Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमालेमा भाँडभैलो, चार नेताको स्पष्टीकरणमा अध्यक्ष ओलीमाथी नै प्रतिप्रश्न

एमालेमा भाँडभैलो, चार नेताको स्पष्टीकरणमा अध्यक्ष ओलीमाथी नै प्रतिप्रश्न


काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपि शर्मा ओलीको जोडबलमा महासचिव विष्णुप्रसाद पौडेल मार्फत नेकपा एमालेका नाममा सोधिएको स्पष्टीकरणको जवाफ नेपाल–खनाल पक्षका चारै जना नेताले फर्काएका छन् ।

पार्टी अनुशासनको उल्लघंन गरेको भन्दै चैत ७ मा बसेको नेकपा एमालेको अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यहि निर्णयमा टेकेर चैत ८ मा अध्यक्ष ओलीका तर्फबाट महासचिव पोखरेलले नेताहरु माधवकुमार नेपाल, भीम रावल, शुरेन्द्र पाण्डे र घनश्याम भुसालाई स्पष्टीरकणका लागि पत्र पठाएका थिए । ९ गते स्पष्टीकणको पत्र पाएका नेताहरु मध्ये निर्देशनको एक दिनपछि नै पाण्डेले जवाफ फर्काएपनि अरु नेताले एक दिन ढिलो गरेर बिहीबार स्पष्टीकरण बुझाए ।

यस्तो छ, स्पष्टिकरणको सार
चारै जना नेपाले व्यक्तिगत रुपमा जवाफ दिएपनि पत्रको सार भने एउटै छ । सबैले स्पष्टीकरणमा सोधिएको प्रश्नको जवाफ भन्दा पनि प्रतिप्रश्न अघि सारेका छन् । अध्यक्ष ओलीलाई सम्बोधन गरि बुझाएको पत्रमा थुप्रै प्रतिप्रश्न गरिएका छन् । ‘प्रतिप्रश्न पत्र’ का रुपमा बुझाइएको स्पष्टीकरणमा सबै नेताले अध्यक्ष ओलीमाथि गम्भीर आरोपहरु लगाएका छन् ।

ओलीमाथि नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने गलत मनसाय राखेको , फागुन २८ मा बैठक राखेर पार्टी विभाजनको थालनी गरेकोदेखी कमीकमजोरी सच्याउन गरिएको आग्रहलाई अस्वीकार गरेको, विधानको उल्लंघन गरेको र भ्रम सिर्जना गर्ने उद्देश्यबाट स्पष्टीकरण पत्र पठाइएको आरोप नेताहरुले लगाएका छन् । पार्टीका तर्फबाट सोधिएको स्पष्टीकरणमा नेकपा हुँदाको बखतका कुराहरु पनि उल्लेख गरिएकोमा त्यसको समेत जवाफ दिइएको छ । प्रचण्डलाई पालैपालो प्रधानमन्त्री हुने भनी गरिएको सम्झौता भंग गरेको, प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने निर्णयलाई लत्याएको र ‘प्रचण्डले बैठक बोलाए पार्टी फुट्छ’ भनेर किन धम्की दिएको भन्दै नेताहरुले ‘प्रतिप्रश्नमा भनेका छन् ।

यस्तै, ‘प्रचण्डको मतियार’ बनेको अरोपमाथी जवाफ दिदै नेताहरुले पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा सबभन्दा ठूलो ‘मतियार’ अध्यक्ष ओली भएको आरोप लगाइएको छ । विदेशी गुप्तचर संस्थाका प्रमुखलाई बालुवाटारमा भेटेको, पार्टीमा छलफल नगरी किन लकडाउन गरेको, दल विभाजनसम्बन्धी कानुन ल्याएको र कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई धम्कीपत्र पठाएको आरोप लगाउँदै अध्यक्ष ओलीसँग जवाफ माग गरेका छन् । प्रतिनिधि सभाको विघटन गरेको विषय, संसद् बोलाउन राष्ट्रपतिसमक्ष गरिएको समावेदनमा समस्या बल्झाएको, सांसदको हस्ताक्षरलाई फर्जी भनेको आरोप लगाउँदै यी विषयमा उल्टै अध्यक्ष ओलीमाथी जवाफ मागिएको छ ।

पार्टीलाई १४ बुँदै स्पष्टीकरण पठाएका उपाध्यक्ष रावलले त ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारवाही गरेको प्रसंगमा समेत आरोपित गरेका छन् । पार्टी एकीकरण पछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरुपयोग गर्न आफूलाई सहज तुल्याउने अभ्यास गरेको आरोप समेत रावले लगाएका छन् ।

बरिष्ठ नेता नेपालले त १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्ट पार्न माग गरेका छन् । पार्टीका विभिन्न गतिविधिहरु नेकपा एमाले को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुनेभई कार्वाई गरिनुपर्ने प्रकृतिका रहेको भन्दै उल्टै अध्यक्ष ओली र महासचिव पोखरेल कारबाहीको भागिदार भएको भनिएको छ ।

बरिष्ठ नेता नेपाल लगायतले पठाएको स्पष्टीकरणपत्र अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलको हातमा पुगेको मात्रै छैन दुबैले अध्ययन समेत गरिसकेका छन् । स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको र उल्टै प्रचण्डको मतियारका रुपमा आफ्नो पार्टी र अध्यक्षमाथि आक्षेप लगाइएको निष्कर्ष निकालेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले थप कारबाहीको संकेत गरेका छन् । दुबै पक्ष कुनै पनि गल्ती स्विकार्न र पश्चाताप, विगतको समिक्षासहित अघि बढ्न तयार देखिखा एमाले भित्रको लडाइँ विभाजनतर्फ जाने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ