Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaयी कुरा बुझेर मात्रै अष्ट्रेलिया पढ्न आउनु होला

यी कुरा बुझेर मात्रै अष्ट्रेलिया पढ्न आउनु होला


ब्रिजवेन/ म फेरी पनि भन्छु, म कुनै माइग्रेसन एजेण्ट वा शैक्षिक परामर्शदाता होइन । म त केवल संचारकर्मी हुँ जे हो त्यहि लेख्छु र भन्छु । डिसेम्बर १५ देखि अष्ट्रेलियाले दुबै खोप लगाएका अन्तरराष्ट्रिय विद्यार्थीलाई आउन दिइरहेको छ । भिषा लगाएर महिनौदेखि कुरिरहेका विद्यार्थीहरु धमाधम आउन थालिसकेका छन् भने अन्य विद्यार्थीहरु अष्ट्रेलियाको भिषा लगाउन हतारिएका छन् । यहि मेसोमा नेपालका विभिन्न शहरहरुमा अष्ट्रेलियाको शिक्षा र भिषा बारे कुम्भ मेला नै लागिरहेको छ । ती मेलामा विद्यार्थीहरुलाई आकर्षित गर्न अष्ट्रेलियाका नाम चलेका शैक्षिक परामर्शदातादेखि विश्वविद्यालय, कलेजका प्रतिनिधीहरु यतिबेला नेपाल पुगेका छन् । विद्यार्थीलाई आफ्नो मेलामा तान्न शैक्षिक परामर्शदाताहरुले विभिन्न उपहारको समेत व्यवस्था गरिरहेका छन् । ती मेलामा पुग्ने विद्यार्थीहरुले अष्ट्रेलियाको शिक्षा र भिषा नीति बारे केही न केही नयाँ कुरा सिक्न पाउनेछन् । तर, मेलामा सुनेका र भनिएका कुराको लहैलहैमा लागेर आफ्नो आवश्यकता र उदेश्य नै बिर्सिन भने हुदैन है । शैक्षिक परामर्शदाताले तपाईलाई बाटो देखाउने हो तर, लक्ष्य र उदेश्य छनोट गर्ने जिम्मा तपाईकै हो । त्यसैले अब चर्चा गरौं अष्ट्रेलिया आउनु अघि विद्यार्थी र उनीहरुका अभिभावकले बुझ्नै पर्ने केही विषयहरु ।

१. के पढ्ने के नपढ्ने ?

अष्ट्रेलियामा १० तहमा पढाई हुन्छ । अष्ट्रेलियन क्वालिफिकेसन फ्रेमवर्क एक्युएफ अनुसार सर्टिफिकेट १ देखि ४ सम्मको कोर्सहरुलाई भोकेसनल एजुकेशन ट्रेनिङ अर्थात भेट कोर्स भनिन्छ । साधरणतय ६ देखि १२ महिनाभित्र सकिने यस्ता कोर्सहरु पढेपछि विद्यार्थीले आफ्नो क्षेत्रमा सामान्य ज्ञान हासिल गरेर जागिर खोज्न सक्छन् । नेपालबाट यस्ता भेट कोर्समा पनि विद्यार्थीहरु आउने गर्छन् । त्यस्तै लेभल ५ मा डिप्लोमा र लेभल ६ मा एडभान्स डिप्लोमा कोर्सहरु पर्छन् । नेपालमा प्लस टु गरेका कम उमेरका विद्यार्थीहरुलाई परामर्शदाताले यी कोर्सहरुमा पढ्न सुझाउने गरेका छन् । त्यस्तै लेभल ७ मा ब्याचलर र त्योभन्दा माथी ८ देखि १० सम्म पोष्टग्राज्युएट कोर्सहरु पर्दछन् ।

साधारणतय नेपालबाट विद्यार्थीहरुले अध्ययनका लागि अष्ट्रेलिया आउदा आफुले पढिसकेका लेभलभन्दा एक तह माथीको तथा पहिले पढेको विषयको निकट मानिने कोर्स पढ्न आउने गरेका छन् । अब विद्यार्थीले के पढ्ने त ? कुन लेभल पढ्ने त ? यहाँ नेर तपाई सुरुदेखि नै सचेत हुनुपर्छ । सबैभन्दा पहिला तपाई अष्ट्रेलियामा किन पढ्न आउदै हुनुहुन्छ ? स्पष्ट हुनुहोस् । तपाई अष्ट्रेलियामा पढेर नेपाल गई त्यहि क्षेत्रमा केही गर्ने हो भने, आफुले पढिरहेकै विषयको माथिल्लो तह अध्ययन गर्दा राम्रो हुन्छ । अष्ट्रेलियाको सबैजसो कलेज र विश्वविद्यालयमा पढाउने शैली उस्तै भएकाले जहाँ पढेपनि खासै ठुलो फरक पर्दैन ।

तर, तपाई अष्ट्रेलियामा पढेर पिआर लिने हो भने चाहि सुरुदेखि नै विषय छनोट गर्दा ध्यान दिनुपर्छ । जसका लागि तपाईले अष्ट्रेलियाले स्किल माइग्रेसनका लागि छुट्याएका पेशाहरुको बारेमा अध्ययन गर्नुस् । त्यहाँ सयौ पेशाहरु छन् । आफुले कुन विषय पढ्दा सो पेशामा जागिर खान सकिन्छ भन्ने बुझेर विषयहरु छनोट गर्नुस् । सहि विषय छनोट गर्नका लागि आफ्नो परामर्शदातासंग गहन छलफल गर्नुस् । नेपालीहरु पढ्न आउने मुख्य विषयहरु एकाउन्टिङ, आइटि र नर्सिङ हो । नर्सिङ पढेर पिआर लिन सजिलै भएपनि एकाउन्टिङ र आइटी विषयमा भने केही जटिलताहरु थपिदैछन् । तर, पिआर दिने पेशाहरुको सुचिमा अन्य सयौ विषयहरु छन् जसमा नेपालीहरु पढ्नै आउदैनन् । त्यसैले त्यस्ता विषय सुरुमै छनोट गर्न सकियो भने पछि धेरै सजिलो हुन्छ ।

२. कहाँ पढ्ने ?

यो अर्को महत्वपुर्ण विषय हो । पढेर नेपाल फर्कने हो भने जहाँ पढेपनि ठुलो अन्तर हुदैन । तर, पढाइ सकेर केही समय सोही क्षेत्रमा काम गर्छु र पिआर लिन्छु भन्ने हो भने चाहि तपाईले सुरु देखि नै अष्ट्रेलियाको आप्रवासी नीति बारे धेरथोर जानकारी लिनुपर्छ । अहिले सरकारले ग्रँमिण भेगमा आप्रवासीहरुको संख्या बढाउने नीति लिएको छ । रिजनल क्षेत्र भनिने त्यस्ता ग्रामिण क्षेत्रका कलेज तथा विश्वविद्यँलयमा सुरु देखि नै पढ्न आइयो भने पछि पिआर लिनका लागि थप ५ नम्बर समेत पाइन्छ ।

अधिकांश विद्यार्थीहरु शहरी क्षेत्रमा मात्रै थुप्रिदा जागिर नपाईने तथा पढाई सकेपछि रिजनल क्षेत्र तिर बसाई सर्नुपर्ने अवस्था रहदै आएको छ । ग्रामिण भेगमा तत्काल जागिर पाउन केही जटिलता पक्कै हुनसक्छ । तर, भविष्यमा ग्रामिण भेगमा अध्ययन गरेर बसोबास गर्दा पिआर लिन भने निकै सजिलो समेत हुनसक्छ । त्यसैले शहरी क्षेत्रमा भन्दा रिजनल क्षेत्रमा पढ्नका लागि सुरुमै जोड दिने की ?

३ सिप सिकौं

अष्ट्रेलियाको दैनिकी महंगो छ । हप्ताहप्तामा कोठाभाडा तिरेर बस्नुपर्छ । त्यसमाथी शैक्षिक शुल्क, खाना र यातायात । विद्यार्थीले हप्ताको २० घण्टा मात्रै काम गर्न पाउछन् । यहि अष्ट्रेलियाको श्रमबजार अनुसारको सिप जानेको छैन भने काम पाउन सजिलो नहुन सक्छ । त्यसैले अष्ट्रेलिया आउने तयारी गरिरहदा यहाँको श्रमबजारमा चाहिने सिप पनि सिक्दै गर्दा राम्रो हुन्छ । गाडी चलाउन आउछ र लाइसेन्स पनि छ भने त अष्ट्रेलियामा जागिर पाउन निकै सजह हुन्छ ।

तर, नक्कली लाइसेन्स लिएर नआउनुहोला । अहिले छानविन हुन थालेको छ । समातियो भने जेल मात्रै होइन नेपाल डिर्पोर्ट समेत हुनसक्छ । कफि बनाउने वारिष्टा तालिम, रेष्टुरेन्टका काम, हाउस किपिङ, क्लिनिङ जस्ता कामको केही न केही सिप सिकेर आउदा काम पाउन राम्रो हुन्छ ।

४ अष्ट्रेलिया बारे सामान्य जानकारी 

तपाई आउनु अघि अष्ट्रेलियाको भुगोल, श्रमबजार, राजनीति, नियमकानुन, भाषा, संस्कार, जीवन शैली बारे धेरथोर अध्ययन गरेर आउनुहोला । अझ तपाई आउने लागेको ठाउ, त्यहाको परिवेश, जनसंख्याको बनोटका बारेमा सुरुमै थाहा पाएर आएमा त जीवन झनै सहज हुनसक्छ । अष्ट्रेलिया कानुनले चलेको देश हो । नेपालमा सामान्य लाग्ने गल्तीहरु प्नि यहाँ जघन्य अपराध हुनसक्छ ।

त्यसैले यहाँको कानुन र नियमका बारेमा सुरुमै केही अध्ययन गर्दा उत्तम हुन्छ । अष्ट्रेलियाको चारैतिर समुन्द्र छ । समुन्द्रमा वर्षेनी साढे २ सय मानिसले ज्यान गुमाउछन् । त्यसैले समुन्द्रमा पौडी खेल्दा हुने जोखिमका बारेमा समेत बुझेर आउदा राम्रो हुन्छ ।

५. काम, पढाई र स्वास्थ्य

तपाई अष्ट्रेलियामा डलर कमाउन आउन लागेको होइन । तपाईको पहिलो उदेश्य भनेको पढ्ने हो । पढेर ज्ञान र सिप सिक्ने अनि नेपाललाई पनि सहयोग गर्ने हो । सरकारको नीति अनुसार पढ्ने क्रममै तपाईले हप्ताको २० घण्टा समेत काम गरेर केही पैसा आम्दानी गर्न समेत सकिन्छ । तर, केही विद्यार्थीले पढ्ने कामलाई चटक्कै बिर्सेर काम काम काम मात्रै गरेर पढाई र स्वास्थ्य दुबै बिगारेका थुप्रै उदाहरण छन् ।

पढाई नसकिएसम्म तपाईले सोचे जति पैसा आम्दानी गर्न सक्नुहुन्न भन्ने कुरा नेपालबाटै बुझेर आउनुहोला । यो कुरा बुझियो भने निकै सजिलो हुन्छ ।


ट्याग : #Australia, #Education, #Nepali Student in Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ