Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुजिता घटना सेलाउन नपाउँदै चितवनबाट अर्की २१ वर्षीया युवती वेपत्ता

सुजिता घटना सेलाउन नपाउँदै चितवनबाट अर्की २१ वर्षीया युवती वेपत्ता


चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले चितवन तातिरहेको बेला चितवनबाटै अर्की एक युवती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जानकारी दिएका हुन् ।

परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएपनि सापकोटाको अवस्था पहिचान हुन सकेको छैन । गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना कँडेलसँगै बाइकमा चढेर घरबाट गएका उनका बुबा जयेश्वर सापकोटाले बताउनुभएको छ । प्रहरीले बुवा छोरी बिच हराएकै दिन राति तीन पटक कुरा भएको जानकारी दिएको छ । भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग आफ्नी छोरी प्रेम सम्वन्धमा रहेको बिनाको परिवारले स्वीकार गर्दै आएको छ । बिना र प्रवेश दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसिपमा रहेको इन्फो राखेका छन् । कँडेल बिनाको घरमा आउ–जाउ गर्दथे । नौ महिना जति बेलायत बसेका ती युवक दाजुको बिहेमा सहभागी हुने भन्दै बैशाखमा नेपाल आएका थिए ।

ती युवकको घर नजिककै रहेकी अर्की एक युवतीसँग पनि नजिकको सम्वन्ध रहेको आशंका भएपछि बिनाले नै ती युवतीसँग भेटाउन र कुरा गराउन प्रवेशलाई आग्रह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ती युवतीको घर नजिकैको चौरमा बसेर कुराकानी गरेको बयान प्रवेशले प्रहरीलाई दिएका छन् । गैंडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले सोही स्थानमा युवतीको मोबाइलसमेत फुटेको भेटिएको जानकारी दिनुभयो । खटपट भएपछि बिना आफूलाई छक्काएर वेपत्ता भएको युवकले बताउँदै आएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक खनालले कँडेललाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको र प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँगसोधपुछ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिनुभएको छ ।

केटीको घर गैंडाकोट भएपनि घटना सबै चितवनमा भएकाले चितवन प्रहरीले नै यसको अनुसन्धान अघि बढाएर अन्य आसपासका ठाउँमा खोजी गरिरहेको छ । नवलपुर प्रहरी र चितवन प्रहरीको समन्वयमा अनुसन्धानलाई अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ