Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त


पोखरा, काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

पोखरेलले कांग्रेसका १५, माओवादी केन्द्रका ११ सभामुखबाहेक, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनसहित शुक्रबार साँझ दावी पेश गर्नुभएको थियो । पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित हिजो प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गरेकोमा आज तीन बज्न लाग्दा कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दावी पेश गरेको चर्चा बाहिरिएको थियो ।

गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दावी पेश गरेको र जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कारवाही गरेको पत्र समेत पेश गरेको भनिएपनि प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नेक्रममा एक मात्रै दाबी परेको बताइएको छ । प्रदेश प्रमुखले गुरुङको दावीलाई मान्यता नदिएको हो वा दर्ता नै नभएको भनेर मुख्यमन्त्री गुरुङको पेस सेभिङ गरिदिएको हो भन्ने चर्चा चुलिन थालेको छ ।

को हुन गन्डकीका नव नियुक्त मुख्यमन्त्री ?
७१ वर्षीय कृष्णचन्द्र नोपाली पोखरेल पञ्चायतकालदेखि सक्रिय राजनीतिमा छन् । २००६ साल मंसिर १३ मा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी हुन् । उनी २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा होमिएका थिए । विभिन्न आन्दोलनका क्रममा उनी ५–६ पटक जेल पनि परेका छन्। भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका पोखरेल २०४८ सालपछि लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए ।

कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने । नेपाली कांग्रेसको गण्डकी संसदीय दलका नेता पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा माओवादीका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित गरेर पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । २०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका पोखरेल २ सय २५ मतले पराजित भएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ