Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsल्याबको बद्मासी, ९ हजारमा स्वाब नै टेष्ट नगरि कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट

ल्याबको बद्मासी, ९ हजारमा स्वाब नै टेष्ट नगरि कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट


काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढ्दा काठमाडौं उपत्यकामा केही निजी ल्यावले पिसिआर रिपोर्ट नक्कली बनाउने गरेको खुलेको छ । कोरोना संक्रमणका कारण विदेश जादा होस् या नेपालमै बिभिन्न कामका लागि पिसिआर रिपोर्ट अनिवार्य जस्तै बनाएपछि कोरोनाको नक्कली रिपोर्ट बनाइदिने गिरोह सक्रिय भएको भेटिएको छ ।

उपत्यकाका निजी ल्यावहरुले कोरोना परिक्षणका लागि तोकिएको शुल्क भन्दा तेब्बर पैसा लिएर नक्कली रिपोर्ट बनाइदिइरहेका छन् । काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थ केयर । यहि ल्यावबाट कोरोनाको रिपोर्ट लिएर विदेश उड्न तयारी सहित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगेका १ सय २२ जना यात्रु बुधबार बिमानस्थलबाटै फर्काइयो । बिहान ७ बजेदेखि ९ बजे बिचका फ्लाइटबाट विभिन्न मुलुक जान लागेका उनीहरुलाई विमानस्थलमै रोकिएको हो । कतार, मेलेसिया, दुबईलगायतका खाडी मुलुक र भारत जान तयार भएका यी यात्रुलाई विमानबाट ओरालिएको हो । तर, विमानबाट ओरालिएका यात्रुहरुले आफूहरुले स्वाव नै दिएर रिपोर्ट लिएको बताइरहेका छन् ।

घरबार नै धितो राखेर रोजगारका लागि विदेश जान लागेको भन्दै आफूहरु समस्यामा परेको यात्रुहरुले गुनासो गरेका छन् । हेल्थ केयरमै पुगेर स्वाव दिएको सिसिटिभी फुटेज हेरेर तत्काल आफूहरुलाई रोजगारका लागि जान दिन यात्रुहरुले आग्रह गरेका छन् । ऋण गरेर ल्याएको पैसा समेत काठमाडौंमा बस्दा सकिएको भन्दै आफूहरुलाई समस्यामा नपार्न उनीहरुले माग गरेका छन् । बिशेष सुचनाका आधारमा मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाले चलाएको ‘कोभर्ट अपरेशन’का क्रममा सुरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाइदिने गरेको नालीबेली खुलेको हो । यहि ल्यावबाट कोरोना संक्रमणको नक्कली रिपोर्ट बनाइएको आरोपमा ८ जना कर्मचारीलाई पक्राउ गरिएको छ । प्रयोगशालाका मुख्य सञ्चालक सीपी श्री कुमार हुन् । कम्पनी दर्ताको प्रमाण पत्रमा उनले आफ्नो ठेगाना काठमाडौं महानगरपालिका–२, लाजिम्पाट राखेका छन् । अहिले उनी फरार छन् ।

प्रयोगशालामै रहेका प्राविधिक सल्लाहकार खडानन्दप्रसाद (केपी) सिंह, म्यानेजर प्रमोद यादव, कर्मचारी बादल मिरिङ छिङ, अमनकुमार यादव, ओजेश पोख्रेल र मेरिट मल्टिकेयर मेडिकलका सरोज क्षेत्रीलाई भने प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये क्षेत्री विदेश जाने नागरिकका लागि मेडिकल जाँच गर्ने व्यक्ति हुन् । यो प्रयोगशालाले स्वाब संकलन बुथ उपत्यकाको विभिन्न ठाउँमा समेत राखेको भेटिएको छ । सामान्यतया २ हजार ५ सय कोरोना परिक्षणका लागि शुल्क लाग्ने भएपनि ९ हजारभन्दा बढी रकम लिएर नक्कली रिपोर्ट बनाइने गरेको छ । अव शंकास्पद पीसीआर रिपोर्ट बोकेर यात्रा गर्ने बढेपछि विमानस्थलमा निगरानी बढाइएको छ ।

यसअघि नेपालमा पीसीआर नेगेटिभको रिपोर्ट देखाएर हङकङ पुगेकाहरुको पीसीआर पोजेटिभ आएपछि नेपाल एयरलाइन्स थुप्रै पटक निलम्बनमा परेको थियो । तर, प्रहरी अनुसन्धानका क्रममा प्रयोगशालाको त्रुटि नभएको दाबी गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएर सञ्चालन गरिएको यो ल्याबले पीसीआर नेगेटिभ भएका व्यक्तिको स्वाब लिएर अर्को व्यक्तिको नाममा रिपोर्ट बनाइदिने गरेको समेत भेटिएको छ । अझ विदेश जाने र चाँडै रिपोर्ट चाहिने व्यक्तिलाई नक्कली रिपोर्ट बनाइने गरिएको देखिन्छ । प्रयोगशालामा केही मेनपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने मानिसहरुलाई पीसीआर जाँचका लागि पठाउने समेत गरेको पाइएको छ । तिनकुनेस्थित कान्तिपुर अस्पतालबाट पनि कोरोना परीक्षण यही गराउने गरेको पाइएको छ । स्वाब संकलनका लागि अस्पतालमा सूर्या हेल्थ केयरको बुथ नै छ ।

पीसीआर नेगेटिभ भएको नक्कली रिपोर्ट बनाएर जनस्वास्थ्यमाथि गम्भिर खेलबाड गरेको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले प्रयोगशालाको लाइसेन्स निलम्बन गरेको छ । मुलुकी फौजदारी संहितामा रहेको कीर्तेसम्बन्धी कसूर, संक्रामक रोग नियन्त्रण ऐन र संहितामै रहेको जनस्वास्थ्य सम्बन्धी प्रावधानमा टेकेर पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ