Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपूर्वमन्त्री एवं कांग्रेस नेता नवीन्द्र राज जोशीको उपचारका क्रममा निधन

पूर्वमन्त्री एवं कांग्रेस नेता नवीन्द्र राज जोशीको उपचारका क्रममा निधन


काठमाडौं । पूर्वउद्योगमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा मष्तिष्कघात भई उपचाररत नेता जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।

घरमै मस्तिष्कघात भएका जोशीलाई फागुन १४ गते वीर अस्पताल लगिएको थियो । वीरले नर्भिकमा रेफर गरेपछि भोलिपल्ट नर्भिकमा भर्ना गरेर सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । ‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो’ नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद समेत हुन् ।

 वि.सं. २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् । गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग पराजित भएपनि पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री,२०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसकातर्फबाट काठमाडौं महानगरपालिकाको उप मेयरमा निर्वाचित भएका थिए । प्रचण्ड नेतृत्वको माओवादी–कांग्रेस गठबन्धन सरकारमा जोशी उद्योग मन्त्री बनेका थिए । स्वर्गीय जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुन्।

जाशीको निधनसँगै कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् । सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै पार्टीलाई अपुरणिय क्षती पुगेको उल्लेख गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ