Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखुसिको खबर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै अब मेडिकल शिक्षा !

खुसिको खबर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै अब मेडिकल शिक्षा !


जुम्ला, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ करोड रुपैयाँ लागतमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शीलान्यास गरेसँगै एमबीबीएस, बीएनएस, बीफार्मालगायतका शैक्षिक कार्यक्रम शुभारम्भ भएको घोषणा गरिएको हो ।

रजिष्ट्रार नृपेन्द्र महतले राष्ट्रपति भण्डारी आज ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट जुम्ला आइपुगेर ‘क्वार्टर र एकेडेमिक भवनको शिलान्याससँगै शैक्षिक कार्यक्रमको शुभारम्भ गरिएको जानकारी दिनुभयो ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुनले जुम्ला पुगेर राष्ट्रपतिलाई स्वागत गरेका थिए । एमबीबीएसमा १९, बीपीएचमा आठ, बीएनएसमा १६, बिफार्मामा आठ र बीएमएसमा ११ विद्यार्थी भर्ना भएको प्रतिष्ठानले जानकारी दिएको छ । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको बताइएको छ । पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पुयाउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ ।

अहिले स्नातकोत्तर तहको एमडीएमएस कार्यक्रमलगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । एमबीबीएस, बिएनएस, बिफार्मालगायतका संकायहरु सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल देशको दुर्गममा समेत मेडिकल शिक्षाको पँहुच विस्तार गर्न अब्बल बन्ने विश्वास गरिएको छ ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, डा गुणराज लोहनी र डा रमेश ढकालको सहभागिता रहेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ