Saturday, 27 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा नर्सिङ पढ्ने एक हजार विद्यार्थीको भविष्य अन्यौल । छानविन गर्न दुतावासको आग्रह ।

अष्ट्रेलियामा नर्सिङ पढ्ने एक हजार विद्यार्थीको भविष्य अन्यौल । छानविन गर्न दुतावासको आग्रह ।


सिड्नी
भक्तपुरका सुजन श्रेष्ठ दुइ वर्ष अघि नर्सिङमा भविष्य सुनिश्चित पार्ने सपना बोकेर अष्ट्रेलिया उत्रिए । दुइ वर्षको डिप्लोमा इन नर्सिङ सकेर सुजन विश्व विद्यालयमा ब्याचलर इन नर्सिङ पढ्ने तरखरमा थिए । तर, आफुले अध्ययन गरिरहेको व्रिजवेनको अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी ( एआइबिटी) ले डिप्लोमा इन नर्सिङ विषयको सम्बन्धन नै लिन नसकेपछि श्रेष्ठको पढाइ अन्यौलग्रस्त बनेको हो ।
अष्ट्रेलियामा नर्सिङ पढाउने कलेजहरुले अष्ट्रेलियन नर्सिङ एण्ड मिड वाइफरी एक्रिटिडेसन काउन्सिल ( एनम्याक)बाट सम्बन्धन लिनुपर्छ । सम्बन्धन नलिएका कलेजहरुले पढाएको नर्सिङ विषयको कुनै मान्यता हुदैन ।

‘दुइ वर्ष पढियो, झण्डै २० हजार डलर पनि खर्च भइसक्यो’ सुजनले गुनासो गरे – ‘अब कलेजको नर्सिङ विषय नै दर्ता नभएपछि सर्टिफिकेट पनि नपाइने भयो’ ।
एआइबिटीबाट नर्सिङ पढाइ नहुने भएपछि सुजनले अन्य विश्वविद्यालयमा व्याचलर अध्ययनका लागि आवेदन दिए । तर, उनको डिप्लोमाले नै मान्यता नपाएका कन्फरमेसन अफ इनरोल्डमेन्ट (सिओइ ) पाएनन् ।
सुजनको भिषा मार्चमा सकिदैछ । भिषा थप्न के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ उनलाई ।

सुजनकै जस्तै नियती भोगेकी छिन् सिड्नीको एआइबिटी कलेजमा डिप्लोमा इन नर्सिङ पढिरहेकी सोनी श्रेष्ठले पनि । लम्जुङकी सोनीले एक वर्ष पढेपछि मात्रै आफ्नो विषय एनम्याकमा दर्ता नभएको चाल पाइन् । त्यसपछि उनको होसहवास उडेको छ ।
कलेजले चित्तबुझ्दो जवाफ नदिएपछि उनी के गर्ने भन्ने अन्यौलमा छिन् ।

सोनी र सुजनमा प्रतिनिधी पात्रा मात्रै हुन् । एआइबिटीमा अध्ययनरत झण्डै एक हजार नेपाली विद्यार्थीको भविष्य अन्यौलयम बन्दै गएको छ अष्ट्रेलियामा ।
एआइबिटीमा पढ्ने नेपाली विद्यार्थीहरुले फेसबुकमा स्टुडेन्ट भोइस नामक गोप्य समुह बनाएर आ आफ्ना पिडा पोखिरहेका छन् ।
विद्यार्थीहरुले कलेज प्रशासनसंग पटक पटक छलफल गरेपनि कुनै नतिजा निस्किन सकेको छैन । लाखौ रुपैया खर्च गरेर अष्ट्रेलिया पढ्न आएका ती विद्यार्थीको भविष्य अब के होला ?

अन्तराष्ट्रिय विद्यार्थी काउन्सिलमा उजुरी

कलेज प्रशासनसंगको छलफलबाट कुनै समाधान ननिस्किएपछि एआइबटीका विद्यार्थीले अन्तराष्ट्रिय विद्यार्थीहरुको साझा काउन्सिल (सिसा) मा उजुरी गरेका छन् । एआइबिटी बारे विद्यार्थीहरुको थुप्रै गुनासा आएको सिसाका अध्यक्ष विजय सापकोटाले पुष्टी गर्नुभयो ।
‘हामीलाई थुप्रै विद्यार्थी साथीहरुले उजुरी गर्नुभएको छ’-सापकोटाले भने -‘त्यसमा के भएको हो हामी छानविन गरिरहेका छौ’ ।
विद्यार्थीहरुलाई परेको समस्या सामाधान गर्न सिसा गम्भिर भएको भन्दै अध्यक्ष सापकोटाले भने – ‘विद्यार्थीको पैसा फिर्ता गराउन, उचित क्षतिपुर्ति दिन र कलेजलाई कारवार्ही गर्न सिसा सक्रिय रुपमा लाग्ने छ’ ।
विद्यार्थीहरुलाई नआत्तिन पनि अध्यक्ष सापकोटाले अनुरोध गर्नुभयो ।

नेपाली दुतावासले गर्यो छानविनको माग ।

एआइबिटी कलेजमा अध्यनरत सयौ नेपाली विद्यार्थीको गुनासो सार्वजनिक भएपछि क्यानवेरास्थित नेपाली दुतावास पनि गम्भिर बनेको छ । दुतावासले शुक्रबार अष्ट्रेलियाको शिक्षा विभागमा पत्र पढाइ एआइबिटी बारे छानविन गर्न माग गरेको छ ।
‘हामीले एआइबिटी बारे छानविन गर्न शिक्षा विभागलाई पत्र लेखेका छौ – कार्यवहाक राजदूत दुरपदा सापकोटाले भनिन् – ‘यस बारे छिटै टुंगो लाग्नेछ’ ।
शिक्षा विभागले अन्य निकायसंग छलफल गरि कारवाही अगाडी बढाउने जवाफ पठाएको कार्यबहाक राजदुत सापकोटाले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई नआत्तिन पनि दुतावासले अनुरोध गरेको छ ।

के भन्छ एआइबिटी ?

आफ्ना विद्यार्थीले सामाजिक संजालदेखि विद्यार्थी काउन्सिल सम्म उजुरी र गुनासा गर्न थालेपनि अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी ( एआइबिटी)ले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर, नेपाल ट्युब अष्ट्रेलियासंग कुरा गर्दै कलेजका गुनासो सुन्ने विभागका प्रमुख शान ज्याकसनले विद्यार्थीहरुकाे गुनासा छिट्टै सामाधान गरिने दावी गर्नुभयो ।
कलेजबारे फैलिएको हल्लाको पछाडी नलाग्न आग्रह गर्दै ज्याकसनले भने – ‘हामी विद्यार्थीको गुनासा बारे गम्भिर छौ र २४ घण्टा भित्रमा प्रेस रिलिजमार्फत सबै कुरा स्पष्ट पार्नेछौ’ ।

दोषी को ?

नर्सिङको सम्बन्धन लिने परीक्षणकै क्रममा धमाधम विद्यँर्थी भर्ना गर्ने प्रचलनले यो स्थिती सृजना भएको हो । त्यसमा नेपाली शैक्षिक परामर्शदाताहरुको कामकारवाही आलोचना योग्य बनेको छ । परामर्शदाताहरुको कमिसन मोह र विद्यार्थी तथा अभिभावकलाई नेपालमा जानकारी नदिइ भइहाल्छ र पाइहाल्छ भन्ने प्रवृत्तिले यस्तो अवस्था निम्त्याएको बताउछन् विद्यार्थीहरु ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ