Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपछिल्लो २० दिनमा बाढी र पहिरोबाट नेपालमा ३९ जनाको मृत्यु, ३१ वेपत्ता

पछिल्लो २० दिनमा बाढी र पहिरोबाट नेपालमा ३९ जनाको मृत्यु, ३१ वेपत्ता


काठमाडौं । बाढी, पहिरोजस्ता मनसुनी विवादका कारण पछिल्लो २० दिनमा मात्रै नेपालमा ३९ जनाको मृत्यु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले राष्ट्रियसभा बैठकमा जेठ ३१ देखि असार २० गतेसम्म बाढी पहिरोका कारण २२ जिल्लामा ३९ जनाको मृत्यु, ३१ जना बेपत्ता र ४६ जना घाइते भएको जानकारी दिनुभएको हो ।

मनसुनजन्य विपदका २२६ घटनाबाट २२ जिल्ला प्रभावित भएको पौडेलले जानकारी दिनुभएको छ । असार १६ गतेसम्म गएको बाढी पहिरोबाट विभिन्न जिल्लामा आंशिक र पूर्ण क्षति भएका ५७२ घर परिवारलाई अस्थायी बसोबास व्यवस्थाका लागि प्रति परिवार ५० हजार रुपैयाँ पठाएको उहाँले जानकारी दिनुभयो । विपदबाट सिन्धुपाल्चोक, मनाङ, लम्जुङ, कास्की, गोरखा, अर्घाखाँची, खोटाङ, तनहुँ, सर्लाही लगायतका जिल्लामा ५०५ निजी घर पूर्ण क्षति भएको र ११२ घरमा आंशिक क्षति भएको छ । असार १९ गते सुनसरीमा थला खोला, ट्याङ्ग्रा खोला, बुढी खोला, केशलिया खोला र धनुष खोलामा आएकोे बाढीले २०० घर डुवानमा परेका छन् ।

यस्तै बाढी पहिरो र डुवानका कारण ३६ सरकारी कार्यालय भवन, ९ वटा विद्यालय भवनमा पनि क्षति पुगेको छ । सिन्धुपाल्चोकमा ७, मनाङमा २, चितवनमा २, तनहुँ, मोरङ, उदयपुर र सिराहामा १–१ वटा गरी १५ वटा मोटरेबल पुलमा क्षति भएको छ । मनाङमा ५ वटा मोटरेबल काठेपुल, सिन्धुपाल्चोकमा १४, मनाङमा ७ र गोरखा र तनहुँ जोड्ने एउटा गरी २३ वटा झोलुङ्गे पुलमा क्षति भएको विवरण गृह मन्त्रालयले संकलन गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ