Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमाले महाधिवेशनको प्रक्रिया सुरु, एकैसाथ छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

एमाले महाधिवेशनको प्रक्रिया सुरु, एकैसाथ छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न


काठमाडौं । नेकपा एमालेले शनिबार देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरो प्रभावित केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन शनिबार एकसाथ सम्पन्न गरिएको जानकारी दिएका हुन् ।

“करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ, हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” सचिव तामाङले भने । वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

एमालेका हरेक कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । बाढी, पहिराका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताइएको छ । देशैभरिका वडा अधिवेशनको उद्घाटन पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकसाथ गरेका थिए ।

राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप शनिबार पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तय भएको छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा १० औँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेर तयारी समेत थालेको छ । Pic : RSS



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ