पुगेर प्रधानमन्त्रीसहित दुबैतर्फका वार्ता टोली सदस्यसहितका केही मन्त्रीसँग भेटघाट गरेपछि तीनबुँदे सहमतिमाथी हस्ताक्षर र संयुक्त सम्बोधनका लागि सभागृह पुगे, जहाँ लामो समय भुमिगत भएर सार्वजनिक भएका ‘विप्लव’हेर्नेहरुको भीड लागेको थियो ।

प्रधानमन्त्री र विप्लबले के भने ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गरेसँगै नेपालमा अब हिंसात्मक द्वन्द्वबाटो शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए । ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई प्रधानमन्त्री ओलीले धन्यवाद समेत दिए ।

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहमतिमा हस्ताक्षरपछि लामो भुमिगत गतिबिधिपछिको पहिलो सार्वजनिक कार्यक्रमबाट सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताए । उनले आशंका वा कुतर्क गर्न जरुरी नरहेको प्रतिक्रिया दिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ