Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालीलाई विदेश जान रोक, भारतीयलाई साउदी पुर्याउन सातामा १० उडानको अनुमति

नेपालीलाई विदेश जान रोक, भारतीयलाई साउदी पुर्याउन सातामा १० उडानको अनुमति


काठमाडौं । आफ्ना नागरिकलाई विदेश जान रोक लगाइरहेको नेपाल सरकारले भारतीय नागरिकलाई नेपालबाट साउदी अरेबिया जान अनुमति दिएको छ । सरकारले केही दिनअगाडि नेपाललाई ‘ट्रान्जिट’ बनाएर विदेश जान नदिने निर्णय गरेको थियो । त्यसअघि भने भारतमा कोरोना महामारिले भयाबह रुप लिएको समयमै हजारौँ भारतीयहरु खुलेआम नेपाल आएका थिए ।

भारतीयहरु बिना क्वारेन्टिन बसाई नेपाललाई ‘ट्रान्जिट’ बनाउँदै बिदेश उडेको सरकारले देखेन । सञ्चारमाध्यमले भारतीयबाट बढेको जोखिमबारे खबरदारी गरेपछि मात्रै सरकारल नेपाललाई ‘ट्रान्जिट’ बनाएर विदेश जान नदिने निर्णय गर्न बाध्य भएको थियो । सोमबार मात्रै फेरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय दूतावासको आग्रह भन्दै सातामा १० उडानमार्फत भारतीयलाई साउदी अरेबिया जान अनुमति दिएको छ । साउदी जाने उडानले एकतर्फी मात्रै यात्रु लैजान पाउने स्वीकृति दिइएकाले विदेशमा अलपत्र नेपाली सो उडानमार्फत फर्कन नपाउने भएका छन् । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै १५ वैशाखदेखि नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको अध्यागमन विभाग १५ दिन नबित्दै भारतीय नागरिकका लागि खुला गर्न बिवश भएको छ ।

जब कि वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठ साउदी अरेबिया रोजगारीका लागि जान ठिक्क परेका १५ सय नेपाली उडान बन्द भएपछि रोकिएको बताउँछन् । आफ्ना नागरिकलाई रोजगारीमा जान रोक्ने सरकारले भारतीयलाई भने चार्टर गर्न दिनु आश्चर्यजनक छ । यो कदमले सरकारमाथी भारतपरस्तको आरोप लगाउनेहरु पनि बढ्न थालेका छन् । परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट पत्र आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएसँगै सातामा नेपाल वायुसेवा निगमले सात र हिमालय एयरलाइन्सले तीन उडान गर्न अनुमति पाएका छन्। सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै झन्डै एक हजार पाँच सय भारतीय नेपालमा रोकिएको अनुमान छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भारतीय दूतावासले पठाउने नामको सूचीअनुसार निगम र हिमालय एयरलाइन्ससँग समन्वय गर्नेले जान पाउने बताउँछन् । भर्खरै आएकाहरु नभई नेपाल आएर १० दिन क्वारेन्टिन बसेको, पिसिआर परीक्षण गरेको र भारतीय दूतावासको लेटर लिएर आउनेले मात्रै जान पाउने बताइएको छ । अधिकांश भारतीय अहिले पनि ठमेल, नयाँ बसपार्क, सुन्धारालगायत होटेलमा बस्दै आएका छन् । भारतीय दूतावासले आग्रह गरेकै दिन गत वैशाख २९ गते परराष्ट्र मन्त्रालयले मागअनुसार उडान अनुमतिका लागि पर्यटन मन्त्रालयमा सिफारिस गरेको थियो । वैशाख ३० गते पर्यटन मन्त्रालयले भारतीय नागरिकलाई रोजगारीका लागि साउदी लैजान अनुमति दिएको पाइएको छ । साउदीले भारतलाई यात्रा प्रतिबन्ध लगाए पनि नेपाललाई भने अझै आवत–जावत गर्न अनुमति दिइरहेको छ । यसैको फाइदा उठाउँदै भारतीय नागरिक नेपाल भएर रोजगारीका लागि साउदी जान आएका थिए ।

सरकारले जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । आन्तरिक उडान अनिश्चितकालका लागि बन्द छ । चार्टर र उद्धार उडान हुन सक्ने भनिए पनि सरकारले आफ्ना नागरिकका लागि भने कुनै देशमा उडान अनुमति दिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ