Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज विश्व मुटु दिवस, नेपालसहित विश्वभर सचेतनामुलक कार्यक्रम गरिदै

आज विश्व मुटु दिवस, नेपालसहित विश्वभर सचेतनामुलक कार्यक्रम गरिदै


काठमाडौं । आज विश्व मुटु दिवस, नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाईंदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । यो वर्षको विश्व मुटु दिवसको नारा युज हर्ट टु कनेक्ट भन्ने रहेको छ ।

दिवसका अवसरमा मुटुलाई स्वस्थ राख्ने उपायबारे चेतनामूलक कार्यक्रम हुँदै आएका छन् । नेपालमा पछिल्लो समय अस्वस्थ तथा असन्तुलित खानपान, विलासी जीवन र लापरबाहीका कारण मुटु रोगका बिरामी बढ्दै गएका छन् । यसले दिवसको प्रभावकारितामै प्रश्न उब्जाएको छ । नेपालमा २५ प्रतिशत अर्थात झण्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित रहेका सरकारी तथ्याङ्क छ । मुटु रोगीको संख्या नेपालमा १० वर्षयता ५ गुणाले बढेको छ । १०–१५ वर्ष अगाडि ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा अहिले युवा र बालबालिकालाई नै मुटु सम्बन्धी समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

धेरैले आफ्नो मुटुलाई माया गर्न नजान्दा रोगले च्यापेको मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी बताउछन् । खानपान र जीवनशैलीमा ध्यान दिए, वर्षमा एक पटक भए पनि स्वास्थ्य परीक्षण गरे मुटु रोगबाट बच्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको संख्या बर्सेनि साढे २ करोड पुग्ने अनुमान गरेको छ । नेपाल लगायतका विकासोन्मुख देशमा हृदयघात भएर ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ भने २० प्रतिशतलाई कोलेस्टेरोल छ । यस्तै, १० प्रतिशतलाई मधुमेह छ । जाँड रक्सी तथा चुरोट सुर्ती नखाए, चिल्लो, पिरो, बोसो, भुटेका र तारेका खानेकुरा नखाए मुटुलाई जोगाउन सकिन्छ ।

यस्तै, हरियो सागपात धेरै खाने, प्रशस्त पानी पिउने, पोषणयुक्त सन्तुलित खाना खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने डाक्टरले बताएका छन् । अहिले कोरोना भाइरसको सङ्क्रमणका कारण मुटुरोग भएका बिरामी बढी समस्यामा परेका छन् । बेलैमा उपचार नपाउँदा केहीको ज्यान गएको छ । सरकारले मुटुरोगीलाई एक लाख रुपैयाँ बराबरको औषधि र उपचार निः शुल्क गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ