Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News११ महिनामा १५ खर्ब बढीको बैदेशिक व्यापार, १२ खर्ब घाटा

११ महिनामा १५ खर्ब बढीको बैदेशिक व्यापार, १२ खर्ब घाटा


काठमाडौं । आयातमा भएको उच्च वृद्धि र न्यून निर्यातको प्रभाव समग्र वैदेशिक व्यापारमा देखिन थालेको छ । चालु आर्थिक वर्षको ११ औं महिना (२०७७ साउनदेखि–२०७८ जेठसम्म) को सरकारी तथ्यांकले नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको देखाएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को ११ औं महिनासम्मको व्यापार घाटा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४ दशमलब ६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यही अवधिमा व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ थियो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष नेपालमा आयात र निर्यात दुबै बढेको छ । तर, निर्यातको हिस्सा आयातको तुलनामा निक्कै कम छ । २०७७ साउनदेखि २०७८ जेठसम्मको ११ महिनामा कुल १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५ दशमलब ६७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सारको तथ्यांक छ ।

१ खर्ब २१ अर्ब बराबरको निर्यात
२०७७ साउनदेखि २०७८ जेठसम्मको ११ महिनामा नेपालको निर्यात व्यापार १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ सरकारी तथ्यांक छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७ दशमलब ७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा ८८ अर्ब ३१ लाख रुपैयाँको मात्र वस्तु निर्यात भएको भन्सारको तथ्यांक छ ।

भन्सारको तथ्यांक अनुसार साउन २०७७ देखि २०७८ जेठ मसान्तसम्म कुल १५ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो आकार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६दशमलब ५६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यो अवधिमा कुल वैदेशिक व्यापारको आकार ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख रुपैयाँ बराबर थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलब ९४ प्रतिशत र निर्यातको हिस्सा ८ दशमलब ०६ प्रतिशत रहेको छ ।

भारतसँगको व्यापार घाटा
नेपालमा सबैभन्दा धेरै मूल्यको आयात हुने वस्तु पेट्रोलियम पदार्थ हो । पेट्रोलियम पदार्थ सबै भारतबाटै ल्याइने हुनाले वैदेशिक ब्यापार र व्यापार घाटाको मुख्य हिस्सा भारतसँगै रहेको देखिन्छ । तथ्यांक अनुसार ११ महिनामा भारतबाट ८ खर्ब ८६ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट भारतमा भने ९० अर्ब १९ करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ । भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब ९६ अर्ब ३९ करोड रुपैयाँ बराबर रहेको छ । यो अवधिमा नेपालले चीनबाट २ खर्ब १० अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । चीनमा भने नेपालबाट मात्र ९४ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको पाइएको छ ।

नेपाल–अमेरिकाको व्यापार घाटा तुलनात्मक रुपमा सन्तुलित रहेको छ । ११ औं महिनासम्म नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा नेपालमा १७ अर्ब ३ करोड ६२ लाख रुपैयाँ बराबरको सामान आएको छ । ११ महिनाको अवधिमा नेपालले भारतबाट मात्र १ खर्ब ९१ अर्ब १८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । नेपालको कुल निर्यातले पेट्रोलियम पदार्थको आयात पनि धान्न नसक्ने अवस्था देखिन्छ । यो अवधिमा विकास निर्माणमा बढी खपत हुने आइरन र स्टिलको आयात १ खर्ब ३९ अर्ब ३५ करोड रुपैयाँ बराबरको छ ।

८८ अर्ब ५८ करोड रुपैयाँ बराबरका सवारी साधन नेपाल भित्रिएका छन् । ३१ अर्ब ४४ करोड रुपैयाँ बराबरको औषधीजन्य वस्तु आयात भएको छ । ११ महिनामा तरकारीजन्य वस्तु मात्र ३४ अर्ब ३२ करोड रुपैयाँको नेपाल भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ