Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाको मारः ५० दिनको निषेधाज्ञाले नीजि क्षेत्रलाई ४ खर्ब घाटा

नेपालमा कोरोनाको मारः ५० दिनको निषेधाज्ञाले नीजि क्षेत्रलाई ४ खर्ब घाटा

पर्यटन र यातायात क्षेत्रमा सबैभन्दा ठूलो असर


काठमाडौं । कोरोना महामारीबाट अर्थतन्त्रको बलियो जग भएका देशहरु समेत धर्मराइ रहँदा नेपालको आर्थिक क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ । कोरोनाको पहिलो लहरमा महिनौंसम्म लकडाउन हुँदा जनजीवन मात्रै ठप्प भएन् देशको आर्थिक वृद्धिलाई ठूलै धक्का लाग्यो । अहिले फेरि कोरोनाको दोस्रो लहरपछि देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन मार्फत बजारलाई केही चलाएमान गराएर निषेधाज्ञा जारी राख्ने निर्णय भैरहँदा अत्यावश्यक बाहेकका सेवा र उत्पादनको बिक्री वितरण सुरु हुने अपेक्षा गरिएको छ । निषेधाज्ञाको कारण देशले कति आर्थिक क्षति व्यहोरिरहेको छ त ? सरकारको तर्फबाट कुनै अध्ययन नहुँदा निजी क्षेत्रले दैनिक आठ अर्बको क्षति भइरहेको हिसाब निकालेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेपालमा १ दिन बन्द हुँदा ८ अर्ब घाटा हुने गरेको बताउनुहुन्छ । अहिले सबैभन्दा धेरै पर्यटन र यातायात सेवाले क्षति व्यहोर्नु परिरहेको छ ।

पहिलेको लकडानमा बन्द भएका उद्योगहरु पुर्णरुपमा सञ्चालन नहुँदै फेरि निषेधाज्ञा भएकाले अब उद्योग र व्यवसाय कसरी उठ्छन भन्ने चिन्ता थपिएको छ । दोस्रो लहरको कोरोना आएपछि निषेधाज्ञा सुरु भएको पनि ५० दिन बितेको छ । दैनिक ८ अर्बका दरले घाटा व्यहोर्नुपर्दा ५० दिनसम्ममा ४ खर्ब घाटा भएको छ । २०७६ चैत ११ गतेदेखि सुरु भएको निषेधाज्ञा करिब ९ महिनासम्म चलेको थियो । निषेधाज्ञाले उद्योग–व्यवसाय मारमा परेको भन्दै निजी क्षेत्रले सरकारसँग राहत मागे पनि सरकारले आंशिक मात्रै सम्वोधन गरेको छ ।

वैशाख १६ गतेदेखि सरकारले जारी गरेको निषेधाज्ञा कहिले खुल्छ भन्ने यकिन छैन । तर विस्तारै कोराना संक्रमण दर घट्दै गएपछि स्मार्ट लकडाउन मार्फत बजार, पसल चलायमान गर्न खोजिएको छ ।

निषेधाज्ञाले कुन उद्योगमा कति घाटा ?

सिमेन्ट उद्योग
सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रब थापा बन्दको समयमा सिमेन्ट उद्योगले ठूलो घाटा व्यहोरिरहेको बताउनुहुन्छ । ३० प्रतिशत सिमेन्ट उद्योग बन्द भएको र बाँकी रहेका ७० प्रतिशत उद्योग २० देखि ३० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन् । एक दिन बन्द हुँदा सिमेन्ट उद्योगले ५० करोड घाटा व्यहोर्नुपर्ने थापा बताउँनुहुन्छ । हाल जारी निषेधाज्ञाका क्रममा मात्रै सिमेन्ट उद्योगलाई २५ अर्ब घाटा भएको आँकलन गरिएको छ ।

यातायात
लकडाउनको समयमा सबैभन्दा धेरै मारमा परेको क्षेत्र हो, यातायात । बन्दको कारण सबै सार्वजनिक यातायातका साधनहरु इतिबेला थन्किएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य बस, माइक्रो बस, ट्याक्सीलगायत सबै जोड्दा ३ लाख नीजि सवारिसाधन रहेको बताउनुहुन्छ । बस र अन्य साना गाडीको १ हजारको दरले नै हिसाव गर्दा दैनिक ३० करोड घाटा देखिन्छ । यो हिसाबले ५० दिनको बन्दमा १५ अर्ब यातायात क्षेत्रले घाटा ब्यहोर्नुपरेको छ । पहिलेको लकडाउनमा दैनिक ३० करोडको घाटा भएको आँकलन गरिएको छ ।

निर्माण क्षेत्र
लकडाउनको समयमा केही ठूला निर्माण आयोजनाबाहेक अरु बन्द छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह निर्माण क्षेत्रले दैनिक २३ करोड घाटा व्यहोरिरहेको बताउनुहुन्छ । निर्माण क्षेत्रको काम निरन्तर नहुँदा विकास निर्माणमा ढिलाईसँगै बेरोजगारी समस्या समेत बढेको छ ।

होटल व्यवसाय
कोरोनाको कारणले सबैभन्दा धेरै समस्यामा परेकोमध्ये अर्को व्यवसाय हो, होटल । होटल संघ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल क्षेत्रमा दैनिक ६ करोड ६६ लाख घाटा भइरहेको जानकारी दिनुभयो । पछिल्लो पटक ५० दिन बन्द हुँदा ३ अर्ब ३३ करोड यो क्षेत्रले घाटा व्यहोरेको छ । नेपालका दशौं हजार होटलमध्ये हानमा ४ हजार होटल जोडिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ