Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा प्राकृतिक विपद्धः पछिल्लो एकसातामा १७ जनाको मृत्यु, अझै झरी

नेपालमा प्राकृतिक विपद्धः पछिल्लो एकसातामा १७ जनाको मृत्यु, अझै झरी


काठमाडौँ । मनसुनी वार्षासँगै सुरु भएको बाढी, डुवान र पहिरोबाट देशका डेढ दर्जनभन्दा बढी जिल्ला प्रभावित भएका छन् । गत आइतबारबाट सुरु भएको अविरल वर्षाका कारण निम्तिएको बाढीपहिरो र डुबानमा परी अहिलेसम्म १७ जनाको मृत्यु भएको छ । २२ जना बेपत्ता हुँदा १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन–तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान, बझाङ  र बाजुरामा एक–एक जना रहेका गृह मन्त्रालयले जनाएको छ । वेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन् । बाजुरा र रुपन्देहीमा एक–एक जना वेपत्ता रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ । प्राकृतिक प्रकोपले घरबार गुम्नेदेखि विस्थापित हुनेसम्मका घटना मनसुन सक्रिय भएसँगै बढिरहेका छन् । प्रभावित जिल्लामा भएको आर्थिक क्षतिबारे यकिन विवरण आइनसके पनि सरकारी, सार्वजनिक तथा निजी संरचना विनाश हुँदा अर्बौं रुपैयाँ बराबरको आर्थिक क्षति भएको गृह मन्त्रालयले आँकलन गरेको छ । गृह प्रवक्ता जनकराज दाहालले प्रकोपबाट निम्तिएको मानवीय क्षति र भौतिक क्षतिको विवरण आउने क्रममा रहे पनि क्षतिको यकिन विवरण खोज–उद्धार र राहतको काम सकिएपछि आउने जानकारी दिनुभयो । ‘सरकारको ध्यान खोज–उद्धार र राहत व्यवस्थापनमा केन्द्रित छ, प्राथमिकताका काम सकेर स्थानीय प्रशासन र स्थानीय तहमार्फत प्राविधिक टोलीसमेत सहभागी गराएर विवरण संकलन गरिनेछ,’ प्रवक्ता दाहालले बताउनुभयो ।

गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी भौतिक क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ । सबैभन्दा बढी जनधनको क्षति व्यहोरेको सिन्धुपाल्चोकको मेलम्चीमा ३२ वटा निजी घर बाढीले बगाएको छ । ८ वटा पक्की पुल, १६ वटा झोलुङ्गे पुल, ७ वटा माछा फार्म र सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट रहेको भवन बगेको छ । मनाङमा बाढीबाट पूर्ण रूपमा १ सय १२, आंशिक रूपमा २० भौतिक संरचनामा क्षति भएको छ । यहाँ १ बेलिब्रिज, ५ झोलुङ्गे पुल र ४ सरकारी कार्यालयका भवन पूर्ण रूपमा क्षति भएको तथ्यांक संकलन भएको छ । लमजुङमा निजी भौतिक संरचनामध्ये २० वटामा पूर्ण र ७७ वटामा आंशिक क्षति पुगेको छ । यस्तै, बाजुरामा २, गोरखामा १०, अर्घाखाँचीमा १२ भौतिक संरचना बाढीपहिरोमा नष्ट भएको छ ।

राजमार्गका १४ ठाउँमा बाढीपहिरो र डुबानले बढी क्षति पुर्याएको छ । जसका कारण आवागमन अवरुद्ध भएको छ ।गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार मनसुन सुरु भएपछिको प्रकोपबाट लमजुङ, म्याग्दी, मुस्ताङ, मनाङ, पाल्पा, कालीकोट, जुम्ला, दैलेख, बाजुरा र बझाङ जिल्ला अन्तर्गतका राजमार्ग खण्ड अवरुद्ध भएका छन् ।

अझै केही दिन मनसुन सक्रिया रहने
केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष केही दिन छिटो मनसुन सक्रिय भएर भित्रिएको भएपनि तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । मनसुन शुरु हुने औसत मितिभन्दा तीन दिनअघिदेखी पानी पारिरहेको छ । यो क्रम अझै केही दिन कायम रहने भन्दै मोसमविद्हरुले नदी तटिय क्षेत्रमा र पहिरोको जोखिम रहेका क्षेत्रहरुमा साबधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ