Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच भनाभन, यस्ता छन् बैठकका निर्णय

एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच भनाभन, यस्ता छन् बैठकका निर्णय


काठमाडौं । शुक्रबारको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ । अध्यक्ष ओलीले शुक्रबार रुष्ट रहेका प्रभु साहलाई मनाउन उनी निकट दुईजनालाई केन्द्रीय सदस्यको सपथ गराएपछि उपाध्यक्ष रावलले त्यसको विरोध गरे ।

रावलले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने जिकिर प्रस्तुत गरिरहँदा बैठकमा अध्यक्ष ओलीले १० बुँदेको औचित्य समाप्त भइसकेको जवाफ फर्काए । १० बुँदेको बिवादलाई लिएर केही समय दुई नेताहरुबीच भनाभनको स्थिति नै उत्पन्न भयो । अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट नसकेर राजीनामा दिएकाले अब कार्यदल पनि नरहेको र १० बुँदेको औचित्य पनि समाप्त भएको बताउँदा आफूले नसकेरभन्दा पनि सहमति कार्यान्वयन नभएकाले राजीनामा दिएको जिकिर रावलले गरेका थिए ।

दुई नेताबीच लामो समय भनाभन जारी रहेपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुले तिक्ततापूर्ण माहौँललाई शान्त बनाएका थिए । बैठकको भनाभनकै क्रममा केन्द्रीय सदस्यहरुले स्थायी कमिटीको समस्या स्थायी कमिटीबाटै समाधान गर्नुपर्ने बताएका थिए । अध्यक्ष ओली शुक्रबारको बैठकमा उपाध्यक्ष रावल विरुद्धमा मात्रै खनिएनन् उपमहासचिब घनश्याम भुसाललाई पनि जवाफ दिन भ्याए । भुसालले अध्यक्ष ओलीलाई चिठि लेखेको बारे प्रतिक्रिया दिएका उनले चिठि लेख्न आवश्यक नभएको र सो चिठिको जवाफ दिन पनि आवश्यक नभएको बताएका थिए ।

अब एमाले महाधिवेशन प्रतिनिधिको संख्या १९९९
नेकपा एमालेको १० औँ महाधिवेशनमा १९९९ जना प्रतिनिधिले भाग लिने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेकोमा शुक्रबारको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ बनाउने निर्णय गरेको हो । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट २७ कात्तिकमा गर्ने जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ