Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंको प्रदूषण केही दिन कायमै रहने, स्वास्थ्य मन्त्रालयको यस्तो अपिल

काठमाडौंको प्रदूषण केही दिन कायमै रहने, स्वास्थ्य मन्त्रालयको यस्तो अपिल


काठमाडौं । विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरको सूचिमा परेको काठमाडौंको प्रदूषण अझै केही दिन रहने भएको छ । विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाडौंको एक्यूआई अहिले पनि ४२१ रहेको छ । शुक्रबार काठमाडौंमा एक्यूआई ४७० सम्म पुगेको थियो ।

आज केही कम भएको देखिए पनि यो सुधार हुन अझै केही दिन लाग्ने वातावरण विभागले जनाएको छ । हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु नै स्वास्थ्यका लागि घातक मानिन्छ । ३ सयभन्दा माथि पुग्नुलाई अति हानिकारक मानिन्छ । नेपालमा धेरैजसो जिल्लाहरुमा डढेलो लागिरहेको र तत्काल पानी पर्ने सम्भावनासमेत नरहेकाले अबको केही दिनसम्म वायुमण्डल सुधार हुने सम्भावना नरहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन् ।

काठमाडौं उपत्यकाको भक्तपुर, कीर्तिपुर, भैंसेपाटी, सिमरालगायतका ठाउँको एक्यूआई शुक्रबारदेखी तीन सय नाघेको छ । दक्षिणी छिमेकी मुलुक भारतबाट उडेर आएको धुलोका कारण समेत काठमाडौं उपत्यकाको वायु प्रदूषित भएको आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागकी मौसमविद शाक्यका अनुसार भारतको राजस्थान, हरियाणा, पञ्जाबस्थित थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकासहितका नेपालका शहरी क्षेत्रमा देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको अपिल
‘केही दिन मर्निङवाकमा नजाऔँ, फोहर नजलाऔँ’ भन्दै स्वास्थ्य मन्त्रालयले जोखिमबाट बच्न सबैलाई अपिल गरेको छ । अहिले काठमाडौंसँगै हेटौँडा, विराटनगर, जनकपुर, धनगढी लगायतका ठाउँमा पनि हावाको प्रदूषण अत्याधिक बढेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँको वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको भन्दै घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने जस्ता काम नगर्न अपिल गरेको छ । मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले फोहर नजलाउन पनि अनुरोध गरेको छ । यस्तै घरबाहिर ननिस्कन, निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र धुलो, धुँवा उड्ने पेसा, व्यवसाय केही दिनलाई रोक्न र अति आवश्यक नभइ गाडी नचलाउन आग्रह गरेको छ ।

किन सधै प्रदुषित बन्दैछन त काठमाडौंसहितका शहर
उपत्यकाको प्रदूषणमा गाडीको भूमिका ३० प्रतिशत, पूर्वाधार निर्माणको ५३ प्रतिशत र इँटाभट्टाको नौ प्रतिशत रहने गरेको पाइएको छ । बाँकी आठ प्रतिशत प्रदूषण उद्योग–कलकारखाना, फोहोर जलाउँदा, घरभित्रको धुवाँका कारण हुने गरेको वातावरण विभागले जनाएको छ । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले समेत प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले बाक्लो तुवालो लागेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको जानकारी गराएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ