Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे सरकारी सेवा सुविधा नलिने घोषणा

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे सरकारी सेवा सुविधा नलिने घोषणा

मागसम्म ३ करोड २३ लाख खोप ल्याउने प्रतिबद्धता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेसँगै आलोचना भएको थियो । श्रेष्ठले आफू व्यवसायिक पृष्ठभूमीको भएपनि समाजसेवाको उद्देश्यले राजनीतिमा आएको र स्वार्थ नबाझियोस् भन्नका लागि व्यवसायिक आवद्धताबाट मन्त्री कायम रहँदासम्म राजीनामा दिने समेत बताएका छन् । । राज्यमन्त्री श्रेष्ठ लिटिल एन्जल्स स्कूल, प्राइम कमर्सियल बैंक, सिराइचुली होटल लगायत विभिन्न व्यवसायिक संस्थामा आवद्ध रहेका छन् ।

पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप नेपाल आइसक्ने
राज्यमन्त्री श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप नेपाल आइसक्ने बताएका छन् । चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्ने, भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने श्रेष्ठले जानकारी दिए । चीनको सिनोफार्म कम्पनीसँग ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ । अघिल्लो सरकारले नै यसको प्रक्रिया अघि बढाएको र आफू आएपछि सम्झौतामा हस्ताक्षर भएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

मोर्डनाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत रकम भुक्तानी गरेको बताए । अमेरिकी कम्पनी जोनसन एण्ड जसनसको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिदको प्रक्रिया अघि बढेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । १२ देखि १८ वर्ष उमेर समूहलाई हुने फाइजरको ६० लाख खोप खरिद प्रक्रिया प्रारम्भ भएको समेत राज्यमन्त्री श्रेष्ठको दाबी थियो । हालसम्म ९७ लाख खोप आइसकेको र कोभ्याक्स कार्यक्रममार्फत पनि १ करोड १३ लाख डोज खोप आउँदा ५ करोड २२ लाख ८२ हजार खोप उपलब्ध हुने राज्यमन्त्री श्रेष्ठ दाबी छ । अहिले नै वयस्क तथा किशोर किशोरीलाई लक्षित गरी कोभिड–१९ विरुद्ध १ करोड ५० लाख डोज खोपको खरिद सम्झौता भएको बताइएको छ ।

मन्त्री श्रेष्ठले तेस्रो लहरलाई मध्यनजर गरी पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीई लगायत अत्यावश्यक सामाग्रीको व्यवस्थापनलाई तिब्रता दिइएको जानकारी दिएका छन् । अतिरिक्त स्वास्थ्यकर्मी परिचालन गरी एन्टीजेन र पीसीआर परीक्षणलाई पनि व्यापक बनाइने दाबी गरेका स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाउने सरकारको योजना सफल पार्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

कोरोना महामारि रोकथामका लागि सरकारले २३ बुँदे कार्ययोजना नै बनाएको छ । कांग्रेसको घोषणापत्रमा उल्लेख भएअनुुसार सबै नेपाली नागरिकको स्वास्थ्य बीमालाई सुनिश्चित गर्ने बुँदालाई कार्यान्वयन गर्ने पनि राज्यमन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना मार्फत प्रतिबद्धता गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ