Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपोखराको फेवातालमा माक्स अनिवार्य गरेर डुङ्गा सञ्चालनमा

पोखराको फेवातालमा माक्स अनिवार्य गरेर डुङ्गा सञ्चालनमा


काठमाडौं । कोरोना महामारीका बिच नेपालका पर्यटकीय गन्तब्यहरुमा चहलपहल सुरु हुन थालेको छ । चितवनको सौराहमा आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल बढ्दा पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय गत सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।

डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर अहिले खुशी भएका छन् । निषेधाज्ञाका कारण घरमै बसेका उनीहरु पुनःव्यवसाय शुरु भएपछि उत्साहित भएका छन् । फेवातलामा नौ वर्षदेखि डुङ्गा चलाउदै आएका पोखरा महानगरपालिका–१८ सराङकोटका मजदूर लक्ष्मण परियारले निषेधाज्ञाका कारण आफूहरु समस्यामा परेको र व्यवसाय शुरु भएपछि उत्साहित भएको जानकारी दिनुभयो । फेवा डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले प्रशासनसँग समन्वय गरेर डुङ्गा व्यवसाय शुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको जानकारी दिनुभयो । भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना मात्र राखेर सञ्चालन गरिएको नेपालीले जानकारी दिनुभयो । यसअघिसम्म आठ÷नौ जनासम्म राख्ने गरिएको थियो । ‘यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक आठदेखि नौ डुङ्गा मात्र सञ्चालमा छन्, फेवातालमा डुङ्गा शुरु भयो भन्ने सन्देश दिन र निषेधाज्ञाबाट प्रभावित मजदूरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएका हौँ ।’ उपाध्यक्ष नेपालीले बताउनुभयो ।

तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने अझै बन्द अवस्थामा छ । मन्दिरमा दैनिक साँझमा गरिने आरतिसमेत केही समयदेखी रोकिएको छ । डुङ्गा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर मात्रै ल्याउने गरिएको छ । व्यवसायीका अनुसार फेवातालमा ७६४ र बाराहीघाटमा मात्र ३०० डुङ्गा रहेका छन् । निषेधाज्ञा जारी रहेकाले क्यू प्रणालीमा थोरै मात्रामा डुङ्गा सञ्चालनमा ल्याइएको समितिले जानकारी दिएको छ । कोरोना सङ्क्रमणबाट आफू पनि जोगिनु चुनौती रहेकाले मास्क नलगाउनेलाई डुङ्गा चढ्न रोक लगाइएको छ । ‘कोरोनाका कारण अहिले जस्तो सङ्कट कहिल्यै परेको थिएन, विस्तारै चहलपहल बढेपछि उत्साहित भएका छौँ’, उपाध्यक्ष परियारले भन्नुभयो । ‘यात्रु कम हुँदा डुङ्गाको पालो पाउनै गाह्रो छ, पहिला जस्तो आम्दानी पनि नभएको व्यवसायीहरुले बताउने गरेका छन् । अर्का डुङ्गा चालक बाबुराम पुरी निषेधाज्ञाका कारण परिवार पाल्न समस्या भएको बताउनुहुन्छ ।

पर्यटन व्यवसाय पहिलाकै अवस्थामा फर्किने विश्वास कतिपयले गरेका छन् । सम्भावित सङ्क्रमणबाट जोगिन आफूहरु पनि सचेत रहेको जानकारी दिने डुंगा चालकहरुले मास्क लगाउने, सेनिटाइज गर्ने गरेको र पर्यटकलाई पनि स्वास्थ्य मापदण्डको पालनाका लागि आग्रह गर्दै आएको बताउछन्



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ