Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपछिल्ला सात वर्षदेखी किन ब्यहोर्दैछ सिन्धुपाल्चोकले ठूला बिपद्ध ?

पछिल्ला सात वर्षदेखी किन ब्यहोर्दैछ सिन्धुपाल्चोकले ठूला बिपद्ध ?

मंगलबारको बाढीपहिरोमा सात जनाको मृत्यु, ४० बढी सम्पर्कबिहिन


काठमाडौं । मंगलबार साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढी आएको छ । मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पर्याएको छ भने नदी तटीय क्षेत्रबाट धेरै मानिस सम्पर्क विहीन भएका छन् ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोमा परेर ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिनुभयो । प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गर्दा अझै ४० बढी सम्पर्कबिहिन छन । कतिपय नागरिक डुबानमा परेको घरको छतमा उद्धारको प्रतिक्षामा छन् । मानविय र भौतिक क्षतिको विवरण आउनेक्रम जारी छ ।

मेलम्ची (ईन्द्रावती) को बाढीले मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । हुनत, सिन्धुपाल्चोकले केही वर्षयता लगातार ठूला प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ । २०७१ सालयता बाढी र पहिरोका कारण जनधनको क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोकले २०७२ सालको गोरखा भूकम्पको बेलामा पनि सबैभन्दा बढी क्षति ब्यहोर्नुपर्यो । सरकारले गत वर्षमात्रै विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोकमा विपद् प्रतिकार्यको काम प्रभावकारी नहुँदा बर्सेनि ठूलो क्षति भोग्नु परिरहेको छ ।

सिन्धुपाल्चोकवासीले २०७१ सालयता भोगेको ठूला प्राकृतिक विपत्तिका घटनाहरु

– २०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भयो । घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मसमेत १५३ घर पूर्णरूपमा क्षति पुग्यो ।

– २०७२ वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो । भूकम्पले १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५ सय ३७ घर पूर्ण रुपमा क्षति भयो ।

– २०७३ असार २१ गतेको भोटेकोशी नदीको बाढीले लिपिङ बजारका ३० घर बगायो । तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुग्यो । अरनिको राजमार्ग बन्द भयो ।

– २०७४ साउन ८ गते रातिको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद भयो । अरनिको राजमार्ग पनि अबरुद्ध भयो ।

– २०७५ भदौ २ गते राति साँधी खोलामा आएको पहिरोले पक्की पुल बगायो । पहिरोले २२ घरमा लेदो माटो पस्यो, १२ घर जोखिममा परे ।

– २०७७ असार २४ गते राति बाह्रबिसे नगरपालिका वडा नं. ५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु भयो भने १७ जना वेपत्ता भए । २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भए । बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त भयो । भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एक जनाको मृत्यु भयो भने तीन जना बेपत्ता भए । लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भयो । लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखियो । अरनिको राजमार्गका खागदल र बुल्कुटेका दुईवटा पक्की पुल पनि क्षतिग्रस्त भए ।

– २०७७ असार ३१ गते राति भोटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भयो, ३ घर पूर्ण रुपमा क्षतिग्रस्त भए ।

– २०७७ साउन १८ राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भयो । सोही रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो ।

– २०७७ साउन २२ गतेको अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका २ सेराफाँटमा ४ घर पुरिए । बलेफी(कात्तिके सडक अबरुद्ध भयो । सयौं रोपनी धानखेत बगायो ।

– २०७७ साउन ३० बिहान जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिए । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनालाई मृत घोषणा ।

यस बर्षपछि उस्तै बिपद्ध दोहोरिदैछ । बाढी पहिरोको जोखिमको आँकलन गरेर पूर्व सतर्कतासहित बस्तिलाई सुरक्षित गर्न नसक्ने हो भने यस्ता बिपत्तीले निरन्तरतासँगै ठूलो धनधनको क्षती गराइरहनेतर्फ सरकार र सरोकारवाला सबै बेलैमा सचेत बन्नुपर्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ