Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा विपद्ध : १८ दिनमा ३४ जनाको मृत्यु, २४ जना वेपत्ता

नेपालमा विपद्ध : १८ दिनमा ३४ जनाको मृत्यु, २४ जना वेपत्ता


काठमाडौं । मनसुन सुरुभएपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ३४ जनाको मृत्यु भएको छ । गत जेठ ३० यताको बाढीपहिरोमा परेर २४ बेपत्ता भएका छन् भने ४४ जना घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेमा १९ पुरुष, नौ महिला र छ बालबालिका रहेका छन् । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पामा तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई\दुई तथा ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक\एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

बाढी, पहिरो र डुबानमा परी २४ पुरुष, ११ महिला, ६ बालक र तीन बालिका घाइते भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यीमध्ये तनहुँमा १०, सिन्धुपाल्चोक र रोल्पामा पाँच÷पाँच, म्याग्दी, सर्लाही, कास्की र डोटीमा तीन\तीन, जुम्ला र गोरखामा दुई\दुई, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एक\एक जना घाइते भएका छन् । यस्तै बाढी र पहिरोमा १५ पुरुष, छ महिला, दुई बालक र एक बालिका बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २०, चितवनमा तीन र बाजुरामा एक जना बेपत्ता भएकोमा अहिलेसम्म पनि खोजी जारी रहेको जनाइएको छ ।

१२ सय ५० जनाको उद्धार
बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६५६, चितवनमा ४०२, सिन्धुपाल्चोकमा १२३, दोलखामा ३५, लमजुङ र सल्यानबाट आठ÷आठ, जाजरकोटमा सात, गोरखा र दाङमा चार÷चार र कञ्चनपुरमा तीन जना रहेका छन् ।

सडकमा क्षती
पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सञ्चालनमा आए पनि अझै धेरै सडक अवरुद्ध नै छन् । वर्षा जारी रहँदा ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरालगायतका जिल्लामा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाई सञ्चालन गराउने कार्य जारी रहेको छ । निरन्तरको झरीका कारण सडक खुल्ने र पहिरो खस्ने क्रम बारम्बार दोहोरिनेगरेको छ ।

यस्तो छ भौतिक क्षतीको विवरण
बाढीका कारण ३९७ घर डुबानमा परेका छन् । चार सय ९१ घर, ८४ वटा गोठ, ३८ वटा पुल, तीन विद्यालय र १० सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ४३ घरका चार हजार ९५५ जना बाढी, डुबा र पहिरोबाट विस्थापित भएका छन् । आठ सय दुई पशु चौपाय मरेका छन् । बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

अझै झरीको जोखिम
मनसुनी वर्षा जारी रहँदा देशका पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबान र बाढीको जोखिम बढेको छ । देशभर मनसुन सक्रिय भएसँगै परेको निरन्तरको पानीले कहाँ कतिबेला पहिरो खस्ने हो ? कुन खोला नदीमा बहाब बढेर बाढी आउने हो ? भन्ने त्रासमा बाच्नुपर्ने अवस्था छ । निरन्तरको झरीका कारण पहाडी क्षेत्रमा पहिरो र तराई तथा नदी तटिय क्षेत्रमा बाढी, डुबानको जोखिम रहेको भन्दै सतर्कताका लागि अपिल गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ