Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआधुनिक न्यायालयको सुरुवात, ३७ दिनपछि न्यायाधीशहरु इजलासमा फर्किँदै

आधुनिक न्यायालयको सुरुवात, ३७ दिनपछि न्यायाधीशहरु इजलासमा फर्किँदै


काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएसँगै न्यायाधीशहरु काममा फर्किने भएका छन् । गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भए पछि गएको कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू पनि इजलासमा फर्किँने भएका हुन ।

न्यायाधीशहरु ३७ दिनपछि इजलास फर्किन लागेका छन् नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रक्रियाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देखिएका विकृति र विसंगति कम हुने अनुमान गरिएको छ ।

सुरुमा न्यायाधीशहरूले गोला तानेर आफ्नो इजलासका लागि सहकर्मी न्यायाधीश छनोट गर्नेछन् । उपस्थित न्यायाधीशको संख्याका आधारमा इजलास टुंगो लागिसकेपछि इजलासले कुन मुद्दा हेर्ने भन्ने निर्धारण गर्न अर्को गोला तानिनेछ । यसरी पेसी तोक्दा कुन मुद्दा कुन न्यायाधीशको इजलासमा दिने भन्ने प्रधानन्यायाधीशको स्वविवेकीय अधिकारमा कटौती हुनेछ  । आज संवैधानिक इजलास, संयुक्त इजलास र एकल इजलास बस्ने दिन भएकाले आजबाटै अदालतमा बिचाराधिन मुद्धाहरु प्रक्रियागत रुपमा अघि बढ्ने विश्वास गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका कारण अदालतमा अनुपस्थित हुनेछन् । आज कायममुकायम प्रधानन्यायाधीशका रूपमा दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास बस्न सक्नेछ । तर, जबरा औपचारिक बिदामा नबसे आज संवैधानिक इजलास बस्न पाउने छैन । एकल र संयुक्त इजलास पनि नियमित हुनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ