सिङ्गापुर र जापानबाट फर्किएर नेपालमा ड्रागन खेती गर्ने सफल दाजुभाईको कथा
![](https://www.nepaltube.com.au/wp-content/uploads/2021/07/219942389_350707933163954_2846214825287267393_n.jpg)
काठमाडौं, चितवन । विदेशी भूमिमा श्रम र पसिना बगाउँदा मात्रै कमाउन सकिन्छ भन्ने हाम्रो बुझाईमा पछिल्लो समय परिवर्तन आउन थालेको छ । आफ्नै भूमिमा नयाँ काम गर्ने सोचका कारण विदेश छाडेर नेपालमा कृषिमा सक्रिय भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उहाँका भाइ ताइबहादुर गुरूङ यसका गतिलो उदाहरण हुन् ।
चार बिघा जमिनमा ड्रागन फ्रुट खेती गरेका यी दाजुभाई मध्ये एक भाइ सिङ्गापुरको लाहुरे,अर्को भाइ व्यवसायको क्रममा जापान थिए । विदेशमै रमाउँदै सुख सयलको जिन्दगी बिताउन कुनै कुराको कमी थिएन । तर विदेशको जागिरबाट अवकाशपछि नेपाल फर्किएर व्यावसायिक कृषिमा सक्रिय भएका छन्, ताइबहादुर । ताइबहादुर सिङ्गापुर गोर्खा कन्टिन्जेन्टबाट सेवा निवृत्त भएका हुन् । बाँकी जीवन स्वदेशमै सक्रिय भएर बिताउन पुर्खाको कृषि कर्ममा रमाएका उहाँसँगै व्यवसायको क्रममा लामो समय जापानमा काम गरेर दाइ पदमबहादुर पनि स्वदेश फर्किए ।
यस्तो छ दाजुभाईको ड्रागन खेती
तीन बिघा क्षेत्रफलमा १२ हजार बिरुवा रोपिएका छन् । दुई मिटर फरकमा तीन हजार वटा सिमेन्टका पोल गाडेर हरेक पोलमा चारवटा बिरुवा रोपेका दाजुभाईले अहिलेसम्म एक करोड २० लाख लगानी गरेको बताउँछन । यो खेतीलाई क्रमिक रुपमा थप्दै जाने योजना छ । डिप बोरिङ गरेर थोपा सिँचाइ प्रणाली अपनाइएको खेतीमा बिरुवालाई पानीसँगै मल दिने गरिएको छ । पानी लाग्ने तर नजम्ने तराई र भित्री मधेशमा ड्रागन फ्रुटको राम्रो व्यावसायीक सम्भावना रहेको छ ।
सुरुमा बिरुवा पाउन पाउनै समस्या झेल्नुपरेका गुरुङले काठमाडौं, काभ्रे,भारत र भियतनामसम्म पुगेर महँगो बेर्ना ल्याएका थिए । प्रति बोट पाँचसय रुपैयाँसम्म तिरेर बिरुवा ल्याउनु परेको स्मरण गर्ने गुरुङ भन्नुहुन्छ ‘अहिले आफैँले नर्सरी तयार गरेर बिरुवा बिक्री गर्दै आएका छौँ, ‘लगभग ६० हजार बिरुवा बिक्री गरिसकेका छौँ ।’ बिरुवाको प्रति गोटा दुई सयका दरले बिक्री गर्दै आएको जानकारी दिदैँ उहाँले अब यो लागत पनि कम गरेर सस्तोमा बिरुवा दिने तयारीमा रहेको बताए । ‘हामी ड्रागनको श्रोत केन्द्रको रुपमा विकास गर्दै छौँ’ कोही यो खेती गर्न रुची राख्नुहुन्छ भने हामी सहयोग गर्छौँ ।’ गुरुङले भन्नुभयो
चितवनका अन्य ठाउँमा पनि ड्रागन फ्रुट लगाइएको छ । जिल्लामा व्यावसायीक रुपमा एकै पटक यति धेरै बिरुवा लगाउने चाहिँ गुरुङ दाजुभाइ नै हुन् । गर्मीमा सप्रने यो फलको लागि चितवन निकै उपयुक्त ठाउँ देखिएको छ । सिउँडी प्रजातिको भएकाले ड्रागन फ्रुटलाई चर्को घाम लाग्ने चैत, वैशाख र जेठमा मात्र पानी दिए पुग्ने गरेका अनुभव गुरुङ दाजुभाईसँग छ । एकपटक लगाएपछि निकै वर्ष फल दिने, रोग–किरा कम लाग्ने र नयाँ पनि भएकोले ड्रागन फ्रुट लगाएको ताइबहादुर गुरुङले बताउनुभयो । माग बढ्दै गएको र बजारको पनि अभाव नदेखिएकाले सहज भएको छ ।
ड्रागनको उत्पादन र उपयोगिता
ड्रागन फ्रुटको बिरुवा लगाएको दुई वर्षमा फल्न थाल्छ । जेठदेखि कात्तिकसम्म ५–६ पटक फल दिन्छ । फल २५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । यो फल टिपेको १५ दिनसम्म नबिग्रने र किलोको पाँच सय रुपैयाँसम्म बिक्री हुनेगरेको छ । रसिलो, गुलियो र स्वादिलो फल ड्रागन फ्रुटमा १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यसबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिङ्क, वाइन र ब्रान्डी पनि बनाउन सकिन्छ । यसको फूलको तरकारी पनि स्वादिलो हुन्छ ।
यसको सेवनले शरीरमा क्यान्सर प्रतिरोधी शक्तिको विकास गर्न मद्दत पुग्ने,शरीरमा रहेको विषाक्त तत्वलाई हटाउनुका साथै रगतमा भएको उच्च कोलेस्टेरोल घटाएर उच्च रक्तचापलाई सन्तुलनमा ल्याउने बताइन्छ ।’भरतपुरमा रहेको वीपी मेमोरियल क्यान्सर अस्पतालका बिरामी र चिकित्सकहरुको अर्डर धेरै आउने गरेको छ’ गुरुङले भन्नुभयो ’अस्पतालका चिकित्सकहरु फिल्डमै आएर अवलोकन गरेर अर्डर गर्ने क्रम बढेको छ ।’ यो फल नियमित खाने मान्छेमा मुटु रोग, क्यान्सर, सुगर, ग्याष्ट्रिक, कब्जियत, कोलेस्टेरोल लगायतका रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
तीन किसिमको ड्रागन
ड्रागन फ्रुट तीन किसिमको हुन्छ–खाने भाग सेतो, रातो र बाहिरी भाग पहेँलो हुन्छ । बाहिर बोक्रा रातो र भित्र खाने भाग सेतो हुने ड्रागन फलमा बाहिर रातो र भित्र खाने भाग पनि रातो हुने प्रजातीको तुलनामा गुलियोपन कम हुन्छ ।भित्र–बाहिर रातो हुने ड्रागन फलमा गुलियोपन बढी भए पनि फल कम लाग्ने गर्छ । अहिले नेपालमा बाहिर रातो भित्र सेतो हुने ड्रागन फल बढी लगाइएको पाइएको छ । बोक्रा हल्का पहेँलो र खाने भाग सेतो हुने प्रजाति पनि हुन्छ, तर त्यसको पनि फल कम लाग्छ । गुरुङ दाजु भाईले सबै जातको ड्रागन खेती गरेको जानकारी दिए ।
ड्रागनको बोटमुनी अन्तरबाली समेत लगाउन सकिने छ । अन्तर बालीका रुपमा राजमा ,लसुन, प्याज,चुकन्दर तरभुर्जा, भेण्डी, खुसार्नी लगायतका तरकारी तथा फलफूल लगाउने गरिएको छ । अन्तरबाली लगाए र स्याहारसुसार गर्न सके राम्रो लाभ लिन सकिने गुरुङ दाजुभाई बताउँछन् ।
२० देखी ३० वर्षसम्म फल
ड्रागनको बोटले कम्तीमा पनि १२ वर्षसम्म उत्पादन दिइरहन्छ । १२ वर्षपछि बोटलाई एक फुटको उचाइमा काट्नुपर्छ । त्यसपछि फेरि त्यसले करिब १० वर्षसम्म उत्पादन दिन्छ । यसरी राम्रोसँग उचित स्याहारसुसार गरेर खेती गरेमा यसले २० देखि ३० वर्षसम्म फल दिन्छ । नेपालमा सुख्खा क्षेत्रमा रहेका बाँझो जमिनमा प्रशस्त खेती गर्न सकिने आँकलन गरिएको छ ।
ड्रागन खेती प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले विशेष सहयोग र प्याकेजको कार्यक्रम ल्याउनुपर्ने गुरुङ दाजुभाई बताउँछन् । यसको फललाई इनर्जी ड्रिङ्क, वाइन, ब्रान्डी, उच्चस्तरीय आइसक्रिम, शरीरमा लगाउने क्रिमलगायतका कुराहरु बनाउन पनि प्रयोग गरिन्छ । ड्रागनको फूलको पत्ता सुकेपछि यसबाट विशेष प्रकारको चियापत्ती बनाउन समेत उपयोगी हुने गुरुङले बताउनुभयो । उत्पादनमा वृद्धी र व्यवस्थित बजार बनाउन सके नेपालमा उत्पादन भएको ड्रागन विदेश पठाउन समेत सकिने बुझाई छ ।
तपाईको प्रतिक्रिया