Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं उपत्यकामा बढ्दै भीडभाड, जनस्वास्थ्यविद् र नागरिकमा तेश्रो लहरको डर

काठमाडौं उपत्यकामा बढ्दै भीडभाड, जनस्वास्थ्यविद् र नागरिकमा तेश्रो लहरको डर


काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरबाट पार नपाउँदै तेस्रो लहरको चिन्ता बढ्न थालेको छ । पहिलो र दोस्रो लहरका संक्रमितको उपचारमा चुक्दा आलोचित बनेको सरकार तेस्रो लहरको जोखिमबाट जोगिने उपायको खोजिमा अहिलेदेखी नै जुट्न थालेको छ ।

एक वर्षअगाडि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग विश्वका अधिकांश देश जुधिरहेका छन् । कतिपय मुलुकमा त तेस्रो लहर चल्दैआएको छ । नेपालले अझै दोस्रो लहरबाटै पार पाउन सकेको छैन । यही बेला विज्ञहरू भने कुनै पनि बेला तेस्रो लहर सुरु हुने आँकलनसहित सरकार र हरेक नागरिक सचेत हुनुपर्ने बताइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तेस्रो लहरको सम्भावित जोखिमका लागि तयारीमा जुटेको दाबी गर्छ । तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन सक्ने भन्दै सबै अस्पताललाई २० प्रतिशत शैय्या छुट्याएर राख्न तथा देशका नाकाहरुमा आइसोलेसन सेन्टर तथा क्वारेन्टिनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले यसअघि नै निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेल अस्पतालहरुको पूर्वाधार विकाश र जनशक्ति परिपूतिका लागि सिसिएमसिमा प्रस्ताव पठाइएको बताउनुहुन्छ ।

नेपालमा अधिकांश नागरिकले कोरोनाविरुद्धको खोप पाएका छैनन । संक्रमणका पहिलो, दोस्रो र तेस्रो लहरको कुरा गर्दा नागरिकलाई अत्याउन खोजेको जस्तो देखिएपनि सबधानी अपरिहार्य रहेको संक्रमण रोग विषेशज्ञ डा.अनुप सुवेदी बताउनुहुन्छ । कोरोना सक्रमणको दोस्रो लहरमा संक्रमित पहिचान हुनेको संख्या अझै पनि २० प्रतिशतको हाराहारीमा रहेको हुँदा अझै उच्च जोखिम यथावत नै रहेको सुवेदीको दाबी छ । निषेधाज्ञा विस्तारै खुकुलो हुन थालेकाले दोस्रो लहर नै फेरि फैलन सक्ने जोखिम पनि उत्तिकै छ । स्वास्थ्य सावधानीमा बेवास्ता गरेर तेस्रो लहर फैलिन्छ भन्नु जनतामा त्रास उत्पन्न गराउने काम भएको सुवेदीको तर्क छ । नेपालमा तेस्रो लहरको जोखिम नजिकिएको अर्का जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी बताउनुहुन्छ । तेस्रो लहरमा बालबालिका मात्रै जोखिममा पर्छन् भन्नु गलत रहेको उहाँको धारणा छ । त्यो लहरमा अहिलेसम्म संक्रमणबाट बचेका व्यक्तिहर पनि जोखिममा रहेको डा.बाबुराम मरासिनि बताउनुहुन्छ ।

भाइरसको बदलिँदो स्वरूपले थप चिन्ता र त्रास बढाइरहेको छ । त्यसमाथि विश्वका ११ देशमा देखा परिसकेको कोराना भाइरसको उत्परिवर्तित डेल्टा भेरियन्ट नेपालमा पनि देखा परि सकेको कारण यसले थप जोखिम निम्त्याउन सक्नेप्रति विज्ञहरुले सचेत गराइरहेका छन् । कोरोनाको तेस्रो लहरबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुको बिकल्प छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ