Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसर्तसहित पर्यटकलाई अनअराइभल भिसा, नेपाली पर्यटन उद्योग चलायमान हुने आशा

सर्तसहित पर्यटकलाई अनअराइभल भिसा, नेपाली पर्यटन उद्योग चलायमान हुने आशा


काठमाडौं । सरकारले नेपाल आउने पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै अनअराइभल भिसा खुला गरिएको जानकारी गराएको हो । सर्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा विदेशी पर्यटकहरुको नेपाल आगमन बाक्लिने अपेक्षा गरिएको छ ।

नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा (आगमन विन्दुमै भिसा) दिइने भएको छ । यसक्रममा पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्छ । यात्रुको साथमा हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट भने अनिवार्य चाहिन्छ । पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमति देखाउनुपर्नेछ । पर्यटकले नेपालमा होटेल बुक गरेको प्रमाण समेत यात्राका क्रममा साथमै बोक्नुपर्ने यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा उल्लेख छ ।

नेपाली नियोगबाट भिसा लिदा के गर्ने ?
अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकको नेपाली नियोगबाट भिसा लिएर नेपाल आउन चाहने पर्यटकको हकमा समेत कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको हुनुपर्ने सर्त राखिएको छ । यसबाहेकका अन्य सर्त यथावत गरिएको छ । खोपको मात्रा पूरा नगरेका विदेशी नागरिकले भने सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिनु पर्नेछ । यस्ता पर्यटकको हकमा एजेन्सीमार्फत मात्र भ्रमणको अनुमति दिइने छ । अर्थात खोप नलगाएका पर्यटक एकल रुपमा आउन पाउने छैनन् । पूर्ण खोप प्राप्त नगरी नेपाल आएका पर्यटकले भने १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नु पर्ने व्यवस्था गरिएको छ । ११ औं दिनमा कोभिड परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आएमा उनीहरु गन्तव्यमा जान योग्य मानिनेछन् ।

अध्यागमन प्रवेश विन्दुमा एन्टिजेन परीक्षण
अब सबै विदेशी नागरिकको अध्यागमन प्रवेश बिन्दुमा नै एन्टिजेन परीक्षण हुने भएको छ । यस्तो परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा बस्नुपर्ने नियम बनाइएको छ । अध्यागमन विन्दुमा यस्तो परीक्षण नभएमा भने यात्रुले होटेलमा बसी यस्तो परीक्षण वा पीसीआर परीक्षण गर्नुपर्नेछ । नेपालमा गरिएको कोरोना परिक्षणको नतिजा नेगेटिभ आएपछि भने गन्तव्यमा जान पाइने भएको छ । नेपालमा हुने कोभिड–१९ परीक्षणको शुल्क विदेशी यात्रु स्वयंले तिर्नुपर्ने सर्त समेत नयाँ नियममा राखिएको छ । ट्राभल वा पर्वतारोहणमा आउने पर्यटकको जिम्मा सम्बन्धित पर्यटन एजेन्सीले नै लिनुपर्ने भनिएको छ । तोकिएको आदेश पालना नगर्ने पर्यटकलाई प्रहरीको जिम्मा लगाउने सर्त आदेशमा राखिएको छ ।

नेपाली र गैरआवासीय नेपालीको लागि छुट्टै व्यवस्था
नयाँ आदेश अनुसार कोभिड–१९ खोपको मात्रा पूरा गरेको १४ दिन पार गरेका नेपाली र गैरआवासीय नेपालीले गन्तव्यमा जान पाउने छन् । उनीहरुका लागि समेत ७२ घण्टा भित्रको पीसीआर परीक्षण नेगेटिभ आएको रिपोर्ट साथमै बोक्नुपर्ने भनिएको छ । यो विदेशमा बसोबास गरिरहेका नेपाली, भ्रमणमा गएका नेपाली र गैरआवासीय नेपाली सबैको हकमा लागु हुनेछ । अध्यागमन विन्दुमा कोरोनाको लक्षण देखिएमा भने उनीहरु सबैले एन्टिजेट परीक्षण गर्नुपर्नेछ । विशेष परिस्थतिका कारण नेपाल आउनुपर्ने नेपाली वा गैरआवासीय नेपाली र उनीहरुका परिवारलाई भने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरी घर जान दिइने नियमन बनाइएको छ । विशेष परिस्थतिमा अन्तिम संस्कारमा सहभागी हुनुपर्ने, दीर्घरोगी वा उनीहरुको कुरुवा, ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र ५ वर्ष भन्दा मुनीका नाबालक र उनीहरुको अभिभावकलाई राखिएको छ ।

कुटनीतिक नियोगका व्यक्तिको हकमा गरिएको व्यवस्था
पूर्ण खोप लगाएको १४ दिन पुगेका कुटनीतिक नियोगमा कार्यरत कर्मचारी तथा पदाधिकारीलाई पीसीआर परीक्षणका आधारमा गन्तव्यमा जाने दिइने भएको छ । यस्ता व्यक्तिमा कोरोनाको लक्षण देखिएमा भने विमानस्थल वा अध्यागमन विन्दुमा कोभिड एन्टिजेन परीक्षण गर्नुपर्नेछ । कुटनीतिक नियोगको सिफारिसमा नेपाल आउने विदेशीले भने १० दिन क्वारेन्टिनमा बस्ने सर्तसहित गन्तव्यमा जान पाउने भनिएको छ । कोभिड नियन्त्रणमा आउने विदेशी स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयको सिफारिसमा प्रवेश अनुमति पाउने भएका छन् । सरकारी कार्यालयको सिफारिसमा विदेश पुगेर फर्कने कर्मचारीले १० दिन होम क्वारेन्टिनमा बस्ने गरी गन्तव्यमा जाने अनुमति पाउने छन् ।

कोभिड–१९ नेगेटिभ आएको रिपोर्ट देखाएमा भारतीय नागरिकले स्थलमार्गमार्फत प्रवेश पाउने छन् । अब नेपाल–भारत सीमाबाट भारतीय नागरिकले समेत सहजै प्रवेश पाउने भएका छन् । यसका लागि यात्रुको साथमा ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने नियम बनाइएको छ । स्थलमार्गबाट नेपाल आउने तेस्रो मुलुकका नागरिकको हकमा भने खोपको मात्रा पुरा गरेको र ७२ घण्टा भित्रको रिपोर्ट साथमा हुनुपर्ने नियम यथावत छ ।

बेखर्ची भएर फर्केका नेपालीलाई घर जान दिइने
वैदेशिक रोजगारीमा गएका तर, सम्बन्धित मुलुकले फिर्ता गरेका, विदेशबाट डिर्पोट भएका वा बेखर्ची अवस्थामा स्वदेश फर्किएका नेपालीले भने कोभिड १९ खोप पुरा गरेको अवस्थामा र ७२ घण्टा भित्रको पीसीआर परीक्षणका आधारमा सिधै घर जान पाउने नियम बनाइएको छ । खोप नलगाएको हकमा उनीहरुको एन्टिजेन परीक्षण हुनेछ । पोजेटिभ आएमा आइसोलेसनमा र नेगेटिभ आएमा घर जान पाउनेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रवेश गर्ने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनुपर्ने भएपनि स्थान छनोटको जिम्मा पर्यटन र गृह मन्त्रालयलाई दिइएको छ । सर्तसहित अनअराइभल भिसा खुलेसँगै पर्यटन व्यवसायीहरु भने नजिकिएको सिजनमा बाह्य पर्यटकहरुको नेपाल आगमन बढ्ने र नेपाली पर्यटन उद्योग चलायमान हुने आशामा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ