Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्थानीय तहमा बजेटको चटारो, देशका ४ महानगरले यस्तो ल्याए बजेट, कतिपयमा किचलो

स्थानीय तहमा बजेटको चटारो, देशका ४ महानगरले यस्तो ल्याए बजेट, कतिपयमा किचलो


काठमाडौं । स्थानीय सरकारले बिहिबार आर्थिक वर्ष २०७८\७९ को बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरेका हुन ।

केही स्थानीय तहमा बजेट ल्याउनै गाह्रो भयो । जनप्रतिनिधिबीच सहमति नजुट्दा ललितपुर महानगरपालिकाले बजेट नै सार्वजनिक गर्न सकेको छैन् । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ । मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका थिए । उनको उपस्थितिलाई लिएर झडप भएको हो । बिहिबार महानगर, उपमहानगर, नगरपािलका र गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन ।

महानगरपालिकाले कस्तो ल्याए त यसबर्ष बजेट ? 

काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट
खुद्रा आयोजनादेखि काठमाडौँ महानगरपालिकाले ‘सांस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८÷७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले सो रकमको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ । बजेटमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई प्राथमिकता दिइएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रममा ५० प्रतिशत विमा शुल्क व्यहोर्न बजेट विनियोजन गरेको छ । यसैगरी ज्येष्ठ नागरिक विशिष्टिकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ । ‘मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरूलाई पनि बजेटमा समावेश गरिएको छ ।

भरतपुर महानगरपालिकाद्वारा ४ अर्ब ८१ करोडको बजेट
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८\७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उप–मेयर पार्वती शाह ठकुरीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरेकी हुन् ।

स्रोतको व्यवस्थापन आन्तरिक आयबाट १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत),अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ७७ करोड २९ लाख ८३ हजार,केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ४४ करोड ८२ लाख ८२ हजार,जनसहभागिताबाट रु ३० करोड,बैंक मौज्दातबाट १ अर्ब,मर्मत सम्भार कोषबाट रु ३ करोड,सडक बोर्डबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट रु ३ करोड रहने महानगरपालिकाले प्रक्षेपण गरेको छ ।

अन्तर सरकारी अख्तियारीबाट अनुमानित रु १ अर्ब २० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाटै खर्च तथा लेखांकनको व्यवस्था गरिने समेत महानगरले जनाएको छ । पुराना नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेका आयोजना तथा परियोजनालाई समेत निरन्तरता दिने जनाएको भरतपुर महानगरपालिकाले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु २ करोड बजेट छुट्याएको हो ।

पोखरा महानगरले ल्यायो ६ अर्ब २७ करोडको बजेट
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पूँजीगतर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिन । महानगरपालिको चालु आर्थिक वर्षको बजेट ५ अर्ब ३४ करोड ७१ लाख रहेको छ ।

महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजश्व बाँडफाँडबाट ३१ करोड २१ लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब ५५ करोडको बजेट
वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ । बजेटमा चालुतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय, पुँजीगततर्फ १ अर्ब ६२ केरोड ३३ लाख ३० हजार १ सय र वित्तीय तर्फ ६ करोड ७० लाख ६४ हजार विनियोजन गरिएको हो । महानगरले कुल खर्च मध्ये आथिर्क विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार, सामाजिक विकास क्षेत्रमा १ अर्ब १५ केरो ५८ लाख ७२ हजार, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ३५ करोड ६६ लाख १८ हजार, सुशासन तथा अन्तर सम्बन्धी क्षेत्र तर्फ १३ करोड ३२ लाख ७४ हजार र कार्यालय तर्फ ८० करोड ७३ लाख ४३ हजार छुट्याएको छ ।

विराटनगर महानगरको चार अर्ब १० करोडको बजेट
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । आगामी वर्ष चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार खर्च हुने अनुमान प्रस्तुत गरिएको छ ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरको अनुमान छ । महानगरले चालुतर्फ ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ४ अर्ब २३ करोड, ३ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । चालु वर्षको बजेट १० महिनामा १ अर्ब ३३ करोड २९ लाख २१ हजार मात्रै खर्च भएको छ । तीन अर्ब ६३ करोड पूँजीगत बजेट १० महिनामा ८८ करोड ५४ लाख ९१ हजार मात्रै खर्च भएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा वित्तीय हस्तान्तरणतर्फ संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार आम्दानी हुने अनुमान गरिएको छ । महानगरले ९५ करोड आन्तरिक आय हुने अनुमान गरेको थियो । तर, १० महिनामा ३१ करोड ३८ लाख मात्रै आन्तरिक आम्दानी भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ