Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा कत्ति नेपालीलाई कोभिड लाग्यो होला ?

अष्ट्रेलियामा कत्ति नेपालीलाई कोभिड लाग्यो होला ?

यस्तो छ एनआरएनएको योजना


ब्रिजवेन/अष्ट्रेलियामा दैनिक ७० हजार भन्दा माथी कोभिड संक्रमण देखिएको छ । सबैभन्दा धेरै न्यु साउथ वेल्स, भिक्टोरिया र कुइन्सल्याण्ड राज्यमा कोभिड संक्रमितको संख्या धेरै छ । संक्रमित मध्ये नेपालीको संख्या कत्ति होला ? यो प्रश्नको उत्तर कसैलाई थाहा छैन । सरकारले पनि राष्ट्रियताको आधारमा तथ्यांक संकलन नगरेकाले कत्ति नेपालीलाई कोभिड भयो होला भनेर ठ्याक्कै कसैले पनि भन्न सक्दैन । गैर आवासिय नेपाली संघ अष्ट्रेलियासंग पनि कुनै तथ्यांक छैन । तर, नेपालट्युबले विभिन्न राज्यका एनआरएनए संयोजक, केन्द्रका नेतृत्व, समाजका विभिन्न नेतृत्व, संक्रमितहरु संगको कुराकानी र स्वनिगरानीबाट गरेको सर्वेक्षण अनुसार पछिल्लो एक महिनामा १५ हजार जति नेपालीलाई कोभिड संक्रमण भएको बुझिन्छ ।

कोभिड संक्रमित बाहेक, क्लोज कन्ट्याकमा क्वारेन्टिन बस्ने नेपालीहरुको संख्या पनि उत्तिकै छ । धेरै नेपाली सेयर हाउसमा बस्ने र एक जनालाई कोभिड देखिएमा घरमा बस्नेहरु सबै क्लोज कन्ट्याक हुने भएकाले सात दिन अनिवार्य क्वोरेन्टिनमा बस्नुपर्ने नेपालीहरुको संख्या खास संक्रमित भन्दा धेरै हुनसक्ने बुझिन्छ ।  त्यसो त, नेपाली समुदायमा कोरोनाको खोप लगाउने संख्या उच्च भएकाले पनि संक्रमण भईहाले गम्भिर बिरामी हुनेको संख्या निकै कम छ । त्यहि भएर पनि यसअघि जस्तो यसपाली संक्रमण भएपनि राहत र सहयोगका लागि एनआरएनएसंग सम्पर्क गर्ने नेपालीहरुको संख्या निकै कम छ ।  कोभिड सम्बन्धी पुस्तक समेत लेखिसक्नु भएका संचारकर्मी डाक्टर भरतराज पौडेलले जनसंख्या र संक्रमितहरुको संख्यालाई विश्लेषण गर्दा कम्तिमा १५ हजार जति नेपालीलाई कोभिड संक्रमण भएको हुनुपर्ने बताउनुभयो ।

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका महासचिव राजु अधिकारीले अष्ट्रेलियाभर रहेका आफ्नो नजिकका परिवारका सदस्यमध्ये ७० जनालाई पहिल्लो केही हप्ताभित्रमा कोभिड संक्रमण भएको बताउनुभयो । धेरै नेपालीले आफुलाई कोभिड भएको सार्वजनिक नगर्ने भएकाले पनि एकिन संख्या समुदायलाई थाहा नहुने अधिकारीले बताउनुभयो ।  त्यस्तै न्यु साउथ वेल्सका संयोजक देब गुरुङले कोभिड संक्रमण भएर सहयोग माग्न आउनेहरुको संख्या ज्यादै न्युन भएकाले पनि एकिन संख्या भन्न नसकिने बताउनुभयो । तर, आफ्नो टिममा भएको छलफलका आधारमा सिड्नीमा हरेक दोस्रो नेपालीको घरमा कसै न कसैलाई कोभिड देखिएको गुरुङको भनाई छ ।

उता भिक्टोरया राज्यका एनआरएनए संयोजक हरि खड्काका अनुसार पछिल्लो १५ दिनमा आफैले चिनेका २ सय जनालाई कोभिड संक्रमण भएको छ । संक्रमित मध्ये १ सय ५० जनालाई त भिक्टोरिया एनआरएनएले राहत समेत बाडेको खड्काको भनाई छ । कोभिड संक्रमित धेरै भएपनि नभन्ने भएकाले तथ्यांक एकिन गर्न समस्या परेको छ । यता कुइन्सल्याण्डमा पनि कोभिड संक्रमित नेपालीको संख्या आकासिएको छ । संयोजक बिनोद आचार्यका अनुसार आफ्नो सम्पर्कमा रहेका १२ घर परिवारलाई कोभिड पुष्टी भएको छ ।
तास्मानियामा बसोबास गर्ने तथा नेपाली डाक्टरहरुको संख्या एम्डाकी प्रतिनिधी पुनम पन्तले तास्मानियामा नेपालीको घर घरमै कोभिड देखिएको बताउनुभयो । एम्डासंग कोभिड संक्रमितको एकिन तथ्यांक नभएपनि कोभिडकै कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न तयार रहेको पन्तले जानकारी दिनुभयो ।

एन्टिजन किट पाउन समस्या

संक्रमित भएर वा क्लोज कन्ट्याकमा परेर आइसोलेसन र क्वारेन्टिनमा बसेका नेपालीहरुले र्यापिड एन्टिजन टेष्ट किट नपाएर समस्या भोगिरहेका छन् । अचानक माग बढ्नु र सप्लाईमा ढिलाई हुदा बजारमा किट अभाव देखिएको छ । जसबाट नेपालीहरु पनि प्रभावित भएका छन् । त्यसलाई पुर्ति गर्न स्थानिय एनआरएनए टिमहरुले केही सक्रियता समेत देखाएका छन् । तर, बजारमै किट नपाएपछि त्यसलाई कहाबाट ल्याउने भन्ने समस्याले सबैलाई पिरोलेको छ ।

संक्रमितको संख्या एकिन गर्न एक महिनाअघि टास्कफोर्स

एनआरएनए अष्ट्रेलियाले कोभिड संक्रमित नेपालीको संख्या एकिन गर्न एक महिना अघि अध्यक्ष नन्द गुरुङको संयोजनमा पोष्ट प्याण्डामिक रिकभरी कमिटी बनाएको छ । कमिटीले केही दिनभित्रै आफ्ना १५ हजार बढी सदस्यलाईमा प्रश्नवली पठाएर कोभिड संक्रमण बारे तथ्याकं संकलन गर्नुपर्ने थियो । कमिटीले प्रश्नपत्र बनाउन विज्ञहरुलाई डिसेम्बरको पहिलो हप्ता नै जिम्मेवारी दिएको थियो ।

तर, हालसम्म विज्ञहरुले प्रश्नवलीतयार नपारेकाले तथ्यांक संकलन गर्न ढिलाई भएको एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारीले नेपालट्युबलाई जानकारी दिनुभयो । आफ्नै १५ हजार सदस्यहरुसंग डाटा संकलन गर्दा पनि अष्ट्रेलियाको नेपाली समाजमा कोभिडको प्रभाव बारे एउटा चित्र आकलन गर्न सकिन्थ्यो अधिकारीले भन्नुभयो तर, हाम्रँ विज्ञहरुले अहिलेसम्म प्रश्नवली बनाउनै ढिला गरिरहनु भएको छ । प्रश्नावली बन्ने बित्तिकै हामी इमेल मार्फत हाम्रो सदस्यहरुसंग विवरण संकलन गर्नेछौ अधिकारीले भन्नुभयो । एउटा ठोस तथ्याकं भएपछि सरकारसंग पनि नेपाली समुदायका लागि कोभिड राहत प्याकेज माग्न सजिलो हुने अधिकारीको बुझाई छ ।


ट्याग : #Covid in Nepali in Australia, #NRNA Australia, #pcr, #RAT
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ