Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकिन सेवा शुल्क सार्वजनिक गर्दैनन् नेपालका निजी अस्पताल ? फेरी ७ दिने अल्टिमेटम

किन सेवा शुल्क सार्वजनिक गर्दैनन् नेपालका निजी अस्पताल ? फेरी ७ दिने अल्टिमेटम


काठमाडौं । अस्पताल तथा स्वास्थ्य संस्थाहरुले सेवा शुल्क सार्वजनिक गर्न अटेर गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः ७ दिने अल्टिमेट दिएको छ । असार ८ मा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले ७ दिनभित्र बुझिने गरी सेवा र शुल्क सार्वजनिक गर्न भन्दै पुनः अल्टिमेटम दिएको हो ।

महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले काटेको सेवा शुल्क सार्वजनिक गर्ने सम्बन्धमा ताकेता पत्रमा कतिपय अस्पताल र स्वास्थ्य संस्थाहरुले बिरामीबाट लिने सेवा शुल्क सार्वजनिक गरेको भएतापनि धेरै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले अझै पनि सेवा शुल्क सार्वजनिक नगरेको उल्लेख गरिएको छ । यस्तै, पत्रमा कतिपय अस्पताल तथा स्वास्थ्य संस्थाले सेवा शुल्क सार्वजनिक गरेपनि अपुरो विवरण सार्वजनिक गरेको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ । बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक अस्पताल र स्वास्थ्य संस्थाको कानुनी र नैतिक कर्तव्य भएको ब्यहोरा स्मरण गराउँदैं मन्त्रालयले ७ दिनभित्र सवै विवरण सार्वजनिक गर्न भनिएको छ ।

अस्पताल र स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र शीर्षक समेत खुल्ने गरी आफ्नो वेवसाइटमार्फत सार्वजनिक गर्न र डिस्प्लेमा सबैले देख्ने गरी राख्न समेत मन्त्रालयले सचेत गराएको छ । उक्त सेवा शुल्क सार्वजनिक गरिएको जानकारी स्वास्थ्य संस्था सञ्चालनको इजाजत पत्र दिने र नवीकरण गर्ने निकायमा पठाउन भनिएको छ । यसअघि महाशाखाले जेठ १८ मा सबै स्वास्थ्य संस्था तथा अस्पतालाहरुलाई पत्र लेखेर सेवा शुल्क सार्वजनिक गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशनलाई केही स्वास्थ्य संस्था र अस्पतालहरु बाहेकले बेवास्ता गर्दै आएका थिए ।

किन सेवा र शुल्क सार्वजनिक गर्न निजी अस्पताललाई ताकेछ गर्दैछ त स्वास्थ्य मन्त्रालय ?
सामान्य स्वास्थ्य उपचारको सेवा दिएका अस्पताल मात्रै होइन्, पछिल्लो समय ठूला नाम चलेका अस्पतालले समेत कोरोना संक्रमितसँगै अन्य बिरामीको भर्ना र उपचारमा चर्को शुल्क लिएको गुनासो धेरै आएको छ । कतिपयले हेल्लो सरकार मार्फत र कतिपयले प्रमाणसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै गुनासो राखेपनि सुरुवाती समयमा अनुगमन गरेर खासै समस्या नभएको जवाफ मन्त्रालयले दिएको थियो । पछि सप्रमाण पीडित बिरामी र आफन्तले सामाजिक सञ्जाल र सञ्चार माध्यममा गुनासो गरेको समाचार बाहिरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचेत गराउन र सेवा शुल्क सार्वजनिक गराउनेगरि पत्र काट्न बाध्य भएको थियो ।

यी अस्पतालमा बढी गुनासो
ललितपुर सानेपाको स्टार अस्पताल, बल्खुस्थित बयोधा, नख्खुस्थित नेपाल मेडिसिटी, ग्वार्कोको बीएण्डबी, सिनामंगलको काठमाडौं मेडिकल कलेज केएमसी, बैद्धको नेपाल मेडिकल कलेज एनएमसी, मण्डिखाटारको ह्याम्स, धापासीस्थित ग्राण्डी अस्पताल र थापाथलीको नर्भिक अस्पतालमा बिरामी र आफन्तको सबैभन्दा बढी गुनासो छ । उत्कृष्ठ सेवा सुविधा र चर्चित र विशेषज्ञ चिकित्सक रहेको बिज्ञापन गर्ने यी अस्पतालमा चर्को शुल्क लिनेहरुमा अग्र स्थानमा छन् । कतिपय बिरामीका आफन्तले त उचित उपचार अभावमा आफन्त गुमाउनु परेको र मृत्यु भैसकेपछि समेत केही दिन भेन्टिलेटरमा राखिएको छ, केही आशा अझै बाँकी छ भन्दै शवमाथी समेत पैसा कमाउने खेती भैरहेको गुनासो गदैआएका छन् ।

कुन अस्पतालमा के कस्तो सेवा सुविधा पाइन्छ, अनी कति खर्च लाग्छ ? भन्ने जान्न पाउनु हरेक नागरिकको अधिकार हो । व्यक्ति अनुसार आफूखुसी शुल्क निर्धारण गरेर र विभिन्न बाहाना बनाएर बिरामी र मृत्यु भएकाहरुको शबमाथी कमाउ खेती चलाउने अस्पतालमाथी सरकारी संयन्त्रको नियमन प्रभावकारी हुनुपर्छ । सरकारी निकायमा विभिन्न प्रतिबद्धता जाहेर गर्दै दर्ता भएका अस्पतालहरुलाई जनस्वास्थ्यप्रति उत्तरदायी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गम्भिर बनोस्, यहिछ आम नागरिकको चाहाना र कामना ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ