Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत एकअर्कासँग जोडिए

पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत एकअर्कासँग जोडिए


भैरहवा, काठमाडौं । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै पर्यटकीय गन्तव्य बुद्ध एयरको हवाई सेवा मार्फत एक आपसको उडानमा जोडिएका हुन ।

बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेसँगै चारवटा गन्तव्य एकअर्कासँगको हवाई उडानमा जोडिएका छन् । बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ । अब नियमित रुपमा आइतबार, बुधबार र शुक्रबार भरतपुर–भैरहवा उडान हुनेछ । “पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन लुम्बिनीवासीलाई सहज हुने भएको छ । नारायणगढ–बुटवल सडक विस्तारमा भैरहेको ढिलाई र अस्तव्यस्तताका कारण सडकमार्गको यात्रामा ब्यहोर्नुपरेको जोखिम र सास्ती हट्ने भएको छ ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताए । देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडानमार्फत जोडिँदै गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने होटल तथा पर्यटन व्यवसायीले विश्वास लिएका छन् । लुम्बिनीमा ठूलो सङ्ख्यामा पर्यटक आएर त्यहीँबाट भारततर्फ फर्कने गरेकोमा अब ती पर्यटकलाई चितवनसहितका गन्तव्यमा ल्याउन उडान महत्वपूर्ण हुने अध्यक्ष घिमिरेले बताए । सडकको यात्रा गर्नु नपरेपछि पर्यटकले अब छोटो समयमा धेरै ठाउँ घुम्न पाउने भएका छन् । पर्यटनविद् डा.विश्व सुवेदीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले अहिलेको हवाई उडान चितवनका लागि निकै महत्वपूर्ण हुने बताए । विभिन्न देशसँग उडानको सम्झौता भइसकेको भन्दै उनले चितवनका लागि छिट्टै अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा हुने जानकारी दिए । विश्वमा एक अर्बभन्दा बढी बौद्ध धर्मावलम्बी भएको भन्दै उनले उनीहरुको पहिलो गन्तव्य लुम्बिनी हुने र यो उडानले चितवनको सम्बन्ध महत्वपूर्ण हुने सुवेदीको दाबी थियो ।

चितवन जङ्गल सफारीका लागि देशकै पहिलो गन्तव्य हो । यहाँको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा जङ्गल सफारी गर्न पर्यटक आउने गर्दछन् । एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, चराचुरुङ्गी पर्यटकको रोजाइमा पर्ने गरेका छन् । काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिदा एकअर्काको पर्यटन प्रवर्धन तथा पर्यटक आदानप्रदानमा समेत टेवा पुग्ने आशा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ