डिसेम्बर ३० मा ब्रिजवेनमा गुरुङ ल्होछारको विशेष कार्यक्रम हुदै, सहभागी हुन खोप अनिवार्य
ब्रिजवेन/कुइन्सल्याण्डका गुरुङ समुदायले डिसेम्बर ३० तारिखमा ब्रिजवेनमा ल्होछार मनाउने भएका छन् । ल्होछार अर्थात नयाँ वर्षको अवसर पारेर तमु कम्युनिटी ब्रिजवेनले विशेष कार्यक्रमको आयोजना गर्दैछ । पुस १५ तमु ल्होछारकै दिन पारेर कम्युनिटीले ब्रिजवेनको मिचेल्टनस्थित सामुदायिक भवनमा ल्होछारको कार्यक्रम गर्न लागेको तमु अगुवा कमल गुरुङले जानकारी दिनुभयो । कार्यक्रम आयोजना गर्न विभिन्न समुह बनाएर जिम्मेवारी बाडफाड भइसकेको गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रम स्थलमा दिउसोबाटै तमु र गैर तमुहरु जम्मा भएर परम्परागत खेल छेलो हान्ने प्रतिष्प्रर्धा हुनेछ । साँझपख भने सभा हलमा ल्होछारको औपचारिक कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा गुरुङ जातिका लोकप्रिय नृत्य, गित र संगित समेत प्रस्तुत हुनेछन् । त्यस्तै पाहुना र सहभागीका लागि रात्रीभोजको समेत व्यवस्था गरिएको कम्युनिटीले जनाएको छ । यसपालीको ल्होछारको कार्यक्रमा दोस्रो पुस्ताका गुरुङ केटाकेटीलाई यस पर्वको महत्व बुझाउनका लागि विशेष रुपमा सहभागी समेत गराइने भएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि ३० डलर टिकट शुल्क राखिएको छ । १२ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकालाई भने प्रवेश निशुल्क गरिएको छ । कार्यक्रममा सहभागी हुनका लागि राज्यको नियम अनुसार दुबै खोप अनिवार्य लगाएको हुनुपर्ने कम्युनिटीले जनाएको छ । कोरोनाको नियम पालना गर्दै सबै तमु र गैर तमुलाई ल्होछारको कार्यक्रममा सहभागी भएर नेपाली चाडलाई भव्यताका साथ मनाउनका लागि कम्युनिटीले सबैमा आग्रह समेत गरेको छ ।
गुरुङ अर्थात तमु जातिको नयाँ वर्षलाई ल्होछार भनिन्छ । १२ वटा जनावर रहेको गुरुङ पात्रोमा हरेक वर्ष एउटा जनावरले भोग गर्छ । पात्रो अनुसार पुस १५ मा जनावर परिवर्तन हुने दिनलाई गुरुङहरुले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । यसपाली गुरुङहरुले गाई वर्षलाई बिदाई गरि बाघ वर्षलाई स्वागत गर्दैछन् । गुरुङ चलन अनुसार जुन जनावरको बेलामा मानिसको जन्म भयो उसको वर्ग पनि त्यहि जनावरको नामबाट राखिने गरिन्छ । गुरुङ समुदायमा वर्गको महत्व अन्य समुदायको चिना जस्तै हो ।
ट्याग : #Australia, #brisbane, #gurung, #lhosae 2021
तपाईको प्रतिक्रिया