एडिलेडकी रेनुकाले सामुदायिक भवन बनाउ ३ हजार बर्गमिटर जग्गा दान गर्दै, सुरु भयो तयारी
एडिलेड/ अष्ट्रेलियामा सरदर ३ लाख नेपाली बसोबास गर्छन् । तर, हालसम्म हाम्रो आफ्नै सामुदायिक भवन छैन । मेलवर्नमा जग्गा किनिए पनि अन्यत्र भने त्यहि जग्गा समेत जोड्न सकिएको छैन । ब्रिजवेनमा त जग्गा किन्नकै लागि संघर्ष जारी छ । जग्गाका लागि पैसा कसरी जुटाउने भन्ने अन्यौलता जताततै छ । यस्तो अवस्थामा साउथ अष्ट्रेलियाकी एक जना सामाजिक अभियन्ता रेनुका लामाले नेपालीको सामुदायिक भवन निर्माण गर्न जग्गा दान गर्ने घोषणा गर्नुभएको छ ।
हालै सम्पन्न गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा साउथ अष्ट्रेलियाको संयोजक पदमा उमेद्वारी दिने क्रममा रेनुकाले जग्गा दिने बाचा गर्नु भएको हो । यहि बाचापछि रेनुकाले संयोजक पदमा चुनाव पनि जितिसक्नु भएको छ । नेपालट्युबसंग कुरा गर्दै रेनुकाले आफ्नो परिवारको नाममा रहेको ३ हजार वर्गमिटर जग्गा दान गर्ने बताउनुभयो ।
जग्गा दान गर्ने प्रकृया सुरु
जग्गा दान दिने घोषणालाई केहीले चुनाव जित्न मात्रै गरिएको प्रोपोगाण्डा समेत भन्न भ्याएका थिए । तर, वास्तविकता त्यस्तो होइन भन्ने अहिले आएर पुष्टी भइरहेको छ । रेनुकाले जग्गा दान गर्ने प्रकृया सुरु गरिसक्नु भएको पाइएको छ । नेपालट्युबसंग कुरा गर्दै रेनुकाले एनआरएनए साउथ अष्ट्रेलियालाई जग्गा हस्तान्तरण गर्नका लागि प्रकृया अघि बढिसकेको बताउनुभयो । एडिलेडको सिबिडीबाट गाडीमा ३० मिनेट लाग्ने दक्षिणी भेगमा रेनुकाले जग्गा दिन लाग्नु भएको हो । जग्गा सामुदायिक भवनका लागि दिन लागेको तथा वरपर बस्ती समेत भएकाले स्टेट डेभलपमेन्ट कमिसनबाट पुर्व अनुमति लिनुपर्ने रेनुका बताउनुभयो । अनुमति लिनका लागि रेनुकाले टाउन प्लानर र यस विषयका अब्बल वकिललाई कागजपत्र तयार गर्न खटाइसक्नु भएको छ । जसका लागि टाउन प्लानरलाई १५ हजार डलरसम्म खर्च दिनुपर्ने तथा वकिललाई एक पटक सल्लाह लिएको २ हजार डलर खर्च लाग्ने छ । यो पनि रेनुका आफैले तिर्ने बताउनुभयो ।
जग्गा हस्तान्तरण गर्दा कुनै पनि जटिलता नहोस् भनेर टाउन प्लानर र वकिलको सहयोग लिनुपरेको रेनुकाले बताउनुभयो । केही हप्तामा सबै कागजात तयार गरेर कमिसनमा अनुमतिका लागि आवेदन हाल्ने तयारी छ । आवेदन हालेपछि कमिसनले स्विकृति दिनका लागि ६ देखि ८ महिनासम्म लगाउन सक्ने बुझिएको रनुकाले बताउनुभयो । एनआरएनएको संयोजक पदको कार्यकाल दुइ वर्षको हुन्छ । आफ्नो कार्यकालमा नै जग्गाको छिनोफानो गरेर सामुदायिक भवनको खाका समेत तयार पार्ने रेनुकाको तयारी छ ।
रेनुका सन् २००८ मा अष्ट्रेलिया आउनु भएको हो । पेशाले रजिष्टर्ड नर्स रेनुका हाल एडिलेडको एसफर्ड अस्पतालमा कार्यरत हुनुहुन्छ । सुरु देखि नै नेपाली समाजमा मर्दापर्दा एक कदम अगाडी देखिने सालिन तथा दयालु स्वभावकी रेनुका हाल गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको संयोजक हुनुहुन्छ । उहाँको एक श्रीमान् र ३ सन्तान हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया