Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews३१ वर्षअघि अष्ट्रेलियामा बनेको पशुपति नाथ मन्दिर यस्तो छ । भिडियो रिपोर्ट

३१ वर्षअघि अष्ट्रेलियामा बनेको पशुपति नाथ मन्दिर यस्तो छ । भिडियो रिपोर्ट


सरल गुरुङ

जति हेरेपनि हेरु हेरु लाग्ने । नेपाली काष्ठकलाको यो अनुपम संयोजन । टुडाल, ढोका र दलिनहरुमा कुदिएका कलाले यहा पुग्ने जो कसैको ध्यान खिच्छ । धेरै नेपालीले गर्व गर्ने यो संरचना नेपाली मौलिख प्यागोडा शैलीमा बनेको छ ।

यो अष्ट्रेलियाको क्विन्सल्याण्ड हो । अनि यो ब्रिजवेन शहर । शहरको मध्य भागमा छ साउथ बैक । यस पर्यटकिय केन्द्रको मुटुमै छ नेपाली प्यागोडा शैलीको मन्दिर ।
चिटिक्क मिलेको यस मन्दिरको टुडाल, दलिन र ढोकाहरुको काष्ठकला हेर्दा लाग्छ यो कुनै मल्लकालिन दरवारकै एक हिस्सा हो ।
पशुपति नाथ मन्दिरको आकारमा ठडिएको यो संरचनाको मुलद्धारमा उभिएका हात्ति र सिंहको मुर्तीले शुभलाभको संकेत गरिरहेको छ । मुल मन्दिर परिसरमा रहेका अन्य तीन ससना प्यागोडा मन्दिरले यसको सुन्दरता थप बढाएको छ । दुइ तल्ले मन्दिरको बिच भागमा मुर्ती भएपनि यहा पुजाआजा भने हुदैन ।
ब्रिजवेन पुग्ने जो कसैको लागि आकर्षणको केन्द्र बनेको यो स्थानले नेपालको प्रचारप्रसारमा निकै ठुलो भूमिका खेलेको छ । यहा पुग्ने जो कोही यसको तस्बिर लिन र नेपालको काठकलाबारे बुझ्न लालहित हुन्छन् । विदेशीको त के कुरा नेपाली पनि यसको सुन्दरता देखेर तिन छक पर्छन् ।
मन्दिर बाहिर राखिएको सिला लेखमा यस बारे सम्पूर्ण विवरण लेखिएको छ । जसमा भनिएको छ, सन् १९८८ को विश्व व्यापार सम्मेलन ताका निमार्ण गरिएको यो प्यागोडा मन्दिर अष्ट्रेलिया भरि केवल एउटा मात्र छ । पशुपति नाथ मन्दिरको आकारमा बनाइएको यो मन्दिर नेपाल बाहिरको तीन प्यागोडा मध्ये एक हो ।
हुन पनि सन् १९८८ मा वेलायति रानी एलिजावेथबाट उद्घाटन भएको व्रिजवेन विश्व व्यापार सम्मेलनमा नेपाली यो कृतिले धेरैको ध्यान खिचेको थियो । नेपालबाट आएका १ सय ६० जनाको कलाकारले दुइ वर्ष लगाएर बनाएको यो मन्दिरमा नेपालबाटै ल्याएको ८० टनभन्दा बढी काठ प्रयोग भएको छ । सम्मेलनमा ३६ वटा राष्ट्रका संस्कृति झल्किने संरचनाहरु प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनी सकिएपछि अरु देशका संरचाना भत्काएर लगियो भने नेपालको यो काष्ठकला भने अष्ट्रेलियनको मुटुबाट हटन सकेन । त्यसैले दुइ अष्ट्रेलियन नागरिक फ्रयांक र मार्या पिटको आर्थिक सहयोगमा अष्ट्रेलियन सरकार र ब्रिजवेन सिटी काउन्सिलले नेपाली प्यागोडा मन्दिरलाई सदाका लागि जिवन्त गरिदिए ।
३१ वर्षदेखि व्रिजवेनको मुटुमा चम्किरहेको यो मन्दिरले नेपाली कलासंस्कृतिलाई विश्व बजारमा चिनाइरहेको मात्रै छैन, बरु नेपालीकै शान समेत बढाइरहेको छ ।

स्थानिय काउन्सिलसंग मिलेर गैर आवासिय नेपाली संघले यहा पुग्ने पर्यटकलाई नेपालबार अरु थप जानकारी उपलब्ध गराउन सके, नेपालको पर्यटनमा थप टेवा पुग्ने थियो ।

भिडियो रिपोर्ट हेर्न यहा थिच्नुहोस्

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ