Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा, ६ महिनामा सञ्चालन हुने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा, ६ महिनामा सञ्चालन हुने


पोखरा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । विदेशबाट आउने जनशक्तिहरू जुलाई\अगस्टसम्ममा आउने व्यवस्था मिलाइएको र काम निरन्तर जारी राखेर ६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको इन्जिनियर कृष्ण पौडेलले जानकारी दिनुभएको हो ।

यही महिना भित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना सम्पन्न गर्ने समय पर धकेलिएको बताइएको छ । यो विमानस्थल निर्माणमा गत आर्थिक वर्ष २०७६\७७ मा ६१ प्रतिशत भौतिक प्रगति देखिएको थियो । चालु आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएको कोरोनाको दोस्रो लहरका कारण जारी भएको निषेधाज्ञामा सुस्त भएको थियो । मे महिनामै विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने योजना रहेपनि कोभिडको दोस्रो लहरका कारण रोकिएको थियो । ५०० जनशक्तिको ठाउँमा कोरोनाका कारण २०० हाराहारी जनशक्तिलाई मात्रै खटाएर निरन्तर काम अगाडि बढिरहेको छ । कोभिडले गर्दा चिनियाँ जनशक्तिमासमेत कमी आएको छ । हाल चिनियाँ जनशक्ति १६६ जना मात्र निर्माणमा खटिएका छन् । चिनियाँ जनशक्ति ३ सयका हाराहारीमा आवश्यक रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

अहिलेसम्म विमानस्थल निर्माणको काम ७९ प्रतिशत सकिएको जानकारी दिइएको छ । अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका कामहरू भइरहेका छन् । निषेधाज्ञाका कारण निर्माणको १ महिनाको प्रगतिमा कमी आउने आँकलन गरिएको इन्जिनियर पौडेलले जानकारी दिनुभयो । कुल २२ अर्ब रूपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माणको काम जारी रहेको छ । विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाअघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि हाल विमानस्थल निर्माणले अपेक्षित गति लिनसकेको छैन । निर्माण सम्पन्न मितिसमेत २०२१ डिसेम्बरका लागि सारिएको छ ।

विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बर महिनादेखि शुरु भएको हो । हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्दैछ । ८ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण गर्न लागिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ