Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा ७५ हजार स्वास्थ्यकर्मीको अभाव, एक जना चिकित्सकले १५० बिरामीको उपचार

नेपालमा ७५ हजार स्वास्थ्यकर्मीको अभाव, एक जना चिकित्सकले १५० बिरामीको उपचार


काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवालाई सबैका लागि सहज पहुँचमा पुर्याउने दाबी गरिरहेको छ । तर नेपालमा न पर्याप्त स्वास्थ्य संस्था छन्, नत चिकित्सक नै । जति स्वास्थ्य संस्था छन्, तिनीहरु समेत प्रभावकारी रुपमा चल्न सकेका छैनन् । पछिल्लो समय सार्वजनिक भएको तथ्याङ्कअनुसार नेपालमा अझै पनि झण्डै ७५ हजार स्वास्थ्यकर्मीको अभाव देखिएको छ ।

संविधानको मौलिक हकमा सबै नागरिकले स्वास्थ्य सेवा पाउने उल्लेख छ । तर संविधान वा कुनै ऐन, नियममा लेखेर मात्रै त्यो सुविधा पाउने सुनिश्चितता हुँदैन । लेखिएका कुरा कार्यान्वयन भएन भने त्यसको कुनै अर्थ रहँदैन । नेपालमा नागरिकको स्वास्थ्यसम्बन्धी हक अधिकारका लागि गरिएका वाचा र काम गराईमा यस्तै बेमेल देखिएको छ । जनसंख्याको तुलनामा अहिले देशभर झण्डै १५ हजारभन्दा बढि चिकित्सक र झण्डै ७० हजार नर्सको अभाव छ । विश्व स्वास्थ्य संगठनकाअनुसार नेपालको कूल जसंख्याका लागि ३० हजार चिकित्सकको आवश्यकता रहन्छ । तर जति आवश्यकता छ त्यसको आधा भन्दा पनि कम चिकित्सकले स्वास्थ्य सेवा दिइ रहेका छन् । २०४८ साल अगाडि कायम रहेको चिकित्सकको दरबन्दीले अहिलेसम्म स्वास्थ्य संस्थाहरु चलिरहेका छन् ।

४८ सालदेखि दरबन्दि थप गरिएको छैन् । सरकारले कोरोना महामारीका बेलामा समेत ज्यालादारी र करारमा स्वास्थ्कर्मी नियुक्त गरेको थियो । यस्तो पारीपाटीको अन्त्य गरिनु पर्ने माग नेपाल चिकित्सक सघंको छ । मुलुकमा जति चिकित्सक छन्, उनीहरु पनि सेवा सुविधा भएका स्थानमा मात्रै सरुवा हुन चाहन्छन् । यसै कारण विकटका जिल्लामा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव देखिन्छ । तरपनि सरकारले विकट क्षेत्रमा स्वास्थ्यकर्मी खटाउन सकेको छैन् । सेवा सुविधाका दिन नसक्दा दुर्गम स्थानमा चिकित्सक नै जान मान्दैनन् । यसका लागि सरकारले सबै स्वास्थ्य संस्थामा खटिने चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा पुनसर्वचार गर्नुपर्ने मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ बताउँछन् ।

स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकको अवस्था दयनीय छ । उनलै तत्कालै २० हजारको हाराहारीमा दरबन्दी थप गर्नुपर्ने भएकोले त्यही अनुरुप काम भइरहेको दाबी समेत गरेका छन् । यसले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्तिको अभावलाइ हटाएर दुर्गममा समेत चिकित्सकलाई खटाउन सकिने उनी बताउँछन् । कुनै बेला नेपाल मेडिकल काउन्सिलमा २४ हजार चिकित्सक दर्ता भएका थिए । तर अहिले त्यो संख्या घटेर १३ हजारमा झरेको छ । नेपालका अस्पताल लगायतका स्वास्थ्य क्षेत्रमा पर्याप्त सेवा सुविधा नपाउँदा चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरु विदेशीन क्रम बढ्दो छ । जसले गर्दा स्वास्थ्य उपचारबाट देशका अधिकांश नागरिक बञ्चित हुनु परेको छ ।

एउटा चिकित्सकले ५ देखि ७ जना विरामी मात्रै हेर्दा गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रवाह हुने विभिन्न अध्ययन र विश्व स्वास्थ्य संगठनको निष्कर्ष छ । तर नेपालकासरकारी अस्पतालहरुमा चिकित्सककै अभावले १ सयदेखि १ सय ५० जना भन्दा बढी विरामी एउटै चिकित्सकले हेर्नुपर्ने अवस्था छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ