Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsलचक बन्दै अध्यक्ष ओली र नेता नेपाल, सम्भव होला त एकताबद्ध एमाले ?

लचक बन्दै अध्यक्ष ओली र नेता नेपाल, सम्भव होला त एकताबद्ध एमाले ?


काठमाडौं । तात्कालिन नेकपाबाट सुरु भएको आन्तरिक किचलोकै उपक्रमका रुपमा देखापरेको नेकपा एमालेभित्रको चरम बिवाद अझै यथावत छ । अध्यक्ष ओलीको अहंकारयुक्त छुद्र बोलिबाट असन्तुष्ठ बनेका वरिष्ठ नेता नेपालले पार्टीमा समानान्तर गतिबिधि जारी राखेका छन् ।

पार्टीको समुहिक निर्णय, विधि, पद्धती भन्दा माथी उठेर एकलौटी रुपमा नेता नेपाल र उनीपक्षीय नेताहरुमाथी कारबाहीको निसाना बनाएका अध्यक्ष ओलीले बारम्बार अपमानयुक्त अभिव्यक्ति दिइरहेका छन् । आफू पार्टी एकताको पक्षमा रहेको तर, अध्यक्ष केपी शर्मा ओलीले संकटमा परेपछि एकताको हतारो गर्ने गरेको आरोप नेता नेपालले लगाउँदैआएका छन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै फेरिएका अध्यक्ष ओली
अदालतको परमादेसले प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै निजी निवास बालकोट पुगेर बार्दलीबाट प्रधानन्यायाधीश अनि पार्टीका बरिष्ठ नेता नेपालविरुद्ध खनिएका थिए एमाले अध्यक्ष ओली । नेता नेपाललाई उनले गद्धारको संज्ञा मात्रै दिएनन यसपछिका केही अभिव्यक्तिमा समेत नेपाल बाहेकको पार्टी एकता उनलाई कुनै ठाउँ नरहेको भन्न भ्याए । तर अहिले परिस्थिति अलिक फेरिएको छ ।

बुधबार नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता ओली संसदीय दलको कार्यालय सिंहदरबार पुगे । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि पहिलो पटक संसदीय दलको कार्यालय पुगेका ओलीले पार्टी नेता र संसदबीचको कुराकानीका क्रममा केही नेताले अनुशासनको दायरा नाघेर जाने काम भएपनि एकताको लागि आफू लचिलो भएको र हुने बताए । ‘माधव नेपाल निकै पर पुगिसक्नुभएको अवस्था छ । तर त्यस्तो बाटो रोज्नु हुन्न’, अध्यक्ष ओलीले भने ‘विभाजनतिर लाग्ने हो भने त शेरबहादुर देउवालाई विश्वासको मत दिएकै दिन फरक निर्णय हुनसक्थ्यो ।’ यो लचकता एकतनबद्ध एमालेका लागि हो । प्रधानमन्त्रीबाट पदमुक्त भएयता वरिष्ठ नेता नेपाल विरुद्ध आक्रोशयुक्त अभिव्यक्ति दिँदै आएका ओलीको सिंहदरबारको भलाकुसारी र अभिव्यक्तिपछि नेताहरुले एकताबद्ध एमाले सम्भव भएको बताउन थालेका छन् ।

वरिष्ठ नेता नेपाल सम्मानजनक एकताका पक्षमा

आफू एकताको विपक्षमा नरहेको, तर पार्टीमा सबैले सम्मानको अनुभूति गर्ने वातावरण बन्नुपर्ने जिकिर गरिरहेका छन्, वरिष्ठ नेता नेपाल । ‘अहंकारविरुद्ध अर्धविद्रोह गरेका हौं । पूर्ण विद्रोह भएको छैन,’ माधव नेपाल भन्छन्, ‘पूर्ण विद्रोह भनेको पार्टी विभाजन हो । एकताको पक्षमा उभिएकाहरु विभाजनमा जानु पर्ने बाध्यता नआओस् ।’ ‘२८ फागुनमा केपी ओलीले हामी सबैलाई सामूहिक रुपमा निष्कासन गर्ने निर्णय गरेको हो । तर हामीले अर्धविद्रोह मात्रै गर्यौं, अलग पार्टी बनाएनौं,’ यो एकताबद्ध एमालेकै लागि हो, नेता नेपाल भन्छन् ।

नेता नेपालले एमालेको दोस्रो अध्यक्ष नबन्ने अडानसहित एकताका तीन विकल्प अघि सारेका छन् ।
– पहिलो विकल्पः दोस्रो नभएर समान हैसियतको अध्यक्ष हुनुपर्ने, दुई अध्यक्षमा सहमति भए ओलीसँगै आफू अध्यक्ष नबन्ने, वरिष्ठ नेता झलनाथ खनाल अर्को अध्यक्ष हुने

– दोस्रो विकल्पः अध्यक्ष मण्डल बनाउने, त्यस्तो अध्यक्ष मण्डल बनेमा ओली, खनाल र वामदेव गौतमले नेतृत्व गर्नुपर्ने ।

– तेस्रो विकल्पः ओली र आफू दुवैले पदीय जिम्मेवारीबाट बिदा लिने, नयाँ नेतृत्वले पार्टी चलाउने ।

यता, दशबुँदे सहमति जुटाएको कार्यदलका नेताहरु भने ओली र नेता नेपाल नरहेर एकता प्रक्रियाले पूर्णता नपाउने तर्क गरिरहेका छन् । व्यक्तिगत प्रस्ताव र आक्रोशले होइन, सँगै बसेर सहमतिमा पुग्नुपर्ने मम कार्यदल स्तरमा बलियो बनेको छ । गएको २७ असारमा दुवै पक्षका दोस्रो तहका नेताहरु सम्मिलित दश सदस्यीय कार्यदलले दशबुँदे सहमति गरे पनि एमाले विवाद यथावत छ । अध्यक्ष ओली र नेता नेपालले आ–आफ्नो समूहको समानान्तर गतिविधि कायमै राख्दा एकताबद्ध एमाले कायम रहला वा विभाजन होला भन्ने दुई कोणबाट बहस हुन थालेको छ । दुई पटक प्रतिनिधिसभा विघटन र पार्टी विभाजन गराउन तयार भएका ओली सुध्रने सम्भावना नरहेको र सहजै पार्टीमा एकता हुने नदेखेका नेता नेपाल र आक्रोस र अहंकारले भरिएका ओलीबीचको मिलन एमालेमा सम्भव होला त ? प्रश्न अनुत्तरित छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ