Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवैशाखयता प्राकृतिक विपद्मा परेर नेपालमा १०७ जनाको मृत्यु, सरदरभन्दा बढी वर्षा

वैशाखयता प्राकृतिक विपद्मा परेर नेपालमा १०७ जनाको मृत्यु, सरदरभन्दा बढी वर्षा


काठमाडौं । यसपालि औसतभन्दा धेरै वर्षा भएकाले बाढी पहिरो र डुबानलगायत प्राकृतिक विपद्का घटना पनि बढिरहेका छन् । गृह मन्त्रालयका अनुसार बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर गएको वैशाख १ गतेदेखि अहिलेसम्म १ सय ७ जनाको ज्यान गएको छ । पहिरोमा ३३ जना, बाढीमा २७, डुबानमा ८, चट्याङ्ग लागेर ३८ र हावाहुरीका कारण एक जनाको ज्यान गएको हो ।

यसैबीच, आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । यस्तै, राति प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भन्दै मौसमविद्ले पहाडी तथा नदीतटिय क्षेत्रमा सावधान रहन सबैलाई सचेत गराएका छन् । बुधबार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

मनसुनको मध्यतिर आइपुग्दा नै नेपालमा सरदर भन्दा धेरै वर्षा भएको छ । नेपालमा चार महिना मनसुनी गतिविधि हुन्छ । त्यसमध्ये जुन महिना सकिइसकेको छ भने जुलाई पनि अन्तिम अन्तिम भइसकेको छ । अब अगस्ट र सेप्टेम्बर गरी दुई महिनासम्म मनसुनी गतिविधि सक्रिय हुनेछ । मौसमविद् मञ्जु बासीका अनुसार दुई महिना जुन र जुलाईमा नै नेपालमा सरदर वर्षा भइसकेको छ । २ सयभन्दा बढी वर्षा मापन केन्द्रमा लिइएको तथ्याङ्कले सरदर भन्दा बढी वर्षा भएको देखाएको छ । नेपालमा सरदर १ हजार ५ सय मिलीमिटर वर्षा हुन्छ । तर यसपालि मनसुनको दुई महिनामा नै योभन्दा बढी वर्षा भएको पाइएको छ । मनसुन भित्रिएको पहिलो महिना जुनमा सबैभन्दा धेरै देशको पश्चिमी क्षेत्रमा पानी पर्यो । जुलाई महिनामा भने पूर्वी क्षेत्रमा धेरै वर्षा भइरहेको पाइएको छ ।

नेपालमा सबैभन्दा धेरै लुम्लेमा वर्षा हुन्छ भने हुम्ला र जुम्लामा सबैभन्दा कम वर्षा हुनेगरेको छ । यसपालि मनसुन भित्रनु अगावै मौसमविद्ले औसत भन्दा बढी वर्षा हुने प्रक्षेपण गरेका थिए । अगस्ट र सेप्टेम्बरमा पनि पानी पर्ने हुँदा प्रक्षेपण गरिए अनुसार नै वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । गएको जुन ११ अर्थात जेठ २८ गते नेपालमा भित्रिएको मनसुन अब आउँदो सेप्टेम्बरमा बाहिरिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ