Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका यी ५ खबर, पढ्न छुटाउनुभयो कि ?

नेपालका यी ५ खबर, पढ्न छुटाउनुभयो कि ?


काठमाडौं । कांग्रेसले कोरोना महामारिका कारण चियापान नगर्ने भन्दै गरेको निर्णय, बढी भाडा लिने बिचौलिया प्रहरीबाट पक्राउ परेको, १८ महिनापछि सिनेमाहल सञ्चालनमा आएको खबरसहित नेपालका यी ५ खबरहरु :

कांग्रेसले चियापान समारोह आयोजना नगर्ने
नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस पटक पनि नगर्ने भएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीवार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै चियापान कार्यक्रम नगर्ने बताउनुभएको हो । विज्ञप्तिमा खोप अभियान सफल बनाउन जुट्नु र नागरिकको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य भएको उल्लेख गरिएको छ । पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि पनि कांग्रेसले अपिल गरेको छ । महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास व्यक्त गरेको कांग्रेसले विज्ञप्तीमार्फ स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

बढी भाडा लिने बिचौलिया पक्राउ
काठमाडौंबाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ बिचौलिया पक्राउ परेका छन् । बिहीवार ट्राफिक प्रहरीले चितवनको भरतपुर घर भएका ३८ वर्षीय समीर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बू र सुनसरीका २८ वर्षीय सविन राई, टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाण्डौका ४६ वर्षीय राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ र कैलालीका रमेश कठायतलाई काठमाडौंको गोङ्गबुबाट पक्राउ गरेको हो । कलङ्कीबाट ३९ वर्षीय नवीन केसी, बल्खुबाट शुभयात्री काउन्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भइ कीर्तिपुर बस्ने नारायणी काउन्टरका विनोद रानालाई समेत पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । चाडबाडमा हुने ठगीलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा परिचालित टोलीले उपत्यकाको विभिन्न क्षेत्रमा गरेको जाँच अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुका समस्या समाधान गर्दै आएको छ ।

सिनेमाहल खुले दर्शक पुगेनन्
दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाहलहरू बिहीबारदेखि सञ्चालनमा आएका छन् । दसैँको मुखमा सिनेमा हल खोलिएपनि दर्शकको उपस्थिति भने न्यून देखिएको छ । काठमाडौँ, पोखरासहितका ठूला शहरका मल्टिप्लेक्सले मध्यान्ह १२ बजेदेखि अंग्रेजी चलचित्र प्रदर्शन गर्दै १८ महिनापछि हल पुनः सञ्चालनमा ल्याइएका हुन । बिहीबार देशभरिका हलमा हलिउड चलचित्र ‘फास्ट एण्ड फ्यूरियस ९’ र ‘नोबडि’ प्रदर्शन भयो । असोज २६ गतेदेखि नेपाली चलचित्र डाँडाको वरपीपल र २८ गते जेम्स बन्ड चलचित्र ‘नो टाइम टू डाइ’ प्रदर्शन हुँने बताइएको छ । चलचित्र संघले लामो प्रयासपछि हल खोल्ने वातावरण बनेको थियो ।

७ वाणिज्य बैंकबाट आभांश घोषणा
सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव राष्ट्र बैंक समक्ष गरेका हुन् । बिहीबार बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेसनलले लाभांशको प्रस्ताव गरेपनि राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको र केहीको स्वीकृत हुन बाँकी रहेको बताइएको छ ।

हिमालयन बैंक लिमिटेडका अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ । बिहीबार अधिकारीले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात बिहिबार नै बैंक अध्यक्षको पद बहाली गर्नुभएको छ । श्रेष्ठलाई आश्विन १३ गते बुधबारका दिन बसेको ४११ औं सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको थियो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिमा क्रियाशिल हुनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ