Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअध्यक्ष मिश्र र संयोजक पाण्डे बीच वैचारिक मतभेद, फुटको संघारमा विवेकशील साझा

अध्यक्ष मिश्र र संयोजक पाण्डे बीच वैचारिक मतभेद, फुटको संघारमा विवेकशील साझा


काठमाडौं । वैचारिक मतभेत र विचलनका कारण बैकल्पिक राजनीतिक शक्ति दाबी गर्दै आएको विवेकशील साझा पार्टी फुटको संघारमा पुगेको छ । एक पटक फूटिसकेको यो पार्टीमा फेरि अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे पक्षले केन्द्रीय समितिको अलग अलग बैठक बोलाएसँगै दोस्रो पटक फूटको संघारमा पुगेको हो ।

मुलुकमा वैकल्पिक शक्तिका रुपमा उदाएको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र पक्ष र पार्टी संयोजक मिलन पाण्डे पक्षबीचमा वैचारिक मतभेद उत्पन्न हुँदा पार्टी पंक्ति नै बिभाजित बनेको छ । पूराना राजनीतिक शक्तिलाई विस्थापित गरेर कल्याणकारी तोकतन्त्र स्थापना गर्दै गुणस्तरीय शिक्षा र सवैका लागि निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, विकृति विसंगति र भ्रष्टाचारविरुद्ध सामाजिक सुरक्षा र समानताको मुद्दा अघिसारेर गठन भएको यो पार्टी अहिले आफ्नै राजनीतिक मुद्धामा बिचलित देखिन थालेको छ ।

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले कात्तिक ११ गते बिहीबार बोलाएको बैठकमा विचारभन्दा माथि देश हुन्छ भन्दै मार्ग परिवर्तनको संकेत गरेको छ । मिश्रको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई सुदृढ र पुर्नसंरचना गर्नुका साथै संघीयताको खारेजी र धर्मनिरपेक्षतामाथि जमतसंग्रह गर्नुपर्ने अवधारण अघि सारेको छ । मिश्रले बोलाएको बैठकमार्फत एक सय २९ जना केन्द्रीय सदस्यमध्ये ९१ जना अर्थात दुईतिहाइले अध्यक्षले अघिसारेको प्रस्ताव पास गरेको दाबी गरिएको छ । बैठकले अध्यक्षलाई थप शक्तिशाली बनाउन कार्यकारी भूमिका प्रदान गर्नुका साथै पार्टीको विधान पनि संशोधन गरेको छ ।

अध्यक्ष मिश्रले पश्चगामी शक्तिसँग तालमेल गरेको भन्दै मिश्र पक्षले गरेको निर्णयकाविरुद्ध पार्टी संयोजक मिलन पाण्डेले शुक्रबार अलग्गै केन्द्रीय समितिको बैठक बोलाएका छन् । पाण्डेले मिश्रको वैचारिक कदमकाविरुद्ध कदम चाल्ने दाबी गरेका छन् । पाण्डेले आफ्नो पक्षमा केही सचिवालय सदस्यसहित ५० जना केन्द्रीय सदस्य रहेको दाबी गरेका छन् । संयोजक पाण्डेले अध्यक्ष रविन्द्र मिश्र पक्षमा देखिएको विचलनकाविरुद्ध संविधानको पालना, संघीय गणतन्त्रको रक्षा र धर्मनिरपेक्षता र समावेशीताको पक्षमा वैचारिकरुपमा दृढ भइ जनताका बीचमा जाने दाबी गरेका छन् ।

मिश्र पक्षले केन्द्रीय समितिमा दाबी गरेको दुई तिहाइ सदस्यकाविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भनेका छन् । जनजीविकाका मुद्दा अघिसारेर वैकल्पिक शक्तिकारुपमा आफूलाई स्थापित गर्नुपर्ने राजनीतिक दलका नेतामा देखिदैआएको वैचारिक संघर्ष र विचलनले जनताको समस्या सधै ओझेलमा पर्ने गरेको छ । अर्कातिर यस्ता परिदृश्यले जनतामा राजनीतिक दलप्रतिको विश्वास घटेर थप निरासा बढ्ने देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ