Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कहरमा विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा अझै पौने तीन लाख बालश्रमिक

कोरोना कहरमा विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा अझै पौने तीन लाख बालश्रमिक


काठमाडौं । जुन १२ अर्थात विश्व बालश्रम विरुद्वको दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैँछ । नेपालमा पनि कोरोना महामारीको बीच भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरिएका छन् । दिवसका अवशरमा विभिन्न कार्यक्रम हुँदैआएपनि नेपालमा बालश्रम घट्नुको साटो बढ्दै गएको पाइएको छ । केन्द्रीय तथ्यांक विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षण, २०७६ अनुसार नेपालमा १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संलग्न रहेको देखिएको छ । तर उनीहरू सबै बाल श्रमिक भने नभएको सर्वेक्षणमा उल्लेख छ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १ लाख ४ हजार ७ सय १४ जना बालबालिका कामकाजमा संलग्न रहेको पाइएको थियो । यीमध्ये ५६ हजार २ सय ७६ बालक र ४८ हजार ४ सय ४७ बालिका रहेका छन् । केन्द्रीय तथ्यांक विभागबाट सम्पादन गरिएको नेपाल बहुक्षेत्रीय क्लस्टर सवेक्षण, २०७१ अर्थात सन २०१४ अनुसार ५ वर्षदेखि १७ वर्ष उमेर समुहका ३७ दशमलव ४ प्रतिशत बालबालिका बालश्रमममा संलग्न रहेको पाइएको छ । ५ देखि ११ वर्ष उमेर समूहका कम्तिमा १ घण्टा कामकाजमा संलग्न बालबालिका २७ दशमलव ९ प्रतिशत रहेका छन् । जसमा बालक २९ दशमलव ९ प्रतिशत रहेका छन् भने बालिका २६ दशमलव ५ प्रतिशत रहेको पाइएको छ । १२ देखि १४ वर्ष उमेर समूका कामकाजमा संलग्न १४ घण्टाभन्दा कम ४४ दशमलव २ प्रतिशत रहेका छन् । जसमा बालक ४३ दशमलव ४ प्रतिशत र बालिका ४४ दशमलव ८ प्रतिशत छन् । १४ घण्टाभन्दा बढी १५ दशमलव २ प्रतिशत छन् । जसमा बालक १२ दशमलव ३ प्रतिशत र बालिका १७ दशमलव ६ प्रतिशत छन् ।

संविधान र कानूनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन बन्देज गरेको छ । नीति र योजनामा बालश्रम न्यूनीकरणका प्रावधान तर्जुमा पनि गरिएका छन् । बालश्रम लक्षित विविध कार्यक्रम सरकार र विकासका साझेदार संस्थाको समन्वयनमा भैरहेका पनि छन् । होटल, रेस्टुरेन्ट, बजार, वडा तथा नगरलाई बालश्रम मुक्त बनाउने क्रमको सुरुवात भएपनि प्रभावकारी देखिएको छैन । बालश्रम विरुद्धको कानूनी व्यवस्था हुँदा पनि रेष्टुरेन्ट, यातायात, निर्माण, कृषि, साना तथा घरेलु उद्योग, गलैंचा कारखाना, जरी कारखाना, इँटाभट्टा लगायत घरेलु श्रममा बालबालिकालाई संलग्न गराइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख समेत रहनुभएका सहसचिव बिनोद प्रकाश सिंह उमेर ढाँटेर बालबालिकालाई जोखिमपूर्ण काममा समेत संलग्न गराइएका घटना देखिएको बताउनुहुन्छ । वयस्कको तुलनामा बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने लगायतका कारण बालश्रमको प्रयोग भइरहेको पाइन्छ । बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिक रुपमा स्वीकार गरिएको एवम कठिन अवस्थाका बालबालिकाका लागि सहयोगको कार्यक्रमको अभवा लगायतका कारण समेतले कतिपय क्षेत्रमा बालश्रम व्याप्त छ ।

बाल श्रम अन्त्य गर्ने सरकारका कार्यक्रम र योजनाहरु
राष्ट्रिय योजना आयोगको पन्ध्रौं योजना (२०७६\०७७–२०८०\०८१) मा राज्यले सबै प्रकारको बालश्रमको अन्त्य गर्न आवश्यक व्यवस्था गर्ने रणनीति अवलम्बन गरेको छ । दिगो विकास लक्ष्य अन्तरगत सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्न तत्काल प्रभावकारी उपाय अपनाउने उल्लेख गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको दोस्रो १० वर्षे बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७४–०८३) लागू भएको छ । यसले पनि नेपालबाट सबै प्रकारको बालश्रम पूर्ण रुपमा निवारण गरी राष्ट्रलाई बालश्रमरहित बनाउने लक्ष राखेको छ । गुरुयोजनाको लक्ष्यमा २०७९ साल सम्ममा निकृष्ट र शोषणयुक्त प्रकारको बालश्रम निवारण गर्ने र २०८२ सालसम्ममा सबै प्रकारका बालश्रम निवारण गर्ने भनिएको छ ।

बालश्रम विरुद्धका कानून
नेपालको संविधानको धारा ३९ को उपधारा ४ मा कुनै बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने भनिएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ ले १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिका भनेर परिभाषित गर्दै ऐनको दफा ७ को उपदफा ६ मा प्रत्येक बालबालिकालाई आर्थिक शोषण हुनबाट संरक्षण पाउने अधिकार उल्लेख छ । उपदफा ९ ले १४ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन वा घरेलु कामदार वा कमलरीको रुपमा राख्न नहुने व्यवस्था गरेको छ ।

श्रम ऐन, २०७४ को दफा ५ बमोजिम कसैले पनि बालबालिकालाई कानून विपरीत हुने गरी कुनै काममा लगाउनु हुदैँन भन्ने व्यवस्था गरेको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ कै दफा ४८ अनुसार जबरजस्ती वा बँधुवा प्रकृतिका वा जोखिमपूर्ण वा निकृष्ट प्रकृतिको वा प्रचलित कानुन विपरीत श्रममा संलग्न भई जीवनयापन गरिरहेका बालबालिका विशेष संरक्षणको आवश्यकता भएमा बालबालिका भएकाले त्यस्तो अवस्थामा रहेका बालबालिकालार्य बालकल्याण अधिकारीले आवश्यक सेवा प्रदान गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन अन्तरगत रोजगारीमा संलग्न हुन पाउने न्यूनतम उमेर सम्बन्धी महासन्धि, १९७३ नम्बर १ सय ३८ ले १८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन निषेध गरेको छ । तर ‘आर्थिक र शैक्षिक सुविधा पर्याप्त विकसित नभएका राष्ट्रका सन्दर्भमा भने यदि पर्याप्त शिक्षा, स्वास्थ्य, नैतिकताको दृष्टिबाट पूर्ण सुरक्षित भएमा १४ वर्षदेखि नै बालबालिकालाई काममा लगाउन सकिने’ व्यवस्था छ ।

निकृष्ट प्रकारको बालश्रम सम्बन्धी महासन्धि, १९९९ नम्बर १ सय ८२ लाई क्रमशः सन् २००३ र २००४ मा नेपाल सरकारले अनुमोदन गरेको छ । यस महासन्धिको प्रावधान अनुसार बालबालिकालाई जोखिमुक्त बालश्रममा लगाउनबाट रोक्नका लागि पहल गर्ने, जोखिमयुक्त बालश्रमबाट बालबालिकाको उद्धार गरी उनीहरुलाई समाजमा पुनस्र्थापित गर्ने कार्यका लागि आवश्यक उथा उपयुक्त प्रत्यक्ष सहयोग प्रदान गर्ने, जोखिमयुक्त बालश्रमबाट मुक्त गरिएका बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन र सम्भव भएसम्म उपयुक्त व्यवसायिक तालिम दिन पहल गर्ने लगायतका व्यवस्था गरेको छ ।बलपूर्वकको श्रम उन्मूलन सम्बन्धी महासन्धि २००१ को नम्बर १ सय २९ मा अन्तर्राष्ट्रिय श्रमस्तर कार्यान्वयन अभिवृद्धि गर्न त्रिपक्षीय सहमति सम्बन्धी महासन्धि २००१ को नम्बर १ सय ४४ मा पनि नेपालले हस्ताक्षर गरेको छ ।

यतिधेरै कानूनी व्यवस्था भएपनि बालश्रम रोक्ने सरकारी अभियान अपेक्षा गरेअनुसार प्रभावकारी देखिएको छैन । बिशेषगरि रेष्टुरेन्ट, यातायात, निर्माण, कृषि, साना तथा घरेलु उद्योग, गलैंचा कारखाना, जरी कारखाना, इँटाभट्टा लगायतमा र घरेलु कामदारका रुपमा बालश्रमिकहरु बढी देखिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ