Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविश्वकै प्रदूषित शहरमा बारम्बार किन पर्छ काठमाडौं ?

विश्वकै प्रदूषित शहरमा बारम्बार किन पर्छ काठमाडौं ?


काठमाडौं । केही समयअघि वायु प्रदुषणको विश्व रेकर्ड बनाएको काठमाडौं उपत्यकामा सोमबार दिनभरि राम्रोसँग घाम लागेन । तुवाँलोले वायुमण्डल ढपक्क ढाकिदा हवाई उडान समेत प्रभावित भए । धेरैले आँखा पिरो भएको, चिलाएको र नाक पोलेको अनुभव सोमबार पनि गरे ।

अघिल्लो साताको बुधबारदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय सरकारले गर्नुपरेको कारण नै वायु प्रदुषण थियो । बुधबार राति नै काठमाडौं उपत्यकासहित पहाडी भूभागमा पानी परेर प्रदूषण केही कम भएकोमा सोमबारबाट फेरी बढ्न थालेको छ । वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग तुँवालोसँगै उपत्यकामा वायु प्रदूषित भएको बताउनुहुन्छ । पोलुनस डट जीओभी डट एनपीका अनुसार सोमबार साँझ काठमाडौं उपत्यकाको भक्तपुरमा एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३३८, भैंसेपाटीको २९५, रत्नपार्कमा २६५ र कीर्तिपुरमा २२४ मापन गरिएको थियो । समयअनुसार केही तलमाथि भइरहेपनि जोखिमको तह कायमै रह्यो ।

काठमाडौंका सबै प्रदूषण जाँच केन्द्रमा प्रदूषणको तह धेरै अस्वथकर पाइएको छ । वतावरण विभागका अनुसार २०१ देखि ३०० एक्यूआई (धेरै अस्वथकर) वायुको सूचक हो भने ३०१ देखि ४०० लाई ‘खतरनाक’ मानिन्छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार सोमबार काठमाडौंको वायु प्रदूषण विश्वकै ठूला शहरमा सबभन्दा बढी देखिएको थियो । सोमबार राती १० बजे काठमाडौंको एक्यूआई ३५३ पुगेको छ ।

विश्वकै दोस्रो स्थानमा रहेको भारतको राजधानी दिल्लीको एक्यूआई २४६ मापन भएको छ । गत चैत १३ मा पनि वायु प्रदुषणले खतराको तह पार गरेको थियो । काठमाडौंभन्दा बढी प्रदूषण वीरगञ्ज र धनगढी क्षेत्रमा देखिएको छ । कैलालीको धनगढीमा एक्यूआई ४३८ छ भने बाराको सिमारामा ४०० मापन भएको छ । पोखरामा एक्यूआई २०७ र रारामा २२२ पाइएको छ । मौसम विज्ञान विभागका अनुसार साँझ काठमाडौंको भिजिबिलिटी २ किलोमिटरसम्म थियो ।
डढेलो पनि कारक

मौसमविद्का अनुसार धुलो र धुवाँले वायु प्रदुषणको जोखिम बढाएको छ । हुरीबतासको मौसम भएकाले छिमेकी देशका मुरुभुमीबाट पनि धुलो आउँने, उपत्यका वरपरका क्षेत्रमा डढेलो लागेको कारण पनि प्रदूषण बढेको आँकलन गरिएको छ । वन तथा भूसंरक्षण विभागको डढेलो सम्बन्धी तथ्यांक प्रणाली (मोडिस)का अनुसार सोमबार ५३० स्थानमा ठूला वनमा डढेलो लागेको छ । काठमाडौं वरपर सिन्धुलीमा ३१, मकवानपुरमा २४, चितवनमा २०, काभ्रे र रामेछापमा ८\८, धादिङमा ३, ललितपुर र सिन्धुपाल्चोकमा १\१ स्थानमा डढेलो लागको पाइएको छ ।

काठमाडौं वरपरबाहेक बर्दियामा ३०, बाँकेमा २९, डडेलधुरा, उदयपुर र सल्यानमा २१\२१ र ओखलढुंगामा २० स्थानमा आगलागी भएको र धेरैजसो स्थानमा अझै डडेलोको प्रकोप कायमै रहेकाले माथिल्लो भेगमा प्रदुषण बढी हुने देखिएको छ । मैसमविद प्रधानांग पानी नपरी वा हुरी बतास नआई प्रदूषण नहट्ने बताउनुहुन्छ । गत हप्ता परेको पानीले केही दिन प्रदूषणको दर घटाएपनि केहीदिनमै विश्वमै प्रदुषित शहरको सूचिमा काठमाडौं १ नम्बरमै उक्लिएको छ ।
सरकार नै बेमतलबी

नेपाल सरकारले पनि काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदूषण आपत्काल सम्बन्धी व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले ३ माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्यूआई नाघेपछि विपद् घोषणा गर्ने भनिएको छ । तर, वातावरण मन्त्रालयकै तथ्यांकले एक्यूआईको स्वस्थप्रद सीमा नाघेको देखाउँदा पनि बालबालिका, ज्येष्ठ नागरिक, विरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न समेत आनाकानी गरिरहेको छ ।

खुल्ला रुपमा फोहोर बाल्ने कार्य रोक्न स्वयमसेवक खटाउने, ब्रुमर,भ्याकुम प्रयोग गरेर सडक सफा गर्ने, अनावश्यक रुपमा घरबाहिर नआउन र आउनै परे एन–९५ मास्क अनिवार्य लगाउन, सम्भव भएसम्म गाडी नचलाउन, उपत्यकामा उद्योग बन्द गर्ने र मालबाहक बाहेकका गाडी उपत्यका प्रवेश गर्न नदिनुपर्ने कार्ययोजना भएपनि सरकारबाटै बेवास्ता हुँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ